सम जयन्तीमा सम्मान

समाधान संवाददाता २०७९ माघ २६ गते ११:२४

पोखरा ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १ सय २१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित सम जयन्ती मनाएको हो ।

Advertisement

कार्यक्रममा साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई १० हजार १ सय सहितको ईन्द्र–हुमा स्मृति वाङ्मय सम्मान अर्पण गरिएको हो । भण्डारीलाई कोषका संस्थापक सीता जिसी, वरिष्ठ साहित्यकार सरुभक्त, हरिदेवी कोइराला र सूर्य खड्का बिखर्चीले संयुक्त सम्मान गरे ।

सरुभक्तले सर्जकको सिर्जनशीलता संख्यामा नभएर गुणात्मकताले स्तर निर्धारण गर्ने बताए । सरुभक्तले नेपाली साहित्यका विराट प्रतिभा बालकृष्ण समको योगदानको जुन रुपमा चर्चा हुनुपर्ने थियो, त्यो नभइरहेको धारणा राख्दै जरोटुप्पोले विगतका केही वर्षदेखि सम जयन्ती मनाउन शुरु गरेकोमा यसलाई निरन्तरता दिनसमेत आग्रह गरे ।

हरिदेवी कोइरालाले जरोटुप्पोले नेपाली माटो र मौलिकतालाई बोकेर अगाडि बढिरहेको देख्दा आफूलाई निकै खुसी लागेको बताइन् । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीले आफूले स्रष्टा साधकको उचित सम्मान र संरक्षणका लागि राज्यसँग सक्दो पहल गरिरहेको बताए ।

सम्मानित स्रष्टा केसीले आफूलाई सम्मानले थप उत्साह र जिम्मेवारी थपिदिएको बताउँदै संस्थाप्रति आभार व्यक्त गरे । कोषका संस्थापक सविन जिसीले आफ्ना हजुरबुबाआमाका नाममा यसरी सामाजिक कार्य गर्न पाउँदा उनले हिजो समाजमा पुर्‍याएको योगदानको स्मरण हुने बताए ।

Advertisement

प्रतिभा छनोट समिति संयोजक प्राज्ञ कृष्णप्रसाद पौडेलले प्रतिभा छनोट प्रक्रिया र स्रष्टाको परिचय राखेका थिए । पौडेलले ‘ग्रामीण विकासमा सामुदायिक वनको भूमिका लैगिंक दृष्टिकोणबाट विश्लेषण’ विषयमा विद्यावारिधि गरेकी भण्डारीलाई समाज, साहित्य र राज्यसेवाका हरेक क्षेत्रमा स्थापित बहुआयामिक व्यक्तित्वका रुपमा चिनाए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबा, सामाजिक रुपान्तरणका अभियान्ता भीम रानाभाट, संस्थाका मानार्थ संरक्षक विश्वमोहन गौचनले समको व्यक्तित्व र संस्थाका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा गीताञ्जली साहित्यकार रामनाथ अधिकारी संगी, साहित्यकार रुद्रबहादुर थापा, शोभाकान्त गौडेल, वसन्त चालिसे, लक्ष्मण थापा, शिव त्रिपाठी, तारानाथ पराजुली, छन्दिका त्रिपाठी, अम्बिका भण्डारी, अम्बिकाप्रसाद भट्टराई, प्राडा यमबहादुर पौडेल क्षत्री, असफल गौतम लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले सीताकुमारी जिसी र नाति/बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना जिसीको परिवारबाट स्थापना गरिएको १ लाख ६१ हजार एक सय ११ राशिको अक्षयकोषको व्याज रकमबाट संस्थाले उक्त सम्मान अर्पण गरेको बताए ।

तपाईको प्रतिक्रिया