पोखरा विमानस्थलबाट अहिले नै फाइदा खोजेर हुँदैन : महानिर्देशक अधिकारी

समाधान संवाददाता २०७९ माघ २९ गते १७:१४

काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतसँग कूटनीतिक पहलविना भैरहवाको गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन् ।


आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै महानिर्देशक अधिकारीले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने बेला नभइसकेको विचार व्यक्त गरे । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारत र चीनसँग सरकारले वार्ता गर्न आवश्यक रहेको उनले औंल्याए । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कम हुनुमा रुटमात्रै बाधक नरहेको उनको भनाइ थियो । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अहिलेको प्रचारप्रसार पर्याप्त नभएको उनको ठम्याई थियो ।


महानिर्देशक अधिकारीले विमानस्थलको बारेमा छिमेकी देशहरूमा उडान माग्ने र प्रचारप्रसारको कामलाई पनि तीव्र बनाउँदै लगे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने बताए । उनले भैरहवा विमानस्थल चलायमान बनाउन विमानस्थल केन्द्रित गतिविधि बढाउनुपर्नेमा जोड दिए ।

Advertisement


‘भैरहवा र पोखरा विमानस्थलबाट तत्काल हामीले फाइदा खोजेर हुँदैन । त्रिभुवन विमानस्थलमा जति लगानी गरेका छौँ, त्यहाँ त्यति लगानी कहाँ भएको छ र ? त्रिभुवन विमानस्थल सञ्चालनमा आएको ७५ वर्ष भइसक्यो आज पनि पूणर् क्षमतामा छैन । त्यसैले यसलाई केही समय अझै धैर्य गर्नुपर्छ,’ उनले भने, ‘सबै मिलेर यसको प्रचारप्रसार गर्नुपर्छ । रुटको कारणले मात्रै विमानस्थल नचलेको भन्ने होइन । भारत र चीन दुवै देशको चाहना छ भने न हामीले विमानस्थलमा उडान पाउने हो । यसलाई त कुटनीतिक पहल गर्नुपर्छ ।’


महानिर्देशक अधिकारीले पोखरामा भएको दुर्घटनामा विमान धेरै नै तल आइसकेपछि ल्यान्डिङ प्रक्रिया सुरु भएको भन्ने गुनासा आएकाले त्यसलाई सम्बोधन गर्न एक हजार फिटमाथि नै सबै व्यवस्थापन गरेरमात्रै ल्यान्डिङ गर्नुपर्ने नियम ल्याएको सुनाए । उनले नियमित मौसम सूचना उपलब्ध नहुने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमी क्यामेराहरू जडान भइसकेको उल्लेख गरे ।

Advertisement


जोमसोममा भएको दुर्घटनापछि प्राधिकरण राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर पोखरादेखि जोमसोम रुटका सबै ठाउँमा अहिले लाइभ वेदर क्यामेरा जडान गरिसकेको जानकारी उनले दिए । अब चाँडै नै लुक्ला र सिमिकोटमा जडान गर्ने तयारीमा रहेको बताउँदै लाइभ वेदर क्यामेरा जडानपछि पाइलटले उडान गर्नुअघि नै रुटको सम्पूणर् जानकारी लिनसक्ने सुनाए । महानिर्देशक अधिकारीले उडानअघि बाध्यकारीरूपले उडान सुरक्षा जोखिम मूल्यांकन गर्नुपर्ने औंल्याए ।

तपाईको प्रतिक्रिया