पोखरा–३० का आदिवासी जनजातिलाई कानुनी सचेतना

समाधान संवाददाता २०७९ माघ २९ गते १५:४३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३० को कार्यालयले वडाका आदिवासी जनजातिका लागि एक दिने कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।

Advertisement

शुक्रबार आयोजित कार्यक्रममा आदिवासी जनजाति आन्दोलन र अधिकार, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी महासन्धि नम्बर १६९ बारे प्रशिक्षण दिइएको थियो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, आदिवासी जनजाति आयोग ऐन तथा मानवअधिकार र देवानी संहिताबारे समेत जानकारी गराइएको थियो ।

सो अवसरमा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता कृष्णकुमार श्रेष्ठ, अधिवक्ता माधवी पाण्डे र नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का मुख्य सचिव सुजनकुमार लामाले सहजीकरण गरेका थिए ।

अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले यस कार्यक्रमले वडाका आदिवासी जनजातिलाई सचेत र संगठित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक भीमकुमारी पुनले प्रथम र द्वितीय विश्वयुद्धमा समेत अद्वितीय बहादुरी प्रदर्शन गरेका आदिवासी जनजाति समुदायले अब नेपालको राजनीति र प्रशासनमा समेत सहभागिता वृद्धि गर्नुपर्ने बेला आएको बताए । कार्यक्रममा वडा सदस्य विनोद लामिछानेले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया