पोखरालाई स्वच्छ र सफा राख्न पहल गरेका छौं: प्रमुख आचार्य

समाधान संवाददाता २०७९ माघ २५ गते १७:०४

पोखरा ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सुन्दर र स्वच्छ पोखराको विशेषतालाई जोगाउन महानगरले नीतिगत पहल थालेको बताएका छन् । स्वच्छ उर्जा नेपालले पोखरामा आयोजना गरेको “सबैका लागि सुरक्षित र सफा हावा अभियान र पोखराको साझा अवस्था” सम्बन्धी कार्यशालामा आचार्यले पछिल्लो समय पोखराको वायु प्रदुषण निकै बढेको प्रति गम्भिर रहेको जनाउँदै स्वच्छ वातावरणका लागि नीतिगत रुपमै कार्यक्रमहरु तय गरेको जानकारी दिएका हुँन् ।

Advertisement

“हामीले पोखरालाई हरियालीयुक्त सुन्दर र समृद्ध बनाउने नीतिगत रुपमा विभिन्न कार्यक्रम समेटेको कार्यान्वयनका लागि अगाडी बढाएका छौ, ” उनले भने “४ ठाउँमा अटो पार्क बनाएर सेन्ट्रलाइज्ड गर्ने । वर्कशपहरुलाई बस्ती भन्दा ५ सय मिटर टाढा राख्ने तयारी, औद्योगिक क्षेत्रका लागि १६ सय रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याएर वडा नं ३३ मा औद्यागिक क्षेत्र स्थापना गर्ने तयारी छ । ”

महानगरले धेरै पहिले नै ४० माइक्रोन भन्दा तलका प्लाष्टिक प्रयोग नगर्ने भन्ने निर्णय धेरै पहिल्यै भएपनि कार्यान्वयन समस्या देखिएको जनाउँदै अब त्यस तर्फ पनि चासो दिएको बताए । २० वर्ष भन्दा पुराना सवारी साधानको व्यवस्थापन साथै इलेक्ट्रोनिक सवारी साधनका लागि यातायात व्यवसायीहरुसँग छलफल भइरहेको उनको भनाइ थियो ।

सहरी विकाश तथा भवन निर्माण विभाग अन्तर्गत सहरी विकास र वातावरण सन्तुलन कायम गरी नागरिकको जीवनयापनमा सुधार ल्याउने कार्यक्रमहरु रहेको र कोइकाको ‘रिसाइकिल्ड’ र ‘अफसाइकिल्ड’ करिब ७ अर्बको वातावरण मैत्री प्राजेक्ट संचालन हुन लागेको र करिब ४ हजारलाई रोजगार दिने पनि उनले जानकारी दिए ।

कार्यक्रममा स्वच्छ उर्जा नेपालका प्राविधिक सल्लाहकार डा. भुपेन्द्र दासले वायु प्रदुषणका कारण सिर्जित असर र त्यसले मानवीय जीवनमा पारेको असर बारेमा प्रस्तुतीकरण राखेका थिए । स्वच्छ ऊर्जा नेपालका कार्यक्रम संयोजक वर्षा पराजुलीले दिनप्रति बढ्दो वायु प्रदुषणले मान्छेको मृत्युदर बढ्दै गएको बताइन् ।

Advertisement

पछिल्लो अध्ययनले वायु प्रदुषणले मष्तिष्कघात, फोक्सोमा क्यान्सर, चिनीरोग, हृदयघात समस्या बढ्दै गएको देखाएको बताइन् । उनका अनुसार वायु प्रदुषणका कारण वाार्षिक विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको र जम्मा १ प्रतिशतले मात्र स्वच्छ हावा लिन पाएको पराजुलीले जानकारी दिइन् ।

नेपालको संविधानको धारा ३० मा हरेक नागरिकले सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था उल्लेख छ । राष्ट्रिय वातावरण नीति, २०७६ ले प्रदुषण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी वायु गुणस्तर अनुगमन प्रणालीको विकास , मापदण्ड तर्जुमा तथा कार्यान्वयन, विद्युतीय सवारीसाधनको प्रयोग लगायतमा जोड दिए पनि कार्यान्वयन हुन नसक्दा वायु प्रदुषण जोखिम बढ्दै गएको कार्यशालामा सहभागीहरुले बताएका थिए । सहभागिहरुले स्थानीय तहमा देखिएका समस्या र न्युनीकरणमा लागि आवश्यक सुझावहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपलिज युथ क्लाइमेट एक्सन पोखरकी क्याम्पेन कोअर्डिनेटर सुजिता अधिकारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया