
जोमसोम ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा काम गरेका मजदुरले लामो समय बितिसक्दासमेत पारिश्रमिक पाउन सकेका छैनन् । बेनी–जोमसोम सडक खण्डका निर्माण कम्पनीले मजदुरलाई काम गरेको उचित पारिश्रमिक नदिएपछि कतिपय कामदार काम छोड्न बाध्य भएका छन् भने कतिपय मजदुर घर फर्किएका छन् ।
सडक निर्माणको जिम्मा पाएका कम्पनीलाई भौतिक प्रगतिका आधारमा गौरवको सडक आयोजनाले भुक्तानी दिन्छ । आयोजनाले सडक निर्माणको भुक्तानी दिँदा सिधै कम्पनीको खातामा जम्मा हुने भएकाले सडकका मजदुरले काम गरेको पारिश्रमिक पाउन नसक्ने अवस्था बनेको हो ।
निर्माण कम्पनीको वित्तीय भुक्तानी सिधैं बैंक खातामा जम्मा हुने र कम्पनीको बक्यौता ऋण बैंकले असुल उपर गर्ने भएकाले सडकका मजदुरले काम गरेको पारिश्रमिक मजदुरको पहुँचमा पुग्न नसकेको हो ।
राष्ट्रिय गौरवको आयोजनाको सुरुवाती चरणदेखि नै बेनी–जोमसोम सडकको चौथो खण्डको काम गर्दै आइरहेका मुस्ताङको थासाङ–२ नाउरीकोटका स्थानीय मजदुर सोमलाल दमाई र श्रीलाल दमाईले विगत ३ वर्षसम्म काम गरेको पारिश्रमिक नपाएको बताएका छन् । उनीहरुले थासाङको खन्तीदेखि जोमसोमसम्मको सडकमा काम गर्दै आइरहेका थिए ।
खन्ती–जोमसोम सडकखण्डको काम पप्पु गौरी पार्वती कोसी एण्ड न्यौपानेले ठेक्का सम्झौता गरी काम गरेको थियो । तर, निर्माण कम्पनीले सोमलाल दमाईको ३ वर्षको ज्याला ४ लाख ७० हजार र श्रीलाल दमाईको ३ वर्षको ज्याला ४ लाख ९३ हजार पारिश्रमिक दिएको छैन ।
खन्ती –जोमसोमको लगातार ३ वर्ष काम गर्यौं, एक पैसा पाइएन,’ सोमलालले भने, ‘पैसा माग्न जाउँ पटक/पटक काम गर्ने प्रतिनिधि र कम्पनी फेरिन्छ, अब त पैसा पाईएला भन्ने आश पनि मरिसक्यो ।’
बेनी–जोमसोम ७६ किमी सडकको दोस्रो र तेस्रो खण्डको जिम्मा लिएका दर्जनौ कामदारले पनि काम गरेको पारिश्रमिक पाउँन नसकेको गुनासो गरेका छन् । म्याग्दीको तातोपानीदेखि काभ्रे भीरसम्मको सडक निर्माणको काम गर्दै आइरहेका अन्नपूर्ण–३ काभ्रेका स्थानीय मजदुर नरबहादुर खत्री लगायत ५ जनाले १० महिनासम्म काम गरेको पारिश्रमिक नपाएको बताएका छन् ।
सडकमा काम गरेको पारिश्रमिक नपाएपछि गत असोजदेखि काम छाडेको नरबहादुर खत्रीले जानकारी दिए । खत्रीले आफु लगायत ५ जनाको टोलीले गौरवको सडक आयोजना ,अन्नपूर्ण गाउँपालिका–३ को वडा कार्यालय र दाना प्रहरी चौकीलाई पारिश्रमिक उपलब्ध गराइदिन लिखित निवेदन दिएका छन् ।
मैले महिनाको १६ हजार पारिश्रमिक लिन्थे, १० महिनाको पैसा १ लाख ६० हजार पाउँन बाँकी छ,’ मजदुर खत्रीले भने,‘अरु साथीहरुले पनि त्यतीनै पाउँन बाँकी छ,पैसा माग्दा दिन्छौं दिन्छौं भन्छन्,तर पारिश्रमिक हात परेको छैन ।’
राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा काम गर्ने मजदुरलाई उचित पारिश्रमिक समयमा नपाएको मुस्ताङको नाउरीकोट निवासी सोमलाल दमाई र म्याग्दीको काभे्र निवासी नरबहादुर खत्री प्रतिनिधि पात्रमात्र हुन् । उनीहरु जस्तै कोरला सडकमा काम गर्ने सयौं मजदुरले पारिश्रमिक पाउन सकेका छैनन् ।
दुई महिनाअघि राष्ट्रिय गौरवको सडक आयोजनाको निरीक्षण भ्रमणमा आएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई पनि सडकका मजदुर पारिश्रमिक नपाएको विषयमा ध्यानार्कषण गराइएको थियो । तर निर्माण कम्पनीहरु मजदुरप्रति संवेदनशील नहुँदा सडकका मजदुर पारिश्रमिक पाउनबाट पीडित बनेको धौलागिरी मजदुर संघका सचिव ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
उनले सडकमा कार्यरत मजदुरले काम गरेको पारिश्रमिक निर्माण कम्पनीले उपलब्ध गराइदिनुपर्ने उल्लेख गरे । शर्मा गजुरमुखी जेभीका सडक सुपर भाइजरसमेत रहेका शेरचनले आफूले पनि काम गरेको पारिश्रमिक समयमा पाउन नसकेको बताए । शेरचनले आपूmले काम गरेको पारिश्रमिक नपाए पनि सडक सुपरभाइजरको काम गरिरहेको जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले राष्ट्रिय गौरवको सडक अन्तर्गत दोस्रो खण्डमा काम गर्ने केही मजदुरले पारिश्रमिक नपाएको बताएका छन् । शर्मा गजुरमुखी जेभीका केही कामदारले पारिश्रमिक नपाएको सामूहिक निवेदन परेको छ, उनीहरुले पारिश्रमिक दिलाउन आयोजना र निर्माण कम्पनीसंग समन्वय गरिरहेका छौं ।’
पारिश्रमिक नपाएपछि म्याग्दीको अन्नपूर्ण–३ दानास्थित प्रहरी चौकीमा समेत निवेदन दिएको पीडित मजदुर नरबहादुर खत्रीले उल्लेख गरे । उनले सडकमा कार्यरत मजदुरले पारिश्रमिक नपाएपछि कतिपयले काम गर्न छाडेको बताए ।
त्यसो त बेनी–जोमसोम सडकको राहुघाटदेखि पोखरे बगर खण्डमा सडक निर्माणको जिम्मा लिएको शर्मा युनाइटेडका सुपरभाइजर बेगबहादुरले पारिश्रमिक पाएपनि आफूले अतिरिक्त काममा गरेको खर्चको भुक्तानी नपाएको बताए ।
आयोजना अन्तर्गत निर्माण कम्पनीबाट परिचालन भएका मजदुरले पारिश्रमिक पाउन नसकेपछि सयौं मजदुर काम छोडेर अन्यत्र गईसकेका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया