चापाकोटमा महोत्सव सुरु

पोखरा ।
चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले महोत्सव सुरुआत गरे ।
फेवाताल जोगाउन पोखरा २३ का वडाबासीको महत्वपूर्ण भूमिका रहेको उनले बताए । मुख्यमन्त्रीले अब पोखरा २३ का जनताले पनि फेवातालबाट आम्दानी लिने योजना ल्याउनुपर्ने बताए । एमाले नेता राजीव पहारीले पोखरा २३ को विकासका लागि आफूले पहल गरेको बताए ।
पूर्व सांसद पहारीले पहिला वडाको कुनै क्षेत्रमा पक्की सडक नभएको र पुलका कारणले वडाबासीले दुःख पाएको स्मरण गरे । यस्ता मेला,। महोत्सवले विकासमा सहयोग गर्ने पहारीको भनाइ छ ।
वडाध्यक्ष रामकाजी गुरुङले मेला, महोत्सवले वडाको विकासमा सहयोग हुने धारणा राखे । समाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चतनाथ देवकोटा, चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भीम पराजुली लगायतले कार्यक्रममा बोलेका थिए ।
माघ २८ गतेसम्म चल्ने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भीम पराजुली बताउँछन् । महोत्सवमा विभिन्न प्रतियोगितासमेत राखिएको छ । नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाई ३३ हजार ३ सय ३३, द्वितीयलाई २२ हजार २ सय २२, तृतीयलाई ११ हजार १ सय ११ सान्त्वनालाई ५ हजार ५ सय ५५ प्रदान गरिनेछ ।
भजन प्रतियोगितातर्फ प्रथमलाई ३३ हजार ३ सय ३३, द्वितीय २२ हजार २ सय २२, तृतीय ११ हजार १ सय ११ सान्त्वनालाई ५ हजार ५ सय ५५ दिइनेछ । रत्यौली प्रतियोगिताका विजेताले पनि भजन प्रतियोगिताका विजेतासरह नै पुरस्कार पाउने छन् ।
पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीय हुनेलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगितामा पनि सुरु दौडसरह नै पुरस्कारको व्यवस्था छ ।
बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय, द्वितीय हुनेलाई २ हजार, तृतीयलाई १ हजार ५ सय र सान्त्वना हुनेलाई १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । दुनाटपरी बुन्ने प्रतियोगितामा प्रथमलाई २ हजार, दोस्रो हुनेलाई १ हजार ५ सय, तेस्रो हुनेलाई १ हजार र सान्त्वनालाई ५ सय दिइनेछ । घैंटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारसहित सम्मान गरिनेछ ।
तपाईको प्रतिक्रिया