कालिगण्डकीको त्रासमा दर्जन बस्ती

समाधान संवाददाता २०७९ माघ २८ गते १८:५१

सुन्दरकुमार थकाली
जोमसोम ।
मुस्ताङमा दर्जन बढी गाउँ, बस्ती जोगाउँन बृहत कालिगण्डकी नदी नियन्त्रण परियोजनाअघि सारिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ३ छुसाङदेखि थासाङ गाउँपालिका ३ लेतेसम्मका दर्जन बस्ती जोगाउन परियोजना कार्यान्वयन थालिएको हो ।

Advertisement


कालिगण्डकीको तटीय क्षेत्रमा अवस्थित मुस्ताङका ३ स्थानीय तहका दर्जनभन्दा बढी गाउँ बस्ती नदी कटानको उच्च जोखिममा छन् । बस्ती जोगाउन संघीय सरकारको विशेष अनुदानलाई गण्डकी प्रदेशको कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयले कार्यान्वयन गर्ने गरी खानेपानी, जलस्रोत तथा सिंचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङलाई अख्तियारी दिइएको हो ।

मुस्ताङको छुसाङदेखि लेतेसम्मका दर्जन बस्ती नदी कटानको जोखिमबाट जोगाउन बहुवर्षीय आयोजना अन्तर्गत संघीय सरकारको विशेष अनुदान शीर्षकमा २८ करोड बजेट छ । यसका लागि चालु आर्थिक वर्षमा ५ करोड विनियोजन भइसकेको खानेपानी, जलस्रोत तथा सिंचाइ विकास सबडिभिजन कार्यालयका सूचना अधिकारी कल्याण पौडेलले जानकारी दिए ।
कालिगण्डकी नदी नियन्त्रण परियोजना मुस्ताङ अन्तर्गत तटीय क्षेत्रको बस्ती जोगाउँन गत वर्ष डिपिआर भएको हो । चालु वर्षको पुस ३ गते ठेक्काको सूचना आह्वान भइसकेको छ ।


‘कालिगण्डकी नदी क्षेत्रको बस्ती जोगाउन चालु वर्षको फागुन मसान्तसम्ममा ठेक्का सम्झौताको प्रक्रिया सकिन्छ,’ उनले भने, ‘त्यसपछि प्रोटेक्सन वाल लगाउने काम सुरु गर्ने छौं ।’ कालिगण्डकी नदी नियन्त्रण परियोजना मुस्ताङ अन्तर्गत २ प्याकेजमा ठेक्का आह्वान भएको कार्यालयका सूचना अधिकारी पोडेलले बताए ।


परियोजना अन्तर्गत मुस्ताङको छुसाङदेखि तल तिरी, पान्डा खोला, एक्लेभट्टी र स्याङ एक प्याकेज र मार्फादेखि तल टुकुचे, खन्ती, कोवाङ, लार्जुङ, सौरु, सिर्खुम, धुम्पु, कोखेठाटी र लेतेसम्म अर्को प्याकेजमा परियोजनाको ठेक्का आह्वान भएको छ । मुस्ताङमा कालिगण्डकी नदी क्षेत्रका तटीय बस्ती संरक्षण गर्न ग्याबिन वाल, प्लम्प क्रंक्रिट वाल, माटो र बालुवासहितको ग्याबिन वाल तटबन्ध निर्माण गरिने सूचना अधिकारी पौडेलको भनाइ छ ।

Advertisement

परियोजनाको गत वर्ष दिवा मुस्कान कल्सन्टेन्सी प्रालिले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेको थियो । परियोजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । कालिगण्डकी नदीको तटीय क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् हुन नसक्दा यहाँका दर्जन बस्ती नदी कटानको उच्च जोखिममा छन् ।


बर्सेनि कालिगण्डकीको सतहमाथि उठ्दै जाँदा नदीले धार परिवर्तन गरी बस्ती जोखिममा पर्ने खतरा छ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा ढुंगा, गिट्टी, बालुवा, ग्रेग्रान लगायत नदीजन्य पदार्थको समुचित व्यवस्थापन हुन नसक्दा बस्तीभन्दा नदीको सतह अग्लो हुँदै गएको छ । वातावरणीय अध्ययन प्रतिवेदन प्रस्ताव स्वीकृत गर्ने अधिकार प्रदेश सरकारलाई हुने भए पनि एक्यापको संरक्षित क्षेत्रमा वातावरणीय अध्ययन प्रस्ताप स्वीकृत गर्न प्रदेश सरकारलाई अख्तियारी छैन ।


यहाँ राष्ट्रिय प्रकृति संरक्षण कोषले नै प्रस्ताव स्वीकृत गर्नुपर्ने हुन्छ । मुस्ताङमा प्राकृतिक स्रोत साधन तथा नदीजन्य पदार्थ उत्खनन् तथा व्यवस्थापन गर्नुपर्ने अवस्था छ । यसैका कारण बर्सेनी कालिगण्डकीमा नदीजन्य पदार्थले तटीय क्षेत्रको सतह वृद्धि हुँदै जान थालेको हो ।


जिल्ला सदरमुकाम जोमसोम र प्रसिद्ध श्राद्ध स्थल कागबेनीका बस्ती जोगाउन ऊर्जा जलस्रोत तथा सिंचाइ विभागले ‘जोमसोम कागबेनी प्रोटेक्सन रिभर ट्रेनिङ वर्क’ नामक अर्को परियोजना पनि कार्यान्वयन गर्ने भएको छ । यसका लागि पुस ७ गतेखि जोमसोम र कागबेनीमा डिपिआर सुरु भएको छ । जोमसोम विमानस्थलको दक्षिण कालिगण्डकी झुलुंगे पुलदेखि जोमसोम पक्की पुलसम्म ३ किमी र कागबेनीमा श्राद्ध स्थल र बस्ती जोगाउन १ किमीमा प्रोटेक्सन वाल डिपिआरमा समावेश गरिने थ्रेस होल्ड इन्जिनियरिङ सोलुसन प्रालिका प्रतिनिधि सुदीप थापाले जानकारी दिए ।


उनले डिपिआर निर्माण र लागत स्टमेट निकाल्ने काम भइरहेको जनाए । डिपिआर तयार भएपछि मन्त्रालयलाई हस्तान्तरण गरिनेछ । यो परियोजना आगामी आर्थिक वर्षदेखि ठेक्का सम्झौता भई कार्यान्वयनमा आउने जनाइएको छ ।

यसअघि जोमसोम बजार जोगाउन जोमसोमको कालिगण्डकी पुलदेखि उत्तर सशस्त्र प्रहरी क्याम्पसम्म दाँयाबाँया नदी नियन्त्रण प्रोटेक्सन वाल निर्माण गरिएको थियो । संघीय सरकार अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजित ९ करोड ४२ लाख लागतमा १ हजार ९ सय ९० मिटरमा आरसिसी र ग्याबिन वाल निर्माण गरिएको थियो । नेपाल नागरिक उड्यन प्राधिकरणले पनि कालिगण्डकी नदीमा विमानस्थल जोगाउन १ सय मिटर क्षेत्रमा वाल लगाएको थियो । प्राधिकरणले थालेको कालिगण्डकी प्रोटेक्सन योजना अहिले अन्तिम चरणमा छ ।

तपाईको प्रतिक्रिया