हरिहर सन्यास आश्रम चिनाउन वृत्तचित्र

पोखरा २० भलाममा रहेको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल हरिहर गुफा सन्यास आश्रममा पुग्ने संख्या बढ्दो छ । आश्रमको प्रचारप्रसारका लागि आश्रम व्यवस्थापन समितिले विभिन्न गतिविधि गरिहेको छ ।
ओझेलमा परेको पोखरा २० भलामस्थित आश्रमको प्रचारप्रसार गर्ने उद्देश्यले बनाइएको वृत्तचित्र शनिबार सार्वजनिक गरिएको छ । स्थानीय समाजसेवी एवं आश्रमका आजीवन सदस्य दिनेश बस्नेतको पहलमा बनेको वृत्तचित्र गण्डकी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री पञ्चराम तमुले लोकार्पण गरे ।
आश्रमको भौगोलिक अवस्थिति, त्यहाँको वातावरण, आश्रमको ऐतिहासिकतासँगै धार्मिक महत्व समेटेर वृत्तचित्र निर्माण गरिएको बस्नेत बताउँछन् । समुन्द्री सतहदेखि १ हजार ३ सय मिटरमा रहेको यो आश्रम १८ औं शताब्दीमै स्थापना भएको बताइन्छ ।
औपचारिक लिखत भने विस १९०६ बैशाखमा श्री ३ जंगबहादुर राणाले सनद पत्र जारी गर्दाको मात्रै भेटिएको छ । अन्नपूर्ण हिमश्रृंखलाका साथै पोखरा सहरका अधिकांश भाग दृश्यावलोकन गर्न सकिने आश्रम प्राकृतिक हिसाबले मनोरम र रमणीय स्थानमा छ ।
पोखराबाट करिब ८ किलोमिटरमा रहेको यो आश्रममा तीजको श्रीपञ्चमी, हनुमान जयन्ती, शिवरात्री र बालाचतुर्दशीमा भक्तजनको भीड लाग्छ ।
मन्दिरका पीठाधीश अनन्त श्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले यो आश्रम तपस्वीहरुको तपोभूमिको बताए । उनले भने, ‘जल प्रदुषण, वायु प्रदुषण, मोटर प्रदुषणबाट मुक्त यो आश्रम साधु, सन्त, महात्माले तपस्या गर्ने तपोभूमि हो । आध्यात्मिक चिन्तनका लागि उपयुक्त यो आश्रममा तपस्वीहरुले ध्यान गर्ने गुफा पनि छ ।’
गण्डकी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री पञ्चराम तमुले पोखराको नजिक भएर पनि ओझेलमा परेको आश्रमको विकास र विस्तारका लागि मन्त्रालय र आफूले सक्दो प्रयत्न गर्ने बताए ।
आश्रमका कोषाध्यक्ष रामजीप्रसाद पौडेलले सहयोग संकलन गरेर वृत्तचित्र निर्माण गरिएको बताए । ५१ मिनेटको डकुमेन्ट्रीको लेखन तथा संयोजन दिनेश बस्नेतले गरेका हुन् । साहित्यकारसमेत रहेका बस्नेतका ४ पुस्तक प्रकाशित छन् भने थप २ पुस्तक प्रकाशोन्मुख छन् ।
तपाईको प्रतिक्रिया