चिकित्सक कुटपिट गरेको विरोधमा आज अस्पतालका सेवा बन्द

समाधान संवाददाता २०७९ माघ २९ गते १०:२०

पोखरा ।
प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबारका लागि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सेवा बन्द घोषणा गरेको छ । संघको केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको आकस्मिक बैठकले आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष डाक्टर लोचन कार्की र महासचिव डाक्ट बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ माघ २९ गते एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको बेहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी थिइन् । त्यस क्रममा महाराजगन्जदेखि बानेश्वरसम्म यातायातका साधन आवतजावत रोकिएको थियो ।

Advertisement

राष्ट्रपतिको सवारीका क्रममा अस्पताल गइरहेका ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले कुटपिट गरेको थियो । स्वास्थ्यकर्मीले त्यसको विरोध गर्दा पुनः प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यो घटनाको विरोधमा चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । डा. सिंह चिकित्सक संघका आजीवन सदस्य हुन् । यससँगै चिकित्सक संघले सवारीका नाममा सर्वसाधारणलाई सास्ती दिने कार्य रोक्न पनि सरकारलाई आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया