राष्ट्रपतिमा अर्जुनदृष्टि

नेपालले कार्यकारी अधिकार भएका प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति हुने व्यवस्था अंगीकार गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेपालले २ सामान्य नागरिकलाई राष्ट्रपतिको रुपमा पाइसकेको छ । आमागी फागुन २५ गते तेस्रो राष्ट्रपतिको चयन हुने तय भइसकेको छ । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति र उपराष्ट्रपति चुनावमा संघीय र प्रदेश सांसद मतदाता हुन्छन् । सातै प्रदेशमा मतदान केन्द्र बनाउने तयारी भए पनि यसपालि मतदान काठमाडौंमा नै पक्का भइसकेको छ । राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन १० गते, दाबी, विरोध, उजुरी लगायतका काम १० र ११ गते, निवेदन तथा उजुरीउपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका बनाएको छ । आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने १३ गते मिति तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ प्रकाशन गर्ने मतदान २५ गते हुनेछ । उपराष्ट्रपतिको निर्वाचन फागुन ३ गते हुने भएको । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदै छ । २९ फागुन २०७४ मा राष्ट्रपतिका लागि चुनाव भएको थियो । उक्त चुनावमा वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारी निर्वाचित भएकी थिइन् ।
भण्डारीले त्यतिबेला ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन् भने प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन् । आउँदो फागुनको अन्तिम साता देशले नयाँ राष्ट्रपति पाउनेछ । राष्ट्रपति पद आलंकारिक नै भए पनि त्यो पद आलंकारिकमात्र नभएको प्रमाणित भइसकेको छ । एकातिर राष्ट्रको प्रमुख हुने र अर्कातिर शासन सञ्चालनमा राष्ट्रपतिले भूमिका निर्वाह गर्न सक्ने भएकाले दलहरु आफू अनुकूलका पात्रलाई राष्ट्रपति बनाउने प्रयत्नमा छन् ।
अहिले राष्ट्रपतिका दर्जनभन्दा बढी अनुहार चर्चामा छन् । सरकारमा अहिलेको समीकरण बन्दा नै राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको चर्चा छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको भागमा यो पद पर्ने सम्भावना निकै कम छ । अहिलेको सत्ता गठबन्धन कायम रहँदा वा गठबन्धन भत्किँदा बन्न सक्ने समीकरण अनुसार राष्ट्रपति कसले पाउने भन्ने तय हुने देखिन्छ । सरकार गठन भइसकेकाले दलहरुको ध्यान अब राष्ट्रपति चुनावतिर मोडिने देखिन्छ ।
एमालेले राष्ट्रपति पाए आफूलाई काम गर्न असहज हुने बुझाइमा प्रधानमन्त्री पुष्पकमल दाहाल देखिन्छन् । उसो त नेपाली कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा उनी छन् । गृहमन्त्री नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको छ भने राष्ट्रपति नपाए एमाले पनि बाहिरिन सक्छ । यस्तो अवस्थामा सरकार ढल्ने वा नयाँ समीकरण बन्ने सम्भावना दुवै देखिन्छ ।
तपाईको प्रतिक्रिया