दमकल बिनाका सरकार

सरकार बनून्, सरकारले गर्नुपर्ने काम नहून् । यस्तो हुनु हुँदैन । तर विडम्बना हामीकहाँ त्यही भएको छ । संघीयतापछि ३ तहका सरकार बनेका छन् । योजना डुब्लिकेसनले अनेक समस्या आएका छन् । तर केही आधारभूत पक्षमा यी सरकारको ध्यानै पुग्न सकेको देखिँदैन । यसको परिणाम केही दिनअघि मुस्ताङमा देखियो ।
सडक छेउमै रहेको घरमा आगलागी भयो, सिडिओसहितका जिम्मेवारी अधिकारी र स्थानीय त्यहाँ पुगे, तर आगो निभाउन सकेनन् । घर खरानी भयो । किनभने त्यहाँ दमकल थिएन । मुस्ताङ जिल्लाभरीमै एउटा पनि दमकल छैन । विपत्त बाजा बजाएर आउने कुरा होइन, यसको पूर्वतयारी जरुरी छ । तर हामीकहाँ भने सामान्य पूर्वतयारी पनि भएको देखिँदैन ।
अहिले हावाहुरी चल्न सुरु भइसकेको छ । यसै पनि जोडले हावाहुरी चल्ने ठाउँ हो मुस्ताङ । यो मौसममा आगजनीका घटना सबैभन्दा बढी हुन्छन् । सहरी क्षेत्रमा सडक साँघुरा छन् । गाउँका धेरै घरसम्म बाटोको पहुँच नै छैन । यो हावाहुरीको मौसममा आगलागीले धेरै धन र यदाकता जनको पनि नोक्सानी गर्ने गरेको छ ।
राणा प्रधानमन्त्री जुद्धशमशेर जबराका पालामा नेपालमा पहिलो पटक बारुणयन्त्र भित्र्याइएको थियो । सुरुमा काठमाडौँमा स्थापना भएको जुद्ध बारुणयन्त्रपछि ललितपुर र भक्तपुरमा पनि पुग्यो । अहिले पनि दमकलका पार्टपुर्जा नेपाली बजारमा नपाइने हुँदा बिग्रिएका दमकललाई मर्मत गर्न विदेशबाटै पार्टपुर्जा झिकाउनुपर्ने अवस्था छ । दमकल नयाँ भए पनि पार्टपुर्जा उपलब्ध हुन नसक्दा मर्मत हुन नपाएर थन्किएका छन् । अनुदानमा आएका कतिपय दमकलमा पनि प्रयोगमा आउनै सकेका छैनन् ।
फायर फाइटरहरुको पीडा पनि उस्तै छ । उनीहरुको पोशाक किन्न महंगो पर्ने भएकाले पुरानाले नै काम चलाइएको छ । आगोसँग जुध्नुपर्ने पेसाकर्मीलाई पुराना पोसाकबाट काम चलाउनु उचित होइन । यसरी विपदमा काम गर्ने जनशक्तिमा उत्साह, हौसला भर्नु जरुरी छ । मुस्ताङमा दमकल भएको भए आगलागीले ठूलो क्षति गर्ने थिएन ।
आगलागी कम गर्न सकिएला, निमिट्यान्न पार्न असम्भव छ । यसको अर्थ यो विपद् सामना गर्नैपर्छ । अहिले सहर बजारमा धेरैजसो विद्युट सर्ट भएर आगलागी हुने गरेको छ । सडकमा यत्रतत्र लापरवाही तवरले टाँगिएका तार सर्ट हुने सम्भावना बढी हुन्छ । व्यवस्थित विद्युतीकरणले यसलाई कम गर्न सक्छ ।
आगलागीबारे जनचेतना जगाउँदै कमसेकम जिल्लामा एउटा दमकलको व्यवस्था त गर्नैपर्ने हुन्छ । सम्भव भएसम्म एउटा पालिकाले एउटा दमकल किन्न जरुरी छ । आगलागीले सर्वनाश गर्न लाग्दा पनि जोगाउने उपाय नभएको स्थानीय सरकारलाई सरकार साच्चिकै सरकार मान्न सकिन्छ । मुस्ताङको आगलागीलाई वेवास्ता नगरौं, पाठ सिकेर पूर्वतयारी गरौं ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया