सोंथर बेंसीमा मेलाको तयारी
पोखरा ।
सोंथर बेँसी टारी बजार मेला २०७९ को तयारी तीव्र पारिएको छ । ‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो । मेला फागुन १ देखि ३ गतेसम्म चल्नेछ ।
मेला करिब ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला गर्नका लागि ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । मेलामा विशेष गरी सोंथर बेँसी लगायत त्यस आसपास क्षेत्रमा उत्पादित कृषि वस्तु तथा पशुचौपायाहरुको प्रदर्शनी एवं बिक्री गरिनेछ ।
खेलकुदतर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुला छेलो/ठेलो प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, सांस्कृतिकतर्फ खुला सामूहिक नृत्य प्रतियोगिता, खुला दोहोरी प्रतियोगिता, खुला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरुको ठेटार नाच एवं चर्चित कलाकारको समेत प्रस्तुति रहने छन् ।
भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः नगद ४० हजार र ३० हजार नगदसहित मेडल र ट्रफी प्रदान गरिनेछ । मादी गाउँपालिका भित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीबीच सोंथर बेँसी विषयक वक्तृत्वकला प्रतियोगिता पनि गरिनेछ ।
मेलाको मुख्य प्रायोजन मादी गाउँपालिका कार्यालयले गर्ने भएको छ । ३५ वर्षअघि निकै प्रख्यात रहेको सोंथर बेँसी मेलालाई थप परिस्कृत गर्दै गर्न लागिएको छ । ‘३५ वर्ष पछि पुनः मेला हुन लाग्दा स्थानीयमा छुट्टै खुसी र उत्साह छ,’ सोंथर बेँसी विकास समितिका अध्यक्ष ओमप्रकाश गुरुङले भने, ‘मेलालाई सभ्य, भव्य र सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरेका छौं ।’
मादी गाउँपालिकाको वडा नं ८ मा पर्ने नागिधार र पाखुरीकोट गाउँ, वडा नं १० मा पर्ने भाचोक गाउँको संगम स्थल हो सोेँथर बेँसी । सोंथर बेँसीमा हाल फार्महाउस एवं केही होमस्टे समेत सञ्चालनमा छन् । फार्महाउसमा बसेर नजिकै वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिनेछ । नजिकै टारी खेतमा गोठसमेत रहेकाले गोठमा खीर खाने जस्ता अनुभव लिन मिल्छ ।
पोखरा २६ विजयपुरबाट कालिका, सौर्य, भगवतीटार हुँदै थुम्सीकोटसम्म २० किमी यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । यसैगरी, पोखरा १३, भद्रकालीबाट काहुँखोला, कसेरी, चितेपानी, भैँसे, तारकाङ बेँसी, भगवतीटार हुँदै थुम्सीकोटसम्म १८ किमी यात्रा गरी पनि सोथर पुग्न सकिन्छ । ।
पोखरा ३१ वेगनासबाट स्याङ्खुदी, सौर्यबजार, भगवतीटार हुँदै पनि थुम्सीकोट पुगिन्छ । लमजुङको करापुटारबाट कल्याङबेँसी हुँदै मुग्रीबेँसीबाट समेत थुम्सीकोट पुग्न सकिन्छ । थुम्सीकोटबाट मकैखोला, कयरे, ढोडेनी, लुम्दी हुँदै १० कि.मि.को दुरीमा सवारी साधनबाट सोंथर बेँसी सजिलै पुगिन्छ । थुम्सीकोटबाट पैदलयात्रा गर्ने हो भने वार्दीखोलाको तिरैतिर हिँडेर १ घण्टाको पैदल यात्रापछि सोंथरबेँसी पुगिन्छ ।
तपाईको प्रतिक्रिया