जनयुद्धप्रति गर्व गरौं

पूर्णजित सी २०७९ फागुन १ गते १२:१३

जनयुद्धका ती १० वर्ष जति धेरै तुफानमय थिए, जति धेरै प्रसव र पीडामय थिए; त्योभन्दा धेरै गुणा मूल्यवान, उल्लासमय र गौरवपूर्ण थिए । तर ती १० वर्षभन्दा पछि आजसम्मका १७ वर्ष निकै तिक्ततापूर्ण, विरक्तलाग्दा, र परिसानयुक्त बने । वास्तवमा आजको पुस्ताले त्यो ऐतिहासिक जनयुद्धलाई कुन नजरले बुझ्ने ? जनयुद्धका कमान्डर, नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले कसरी हेर्ने ? छोरा र छोरी गुमाउने आमाबाबाले के बुझ्ने जनयुद्धलाई ? बुवाआमा गुमाउने सहिद र बेपत्ताका सन्ततिले कसरी लिने जनयुद्धलाई ?

Advertisement

अंगभंग बनेका घाइते, आपांगले कस्तो सोच्ने जनयुद्धलाई ? अझ जनयुद्धका घनघोर विरोधीहरुले (जो आज जनयुद्धको उपलब्धिमा मालामाल छन्) कसरी बुझ्ने त्यो महान क्रान्तिलाई ? विडम्बना ! आज जनयुद्धलाई हेर्ने र हेराउने दृष्टिकोणमा आग्रह, पूर्वाग्रह नहुनुपर्ने हो । तर जनयुद्धप्रतिको बुझाइ क्रमश विषाक्त बनिरहेका देख्दा एउटा महान् इतिहासप्रति गम्भीर अन्याय भएको आभास हुन्छ ।

सम्मान वा अपमान, गौरव वा सत्तोसराप, स्वीकार वा अस्वीकार जे जसरी हेरे पनि जनयुद्ध एउटा ऐतिहासिक, युगान्तकारी घटना थियो । न्याय, समानता, मुक्ति र स्वतन्त्रताका निम्ति उत्पीडित वर्गले झुपडीबाट संगठित रूपमा झन्डा उठाएको इतिहास हो जनयुद्ध ।

उच्च त्याग, समर्पण र बलिदानले भरिपूर्ण इतिहास हो जनयुद्ध । तत्कालीन सामन्त, प्रतिक्रियावाद, विस्तारवाद र साम्राज्यवादको निद हराम गर्ने वर्गयुद्ध हो जनयुद्ध । आफ्नो अधिकारका निम्ति जुट्ने, उठ्ने, बोल्ने र लड्ने जागरुक चेतनाको इतिहास हो जनयुद्ध ।

सम्मान वा अपमान, गौरव वा सत्तोसराप, स्वीकार वा अस्वीकार जे जसरी हेरे पनि जनयुद्ध एउटा ऐतिहासिक, युगान्तकारी घटना थियो

Advertisement

सत्य कुरा यो हो कि थिचोमिचो, दमन, अत्याचार र भेदभावका दानवीय परिपाटी स्वतः आफैं कमजोर भएका होइनन् । यद्यपि आज जनतामाथि भूमण्डलीकृत पुँजीवादको कहालीलाग्दो दोहन अझै डरलाग्दो छ । करिब अढाई सय वर्षको पुरानो निरंकुश राजतन्त्र सजिलैसँग छुमन्त्रको भरमा समाप्त भएको होइन ।

यद्यपि आज नयाँ रुपका हजारौं राजा रजौटा गल्ली गल्लीमा भुनभुनाइरहेकै छन् । आंशिक रूपमा नाममात्रैको भए पनि उपलब्धि लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशी, धर्मनिरपेक्ष, नयाँ चेत र जागरण जस्ता कैयौं जनपक्षीय उपलब्धि कसैले सित्तैमा दान दिएका होइनन् ।

यद्यपि आज लोकतन्त्र शोकतन्त्रमय छ, गणतन्त्र धनतन्त्रमय छ । हो, जनयुद्धकै कारण आज हामीलाई तमाम दूरगामी महत्वका परिवर्तनमा उभिन सम्भव भएको हो । तर आज जनयुद्धकै उपलब्धिमाथि मस्ती गर्दै जनयुद्धको अवमूल्यन गर्ने राजनीतिक मनोरोगीहरु अर्थात वैचारिक लफंगाहरु राजनैतिक बजारमा यत्रतत्र देख्न सक्छौं । महान संघर्ष, त्याग र बलिदानद्वारा आर्जन भएका तमाम प्राप्तिलाई अपमान गर्ने पूर्वाग्रही लठैटहरु निकै दयालाग्दा छन् ।

जनयुद्धको मुल उद्देश्यप्रति जनयुद्धको मुल नेतृत्वले गरेका अक्षम्य कुठाराघातका कारण सर्वत्र निराशा, अविश्वास, गुनासो र खबरदारी आउनु स्वभाविकमात्र नभई अनिवार्य पनि थियोे । जनयुद्धको मुख्य लक्ष्य अधुरै छ । नयाँ जनवादी व्यवस्था– वैज्ञानिक समाजवादी व्यवस्था र विश्व साम्यवादी व्यवस्थाका निम्ति नै योद्धाहरु हाँसीहाँसी छातीमा गोली थाप्न तयार भएका थिए ।

राष्ट्रियता, जनतन्त्र र जनजीविका अहम् मुद्दाप्रति आस्था, विश्वास र भरोसाकै कारण लाखौं नेपालीले योगदान र सहयोग गरेका थिए । वास्तवमा ऐतिहासिक जनयुद्ध र ६२/६३ को जनआन्दोलनले विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको कुनै कल्पना गरेको थिएन । तर आज जवर्जस्त प्रतिक्रान्ति लादिएको छ । देश शान्ति, समृद्धि, आत्मनिर्भर, विकास र स्वाधीनतातिर होइन; झन्झन् अशान्ति, कंगाल, परनिर्भर, दुर्गति र राष्ट्रिय आत्मसमर्पणतिर गइरहेको छ ।

रोग, भोक, अभाव, असमानता, दलाली, भ्रष्टाचार, राष्ट्रघात, महंगी, असुरक्षाले मुलुक दर्दनाक अवस्थामा पुगेको छ । जनताका सुख र खुसी हराएका छन् । निश्चय पनि जनयुद्धको प्रमुख उदेश्य राजनीतिक सत्ताको प्रश्न समाधानतिर गएको भए यी भयावह परिस्थितिको आगमन सम्भव थिएन । लक्ष्य र उद्देश्यमा गरिएको बेइमानीका कारण जनयुद्धको नेतृत्व गर्ने माओवादी शक्तिहरु आज विभिन्न घटकमा बिभाजित छन् । संसदीय रुझानभन्दा बाहिर निस्कनै नसक्ने गरी सरकारी माओवादी कुर्सी खेलमै मैमत्त छ ।

केही नभेट्टिने गरी नदेखिने गरी हजारौं माइल टाढा पुगिसके । केही क्रान्तिलाई गति, विकास र विज्ञानको रूपमा होइन, शास्त्रीय भजनकीर्तनको रुपमा भट्याउन व्यस्त छन् । केही उट्पट्याङ र केटाकेटीपनामा छट्पटाउदै बिसर्जनको लयमा भौतारिरहेका छन् । एउटा शक्तिचाहिँ आशा र सम्भावनाका साथ संसदवाद, संशोधनवाद, आत्मसमर्पणवाद, पलायनता, रुढिवाद र बिसर्जनवादबाट आफूलाई जोगाउदै क्रान्तिमा अगाडि बढिरहेको छ, त्यो हो नेपाल कम्युनिस्ट पार्टी ।

नेपाल कम्युनिस्ट पार्टीले दलाल पुँजीवाद तथा भूमण्डलीकृत पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरेको छ । अग्रगमनका पक्षमा इतिहासमा जति पनी संघर्ष भए, जनयुद्ध र तीभन्दा पहिलेका सबै अधुरा राजनीतिक कार्यभार पूरा गर्ने जिम्मेवारीसहित नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा विकास गरेको हो ।

सबै खाले प्रतिक्रियावादी, संशोधनवादी, संसदवादी, आत्मसमर्पणवादी, विसर्जनवादी, जडसूत्रवादी र फुटवादीका सारा प्रहार, घेराबन्दी, दमन, प्रतिबन्ध, गिरफ्तारी, हत्या र षड्यन्त्रलाई परास्त गर्दै श्रमिक जनता, देशभक्त तथा जनवादी शक्तिहरुको विश्वास र भरोसासहित नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय राजनीतिको वैकल्पिक केन्द्रमा आइपुगेको छ ।

नेपालको असफल र संकटग्रस्त अवस्थाको मुख्य कारण दलाल पुँजीवादी सत्ता नै हो । यसको एकमात्र सही निकास र विकल्प व्यवस्था परिवर्तन गर्नुपर्दछ । त्यो भनेकै एकीकृत जनक्रान्तिमार्फत् सामाजिक फासिवादी दलाल संसदीय व्यवस्थाको समूल नष्ट गरी न्याय, समानता, शान्ति, समृद्धि, स्थायित्व र स्वाधीनताको सुनिश्चित हुने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्दछ ।

आज २८ औं जनयुद्ध दिवस । जनयुद्धप्रति सबैले गर्व गरौं । जनयुद्ध, जनआन्दोलन र जनपक्षीय संघर्षका कैयौं अधुरा कार्य पूरा गर्न अग्रगमनको मोर्चामा हातेमालो गरौं । इतिहासलाई निष्पक्ष रुपले अध्ययन, अनुसन्धान र सम्मान गरौं । आमूल परिवर्तनका निम्ति जीवनको कुर्वानी गर्ने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धासुमन ! राज्यद्वारा बेपत्ता भएका योद्धाहरुप्रति उच्च सम्मान ! गहिरो माया र प्रेमका साथ जनयुद्धका तमाम सहयात्रीलाई मीठो सम्झनासहित २८ औं जनयुद्ध दिवसको शुभकामना ! सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते–अपांग साथीहरुमा सम्मानपूर्वक अभिवादनसहित २८ औं जनयुद्ध दिवसको हार्दिक शुभकामना !

तपाईको प्रतिक्रिया