भ्रष्टाचार न्यूनीकरणका लागि सामूहिक लडाइँ आवश्यक

पोखरा ।
भ्रष्टाचार न्यूनीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आयोगको ३२ औं स्थापना दिवस मनाएको छ । सो दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार निबन्ध प्रतियोगितामा विजेता विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको कार्यालय प्रमुख पार्वती शर्माले जानकारी दिइन् ।
उत्कृष्ट कर्मचारीलाई कार्यक्रममा नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको छ । ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ भन्ने नाराका साथ भएको गण्डकी प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मुस्ताङको लोमान्थाङ छोसेरमा रहेको दिव्यदीप माध्यमिक विद्यालयकी कुन्साङआङमो गुरुङ, प्रथम, पर्वत फलेवासको श्रीराम माध्यमिक विद्यालयकी रोजिना शर्मा द्वितीय र तनहँु दमौलीका विपीन श्रेष्ठ तृतीय भएका छन् ।
कार्यालय प्रमुख शर्माले प्रतियेगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः १२ हजार, ९ हजार र ७ हजार ५सय नगदसहित कदरपत्र प्रदान गरिन् । प्रतियेगितामा १० जिल्लाका ३५ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको मूल्यांकन समितिको संयोजक कार्यालय प्रमुख शर्मा, सदस्य प्राडा कुशुमाकर न्यौपाने, र सदस्य सचिव आयोगका उपसचिव राजु कुँवर थिए । ‘मिलेर फालौं, भ्रष्टाचारको जालो, सुशासन प्रवद्र्धनमा गरौं हातेमालो’ भन्ने नाराका साथ भएको कार्यक्रममा कार्यालयका उत्कृष्ट कर्मचारीलाई जनही नगद २ हजार ५ सयसहित कदरपत्र प्रदान गरिएको छ ।
‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न’ भन्ने अभियान चलाउनुपर्ने
सम्मानित हुनेमा कार्यालयका शाखा अधिकृत खेमराज मरासिनी, लेखापाल सन्तोष आचार्य, कम्प्युटर अपरेटर होमबहादुर राना, प्रहरी वरिष्ठ हवल्दार रोशन पोखरेल, प्रहरी जवान शेरबहादुर विक, कार्यालय सहायक विष्णुकुमार शर्मा, सवारी चालक विश्व पौडेल छन् ।
कार्यक्रममा सुशासन प्रवद्र्धनमा नागरिक स्तरबाट गरेवापत नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेललाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गरिएको छ । आयोगको पोखरा कार्यालयका प्रमुख पार्वती शर्माले भ्रष्टाचार विरोधी अभियान गर्न सहज नभएको बताइन् । ‘अख्तियारको एकल प्रयासबाट भ्रष्टाचार न्यूनीकरण सम्भव छैन,’भ्रष्टाचार न्यूनीकरण जटिल काममा सहयात्री आवश्यक भएकाले सबैको साथ सहयोग आवश्यक पर्छ ।’
उनले राज्यका निकाय, नागरिक समाज, पत्रकार लगायत सरोकारवालाको सामूहिक प्रयासबाट सकारात्मक परिणाम ल्याउन सकिने बताइन् । उनले नागरिक स्तरका निगरानी तथा स्वास्थ टीका टिप्पणीले अख्तियारलाई काम गर्न जानकारी दिइन् । उनले ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न’ भन्ने अभियान चलाउनुपर्नेमा जोड दिइन् ।
आयोगका प्रशासनतर्फका उपसचिव राजु कुँवरले भ्रष्टाचार र सुशासनको विषयमा विद्यार्थीको बुझाईले भ्रष्टाचार नियन्त्रणको प्रवद्र्धनात्मक कार्यक्रममा सहयोग पुग्ने बताए । आयोगका कानुनतर्फका उपसचिव सन्तोष तिमिल्सिनाले अख्तियारको दुरुपयोग गरी कानुन विपरित काम गर्नेलाई कारवाही गर्ने निकाय आयोग भएको उल्लेख गरे ।
नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर पौडेल, आयोगका प्रहरी नायव उपरीक्षक सरोज गिरी, आयोग शाखा अधिकृतहरु विन्दु भण्डारी, बविता शर्मा, खेमराज मरासिनी, शिक्षकहरु त्रिलोचन सापकोटा, सूर्य रिजाल, विद्यार्थीहरु कुन्साङआङमो गुरुङ,रोजिना शर्मा, विपीन श्रेष्ठ, आयोगका विधानसिंह क्षत्री लगायतले भ्रष्टाचार न्यूनीकरणको बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया