पूर्वाधार बने, विद्यार्थी घटे

हरि बास्तोला २०७९ माघ २५ गते १२:४१

पोखरा ।
कुनै बेला आँपको चौतारामा पठनपाठन हुने गरेको पोखरा महानगरपालिका १७ महतगौडामा अहिले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षासँगै वनविज्ञान समेतको अध्यापन हुन्छ । शिक्षाको अपरिहार्यता महसुस गर्दै यहाँका बासिन्दाले ६ दशकअघिसम्म यहाँका आँपका चौतारा हुँदै खरले छाएको छाप्रोमा पढ्ने गरेकामा अहिले भने भौतिक रूपमा सुविधासम्पन्न जानकी माध्यमिक विद्यालयमा पठनपाठन भइरहेको छ ।

Advertisement

चौतारामा पढाइ भइरहँदा घाम तथा पानीको समस्या परेपछि घरघरबाट चारमुठा खर र एउटा बाँस संकलन गरी छाप्रो बनाएर पढाउन थालिएको ८८ वर्षीय चूडामणि भण्डारी सम्झन्छन् । आफ्नो समयमा गाउँमा पठनपाठन सुरु नहुँदा दोपहरे मामाको घरमा बसी कृष्तीनाच्ने चौरमा बाह्रखरी पढेको अनुभव सुनाउँदै उनी त्यसै प्रेरणाबाट गाउँमा विद्यालय खोल्नका लागि सक्रियता बढाइएको सुनाउँछन ।

चौताराबाट कक्षा सुरु भएको जानकी स्कुल अहिले पूर्वाधार सम्पन्न छ तर विद्यार्थीको संख्या भने घट्दो छ


विसं २०२३ तिर गाउँमा नै पढाउनुपर्ने आवश्यकता महसुस गरी आँपको चौतारामा पढाउन थालिएको र पछि व्यवस्थित गराउँदै लैजाने क्रममा खर तथा बाँस प्रयोग गरी छाप्रो बनाइएको भण्डारीले बताए । विद्यालयले संस्थागतरूपमा भने झन्डै डेढ दशकपछि २०३५ सालमा सरकारी मान्यता प्राप्त गरेको हो ।

विद्यालय रहेको जग्गामा पनि लामो समयसम्म विवाद भएको स्मरण गर्दै उहाँ त्यसबारे आफू लगायतले ११ वर्षसम्म तारिख बोक्नुपरेको उल्लेख गरे । ‘यहाँको विद्यालय स्थापना गर्न महतगौंडावासीको धेरै श्रम र पसिना खर्चिएको छ’, भण्डारी भन्छन्, ‘दुःख गरेर बनाइएको विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थी सङ्ख्या घट्नु चिन्ताको विषय बनेको छ ।’

Advertisement

स्थानीयवासीले निजी विद्यालयमा आफ्ना बालबच्चा पठाउन थालेका कारण पनि सामुदायिक विद्यालयमा केवल विपन्न, मजदुरका बालबालिका मात्रै पढाउने प्रचलन बढ्नाले राज्यको शिक्षाप्रतिको लगानी पनि अवमूल्यन भएको उनको भनाइ छ । महतगौडाकै ९४ वर्षीय चन्द्रकान्त भण्डारी आफूहरूले पढ्न नपाए पनि सन्ततिका लागि शिक्षाको उज्यालो घाम लागोस् भन्ने उद्देश्यले विद्यालय खोलेको बताउँछन् ।

‘तत्कालीन समयमा धनञ्जय भण्डारी तत्कालीन गाउँ मुखिया, देवदत्त भण्डारी, दानबहादुर मगर, धनराज सुवेदी, प्रेमलाल भण्डारी, नरहरि भण्डारी, जीतबहादुर भण्डारी, धर्मदत्त भण्डारी लगायतको विद्यालय खोल्नमा ठूलो योगदान थियो’, उनी भन्छन्, ‘समाजलाई सचेत बनाउनका लागि गरिएको प्रयासले यस क्षेत्रको शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।’ तत्कालीन समयमा कसैको गाईवस्तुले खेतबाली खाइदिएमा तिर्नुपर्ने अर्मलसमेत सम्बन्धित व्यक्तिले नलिई स्कुल सञ्चालनका लागि जम्मा गर्ने गरेको उनको भनाइ छ ।

वन विज्ञान पढाइ
पछिल्लो समय सामुदायिक विद्यालयले प्राविधिक शिक्षामा जोड दिइरहेको वर्तमान अवस्थामा यस विद्यालयमा तीनवर्षे वन विज्ञानको पढाइ सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा पहिलो वन विज्ञान पढाइ सुरु गरिएको यस सामुदायिक विद्यालयमा पहिलो वर्षमा १६ विद्यार्थी र ८ शिक्षक छन् ।

३ वर्षको कोर्षका लागि १ लाख २५ हजार शुल्क लिने गरिएको वन विज्ञान कार्यक्रम संयोजक शंकरराज भण्डारीले बताए । विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको पढाइलाई प्रभावकारी एवम् गुणस्तरीय बनाउन पोखरा महानगरपालिकाले प्रयोगशाला स्थापनार्थ १५ लाख बजेट विनियोजन गरेको छ । विद्यालयमा हाल ३ सय ५७ विद्यार्थी छन् ।

कापीकलम लिने विद्यार्थीका कलिला हातले चक्कुको सहयोगले बाँसका सामग्री निर्माण गरी बिक्री वितरणसमेत गर्दै आएका छन् । पढाइसँगसँगै सीप विकासमा जोड दिँदै आयआर्जन गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको हो । विद्यालयमा बेलाबखतमा हुने औपचारिक कार्यक्रममा समेत विद्यार्थीद्वारा निर्माण गरिएका बाँसका सामग्री अतिथिहरूलाई मायाको चिनो प्रदान गरिँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक कमल आचार्य बताउँछन् ।

विद्यार्थीको पढाइलाई पहिलो प्राथमिकता दिँदै फुर्सदिलो समयमा उत्पादित सामग्री पोखरा र आसपासमा हुने विभिन्न मेला महोत्सवमा स्टल राखेर बिक्री वितरण गर्दै आएको छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित पर्वतीय महोत्सवमा १६ हजार मूल्य बराबरको सामग्री बिक्री गरिएको छ ।

जानकी माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस पुरस्कार वितरण कार्यक्रम मंगलबार भएको छ । कार्यक्रममा प्रदेश सांसद भीमबहादुर कार्कीले प्राविधिक शिक्षा र अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरी विद्यालयलाई नमुना बनाउन आग्रह गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक अर्जुन कँडेलले विद्यालयका गतिविधिबारे प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया