पोखराले कोसेली दिन हस्तकलाका सामग्री बनाउनु पर्छ: निर्देशक आचार्य

पोखरा ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले सुन्दर पर्यटकीय सहर पोखराले पाहुनालाई कोसेली दिनका लागि हस्तकलाबाट उत्पादित सामग्री बनाउनु आवश्यक रहेको जनाएका छन् ।
प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा सीप विकास तालिम प्रदर्शनीका ४० प्रशिक्षार्थीलाई महिला सीप विकास संस्थामा आयोजित प्रमाणपत्र वितरण समारोहमा आचार्यले गण्डकी प्रदेशमा कस्तो प्रकारको सीप सिकाउँदा पूर्ण रूपमा उद्यमी भई आत्मनिर्भर र आर्थिक उपार्जनमा टेवा पुग्छ भन्ने विषयमा परिषद् चनाखो रहेको जनाए । उनले महिला उद्यमीका हातबाट बनाइएका सामग्रीको बजारीकरण तथा विक्री प्रवद्र्धनका लागि सहकार्य गर्ने प्रतिबद्ध गरे ।
आचार्यले थपे, ‘महिला दिदीबहिनीले तालिमपछि उद्यमी बनेर जीवनस्तरमा परिवर्तन आएको देख्न चाहेको छु ।’ सीप परीक्षणको प्रमाणपत्रका साथै प्रशिक्षकलाई पहिचान गरी प्रमाणपत्र दिने कार्यमा परिषद्ले काम गर्दै आएको उनले बताउ ।
कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काले सीप सिकाउँदैमा मात्रै महिलाको जीवनस्तर नउठ्ने र सिकेको सीपलाई निरन्तरता दिनुपर्ने जनाइन् । स्थानीय कच्चा पदार्थ सदुपयोग गरी थोरै मकैको खोस्टाबाट पनि आयआर्जन गरी परिवार पाल्न सकिने उनले बताइन् ।
गुडिया, कुसन र मकैको खोस्टाबाट सामग्री बनाउने तालिम १२ दिनको ७२ घण्टा छोटो अवधि भएकाले सीपमा निखारता ल्याउन र उद्यमशील बनाउन यसलाई तीन महिने बनाउनुपर्ने, तालिमपछि प्रमाणपत्रको सदुपयोग गर्दै सिर्जनशील बन्नुपर्ने, महिला उद्यमीले तयार गरेका वस्तुको बजारीकरण र प्रवद्र्धन गर्न आवश्यक रहेको वक्ताहरूले बताए ।
कार्यक्रममा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयकी प्राचार्य मोतीमाया सुवेदी, पोखरा उद्योग वाणिज्य संघकी वित्त तथा लेखा प्रमुख सरिता ताम्राकार, कास्की पोखरा हस्तकला संघकी संस्थापक उपाध्यक्ष हिरा भट्टराई, उपाध्यक्ष सीता गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी मुख्य प्रशिक्षक सविता श्रेष्ठ, प्रशिक्षक हिमकुमारी पुन, प्रशिक्षार्थी सीतादेवी पौडेलले बोलेका थिए ।
पोखरा उद्योग वाणिज्य संघद्वारा गत मंसिर १६ गतेदेखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोतित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ सन्दर्भमा प्रत्यक्ष अवलोकनमा आधारित गुडिया कुसन तथा मकैको खोस्टाबाट बनाइने हस्तकलाका सामग्रीको तालिम भएको थियो ।
मेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय, अन्नपूर्ण बहुप्राविधिक शिक्षालय ढिकुरपोखरीसँग कास्की पोखरा हस्तकला संघले सहकार्य गरेको थियो । कार्यक्रम कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया