जीवनी संग्रौलाको, कथा समयको

पोखरा ।
उज्ज्वल प्रसाईँको कृति ‘एक बागी’को विषय र पात्र हुन् लेखक खगेन्द्र सङ्ग्रौला । ‘सङ्ग्रौलाले आफूलाई हेर्ने ऐना हो– एक बागी’, उनी भन्छन्, ‘मेरा असङ्गति र अन्तरोविरोधसहित कोही मलाई चिन्न चाहन्छ भने यो पुस्तक पढे हुन्छ ।’
सोमबार बागलुङमा गरिएको पुस्तकमाथिको विमर्शमा संग्रौलाले लेखक प्रसाईँले आफ्नो भण्डारफोर गरेको सुनाए । ‘जब तपाईँलाई अर्काको आँखाले हेर्छ, तपाईँले नदेखेका, लुकाउन खोजेका कुराको उसले छिद्र खोल्छ’, सङ्ग्रौलाले भने, ‘उज्ज्वलले पनि खगेन्द्र भन्ने पात्रको भण्डाफोर गरेको हो ।’
भण्डाफोर कम्युनिस्टको भाषा भए पनि आजकालकाले बिर्सेको भन्दै उनले कटाक्ष गरे । ‘पहिले कम्युनिस्टहरूले दुष्ट, पापी, अत्याचारी, देशी–विदेशी प्रतिक्रियावादीको भण्डाफोर गर्थे, अहिले उनीहरू आफैँ भण्डाफोरित भइसके’, उनी भन्छन् ।
७७ वर्षीय उनले जीवनको एक भाग अरुका लागि बाँच्ने प्रयास गरेको सुनाए । ‘जिन्दगी २ किसिमले बाँचिन्छ, आफ्ना लागि र अरुका लागि’, उनी भन्छन्, ‘मैले जीवनको एक खण्ड समाजलाई अर्पण गरेँ, उत्पीडिनमा परेकाहरूको न्याय र अधिकारका पक्षमा बोल्ने प्रयास गरेँ ।’
आफ्नै जीवनवृत्त समेटिएको पुस्तक ‘एक बागी’ पढेपछि जीवन दुर्गुण, असङ्गति र अन्तरविरोधले भरिपूर्ण रहेको पाएको उनी उल्लेख गर्छन् । सङ्ग्रौलाले आफ्नो निन्दा र प्रशंसामा नभई वस्तुनिष्ठ र गम्भीर अनुसन्धान गरेर पुस्तक लेखिएको जनाए । थोरै छापिएका, कमैले पढेका, कतिले बिर्सिसकेका आफ्ना पुराना कृतिलाई पनि लेखक प्रसाईँले स्मरण गराएको उनी बताउँछन् ।
सङ्ग्रौलाका पुराना रचनाको सन्दर्भ, विषयवस्तु र समयबोधलाई लेखक प्रसाईँले पुस्तकमा सन्दर्भित गरेका छन् । लेखक प्रसाईँले ‘एक बागी’ खगेन्द्र संग्रौलालाई विषय बनाएर लेखिएको जीवनीपरक पुस्तक रहेको जनाए । ‘पुस्तकमा सात दशकको नेपाली समाजको एकसरो कथा भन्न खोजिएको छ,’ उनी थप्छन्, ‘यसले राणाकाल, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मको नेपाली समाज र राजनीतिबारे बुझ्न सघाउँछ ।’
लेखक प्रसाईँले पाँच–छ वर्षको खोज र अध्ययनपछि ‘एक बागी’ लेखेको सुनाए । ‘यो खगेन्द्र सङ्ग्रौलाको जीवनी हो, उहाँ कुनै ठूलो र असाधारण मान्छे भएर जीवनी लेखेको होइन, उहाँ आममान्छे हो, साधारण लेखक हो’, उनले भने, ‘खगेन्द्र सङ्ग्रौलाले बाँचेको जीवन र समयका कथाहरू पुस्तकमा छन् ।’
विर्मशमा लेखकद्वयले पाठकसँग संवाद पनि गरे । पुस्तकको रचनागर्भदेखि लेखक खगेन्द्र सङ्ग्रौलाको साधना र सङ्घर्षबारे पाठकले जिज्ञासा राखेका थिए । सङ्ग्रौलाले सामाजिक न्याय र समानताका लागि आफू सधैँ ‘बागी’ विचार र चिन्तन लिएर हिँडिरहेको बताए । नयाँ विश्व अनलाइनद्वारा आयोजित सो कार्यक्रममा पुस्तक हस्ताक्षरलाई समेत जोडिएको थियो ।
पाठकले लेखकको हस्ताक्षरसहित पुस्तक लिएका थिए । नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले लेखक–पाठकबीच अन्तरसंवादसमेत भएको बताए । ‘एक बागी’ बेला पब्लिकेशनबाट केही महिनाअघि प्रकाशित भएको हो ।
तपाईको प्रतिक्रिया