प्रदेशले कृषिमा संघ र तहसँग समन्वय गर्ने

पोखरा ।
गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलश्रोत मन्त्री वेदबहादुर गुरुङले बास्तविक किसानहरुको अवस्था दर्दनाक अवस्थामा रहको र त्यसको लागी प्रदेश सरकारले नीति बनाएर अगाडि बढ्ने बताएका छन । गण्डकी प्रदेशका किसानहरुको संरक्षणका लागि संघ र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।
नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।
मन्त्री गुरुङले किसानहरुको संरक्षणका लागि प्रदेश सरकारको मुख्यमन्त्री सहित सिंगो मन्त्रिपरिषदको ध्यान केन्द्रित भएको समेत बताए । किसानहरुले बजारमा भाउ पाउन नसक्नुको मुख्य कारण बजार नियन्त्रण गर्ने संयन्त्र निर्माण हुन नसक्नु रहेको उनको भनाइ थियो ।
मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईंले कृषि अनुदानको मोडालिटी परिवर्तन गर्न आफूहरु लागिरहेको बताए । कर्मचारी दरबन्दी ठूलो समस्याको रुपमा आउनुको मुख्य कारण प्रदेश नियमावली आउन नसक्नु भएको उनले जानकारी दिए ।
हुमागाईंले कर्मचारी दरबन्दीका लागि प्रदेश लोक सेवा आयोगले काम गर्न नसकेको र फागुनभित्र यसको किनारा लाग्ने उनको भनाइ थियो । उनले स्थानीय तहको पदपूर्ति प्रदेश सरकारको बसमा नरहेकाले यसलाई विधि बनाएर अगाडि बढाउन आवश्यक रहेको समेत बताए ।
कृषि अनुदानको मोडालिटी परिवर्तन तयारी
दुरदराजका तहहरुमा दरबन्दी पूर्ति गर्न नसकिरहँदा प्राविधिक सेवालाई गाउँगाउँमा पु¥याउन नसक्दा समयमा रोगको पहिचान गराउन नसकेकै कारण रोगको न्यूनीकरण भन्दा पनि नयाँ रोगहरु चुनौतीको रुपमा आइरहेको समेत उनको भनाइ थियो ।
नेपाल भेटेरिनरी एसोसिएसनको केन्द्रीय अध्यक्ष डाक्टर शीतलकाजी श्रेष्ठले कर्मचारी दरबन्दी तोकिएको भएता पनि कर्मचारी अभावका कारण कृषि र पशुपालनको क्षेत्रमा उल्लेख्य परिवर्तन हुन नसकेको बताउँदै प्रदेश सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
कृषि प्रधान देश भनिएता पनि तीन तहको सरकारले पाँच वर्ष बिताइसक्दा पनि यसबारेमा कुनै पनि सरकारको ध्यान पुग्न नसकेको उनको गुनासो थियो ।
नेपाल ह्याचारी संघ गण्डकीका अध्यक्ष मोतीप्रसाद पौडेलले खुला सीमाका कारण वास्तविक किसानको उत्पादनले बजारमा मूल्य नपाएको बताउँदै यस्तै प्रक्रिया अगाडि बढे कृषकहरुले पनि आत्मदाह गर्ने अवस्था आउने बताए ।
वास्तविक किसानले भन्दा पनि नया किसानहरुलाई मात्र सरकारले कृषि अनुदान दिइरहेकाले वास्तविक किसानहरु मारमा परिरहेको र वास्तविक किसानहरु अझै पनि अनुदानको बारेमा अनभिज्ञ रहेको उनको भनाइ थियो ।
नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष डा केदारराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. प्रेरणा सेढाई भट्टराई र पशु चिकित्सक डा. राजेश चौधरीले एसोसिएसनले गरेको कार्यप्रगति चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. शोभा शर्माले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन डाक्टर सोनिया गुरुङले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया