
जोमसोम ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ स्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन छ । कार्यालय प्रमुखविहीन भएसँगै उपल्लो मुस्ताङमा नागरिकता र राहदानी लगायत सेवा प्रभावित बनेका छन् ।
इलाका प्रशासन कार्यालय लोमान्थाङमा शाखा अधिकृत तहका १ जना कार्यालय प्रमुखसहित ७ जनाको स्थायी दरबन्दी छ ।
जसमध्ये २ जना नायव सुब्बा, १ जना सहलेखापाल, १ जना सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी छ । दरबन्दी ७ जनाको तोकिएको भए पनि शाखा अधिकृत तहका प्रमुखसहित १ जना नायब सुब्बा र १ जना सहलेखापालको दरबन्दी रिक्त छ ।
गत वर्षको असार महिनामा तत्कालीन इलाका प्रशासन प्रमुख देवेन्द्र पाण्डेयको सरुवा भएसँगै पद रिक्त रहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । इलाका प्रशासनमा शाखा अधिकृत तहका कर्मचारी पदपूर्ति नभएसम्म इलाका प्रशासन लोमान्थाङका सबै प्रशासनिक कार्य प्रभावित हुने र त्यसका लागि जिल्लामै धाउनुपर्ने वाध्यता छ ।
लोक सेवा आयोगको परीक्षा र नतिजा आइसकेकाले चाँडै उक्त दरबन्दी समायोजन हुने प्रजिअ केसीको भना छ । १ जना नायव सुब्बा, १ जना सहायक कम्प्युटर र २ जना कार्यालय सहयोगी कार्यरत भएता पनि ईलाका प्रशासनमा कार्यालय प्रमुख नहुँदा अन्य कर्मचारी पनि त्यहा बस्नु र नबस्नुको कुनै अर्थ छैन ।
कार्यलय प्रमुख नहुँदा लोमान्थाङको इलाका प्रशासन कार्यालयले सेवा दिन सकेको छैन भने स्थानीय जोमसोम आउन वाध्य छन्
अन्य कर्मचारी इलाकाबाट जिल्ला प्रशासन कार्यालय जोमसोममा समायोजन गरिएको छ । विगत ८ महिनादेखि १ जना कार्यालय सहयोगी स्थानीय आङ्गेल गुरुङ इलाका प्रशासन कार्यालय कुरेर बसेका छन् । इलाकामा जिल्ला प्रशासनले अधिकार प्रत्यायोजन गरिएको शाखा अधिकृत तहको प्रमुख नहुँदा सबै सेवा अवरुद्ध हुने हुँदा अन्य कर्मचारी त्यहाँ बस्नु र नबस्नुको कुनै अर्थ नरहेको प्रजिअ केसीले उल्लेख गरे ।
शाखा अधिकृत पदपूर्ति भएमा सबै कर्मचारी कार्यस्थलमा खटिने उनको भनाइ छ । कार्यालयलाई प्रमुख जिल्ला अधिकारी(सिडिओ)ले निश्चित प्रशासनिक अधिकारी प्रत्यायोजन गर्ने गरिएको छ ।
इलाका प्रशासन प्रमुखले नेपाली नागरिकताको परिचयपत्र वितरण, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राहदानीसम्बन्धी काम, तिब्बती शरणार्थीको परिचयपत्र नवीकरणका लागि आवश्यक कार्य गर्ने, मुद्दाहरुको प्रारम्भिक कार्य गरी निर्णयको लागि पेश गर्ने, संघ, संस्था दर्ता, अनुगमन गर्ने, हातहतियार नवीकरण गर्ने ,कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने काम गर्न पाउँछन् ।
कार्यालयमा लामो समयदेखि शाखा अधिकृत तहको कर्मचारी रिक्त हुँदा उपल्लो मुस्ताङीले दैनिक प्राप्त गर्ने सेवा प्रवाह प्रभावित बनेको हो । प्रशासनले दिने सेवा अहिले जिल्ला प्रशासन कार्यालयमा पुगेर लिनुपर्ने बाध्यता रहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उनले इलाका प्रशासनले दिने सेवा नियमति हुनुपर्नेमा जोड दिए ।
लोमान्थाङको इलाका प्रशासन कार्यालयमा नियमित कर्मचारी नबस्ने गरेको देखिन्छ । बर्सेनि बैशाख र भदौ महिनामा १/१ महिनामात्र इलाका प्रशासन प्रमुख बस्ने गरे पनि अन्य समयमा जोमसोममा बस्ने गरेको स्थानीय बताउँछन् ।
हिउँद याममा अत्यधिक चिसो र हिमपात हुने भएकाले स्थानीय जाडो छल्न बेसी झर्छन् । त्यस समयमा इलाका प्रशासन कार्यालय पनि कार्यालय सहयोगीको भरमा छाडिन्छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया