विनियोजन ऐन संशोधन प्रस्ताव दफावार छलफलमा

समाधान संवाददाता २०७९ माघ २५ गते ११:३१

पोखरा ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट रकमान्तरका लागि पेस विनियोजन ऐन संशोधन प्रस्तावमाथि दफावार छलफल हुने भएको छ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा संशोधन प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको थियो ।

Advertisement

सैद्धान्तिक छलफलपछि उक्त संशोधन प्रस्ताव दफावार छलफलमा पठाउने निर्णय सभाले गरेको हो । उक्त संशोधन प्रस्ताव माघ २० गते बसेको बैठकमा आर्थिक मामिला मन्त्री सीता सुन्दासले पेस गरेकी थिइन् । सरकारले उक्त ७ वटा बुँदा संशोधन गर्ने गरी संसोधन प्रस्ताव प्रदेश सभामा पेस गरेको छ ।

प्रदेश सभाको मंगलबारको बैठकमा शून्य समयमा बोलेका सांसदहरुले आआफ्ना निर्वाचन क्षेत्रका महत्वपूर्ण मुद्दाहरु उठाएका थिए । सांसद दीपेन्द्रबहादुर थापाले मध्यपहाडी लोकमार्गअन्तर्गत अक्षेते घोडाघोडी खण्डमा ढिलाइ भइरहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

जहाज दुर्घटनाले पोखराको पर्यटनमा असर पारेको भन्दै पर्यटक आगमनलाई बढाउन अन्तरप्रदेश पर्यटन प्रवद्र्धनात्मक कामलाई अघि बढाउनु आवश्यक देखिएको सांसद देवका पहारी त्रिपाठीले बताइन् ।

सांसद नन्दकला दमै नेपालीले पोखरा महानगरपालिका–२६ पैतेडाँडाको सुकुम्वासी बस्तीमा बर्सेनि बाढीले असर गरिरहेकाले त्यहाँको बस्ती सुरक्षाका लागि प्रदेश सभामार्फत सरकारसँग माग गरिन् ।

Advertisement

बढ्दो आर्थिक मन्दीको समस्यामा गरिबीको रेखामुनि रहेको वर्गलाई उद्यमशीलताका कार्यक्रम ल्याउनुपर्नेमा सांसद निर्मला थापाले जोड दिइन् । सांसद पद्मा जिसी श्रेष्ठले नवलपुरको नारायणी तट क्षेत्रमा माझी, बोटे मुसहरको मुख्य पेसा माछा मार्ने रहे पनि राष्ट्रिय निकुञ्जका कारण माछा मार्न रोक लगाउँदा उनीहरू समस्यामा परेको बताइन् ।

सांसद विकल शेरचनले मुस्ताङमा आगलागीजन्य घटनामा दमकलसमेत नभएको र जोखिमपूर्ण विद्युतका पुराना वायरिङ हटाएर नयाँ वायरिङ गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिन प्रदेश सरकारलाई आग्रह गरे ।

सांसद भोजराज अर्यालले गण्डकी प्रदेशका ३६ निर्वाचन क्षेत्रमध्ये स्वास्थ्योपचार सेवा नभएका क्षेत्रमा न्यूनतम ५० शड्ढयासम्मका विशेषज्ञसहितको अस्पतालबाट सेवा दिने गरी कार्ययोजना ल्याउन अनुरोध गरे ।

सांसद महेश भट्टराईले गल्याङ नगरपालिका–३ का ललेङ गाउँका ६० घर तल काली नदी र माथि नहरको बीचमा रहँदा बाढी पहिराको जोखिममा रहेको सुनाए । सांसद मित्रलाल बस्यालले पर्वतको फलेवास–लुंखुु–पैयूँ सडकको बीचमा पहिराले बाटो बिगारेको भए पनि निर्माण व्यवसायीले त्यसलाई अलपत्र छाड्दा समस्या परेको बताए ।

सांसद यशोदा रिमालले लम्जुङ जिल्ला अस्पताल २०७९ कात्तिक ३ गतेदेखि प्रदेश सरकार मातहत सञ्चालनमा आएकामा हाल एक्स–रे मेसिन, अक्सिजन प्लान्ट आदि बिग्रनुका साथै उपचारसेवा पनि गुणस्तरीय नभएको बताइन् । सांसद लक्ष्मणबहादुर पाण्डेले नवलपुर २ मा नारायणी नदीसँगै अरुण खोला र विनय खोलाले बर्सेनि जमिन कटान गरिरहेको भन्दै नियन्त्रणका लागि पहल गर्नुपर्ने सुनाइन् ।

सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशमा एकीकृत नमुना बस्ती विकासका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताइन् । मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवा प्रभावकारी बनाउन गण्डकी प्रदेशभित्र सञ्चालित अस्पताललाई विशिष्टीकृत बनाउनुपर्ने सांसद सरस्वती गुरुङले बताइन् ।

तपाईको प्रतिक्रिया