सोंथर बेंसी मेलाको तयारी पूरा

समाधान संवाददाता २०७९ फागुन १ गते १२:२८

पोखरा ।
सोंथर बेँसी टारी बजार मेला २०७९ को तयारी पूरा भएको छ । मेलास्थलको व्यवस्थापन, प्रचारप्रसार, अर्थ व्यवस्थापन लगायतका सम्पूर्ण तयारी सकिएका हुन् । ‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो ।

Advertisement

फागुन १ गते सोमबार सुरु हुने मेला ३ गतेसम्म चल्ने समितिका अध्यक्ष ओम प्रकाश गुरुङले बताए । मेलाको उद्घाटन मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले गर्ने तय छ ।

उद्घाटन समारोहमा विभिन्न स्थानबाट सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । मेला करिब ५हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला गर्नका लागि ५ लाख खर्च लाग्ने अनुमान छ । मेलामा विशेष गरी सोंथर बेँसी लगायत त्यस आसपास क्षेत्रमा उत्पादित कृषि वस्तु तथा पशुचौपायाको प्रदर्शनी एवं बिक्री गरिनेछ ।

खेलकुदतर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुला छेलो/ठेलो प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता, सांस्कृतिकतर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, खुला दोहोरी प्रतियोगिता, खुला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरुको ठेटार नाच एवं चर्चित कलाकारका समेत प्रस्तुति रहने छन् ।

भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः नगद ४० हजार र ३० हजार नगदसहित मेडल र ट्रफी प्रदान गरिनेछ । मादी गाउँपालिका भित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीबीच सोंथर बेँसी विषयक वक्तृत्वकला प्रतियोगिता पनि गरिनेछ । नेपाल टुरिज्म बोर्डसँग अन्तरक्रिया पनि हुने भएको छ ।

Advertisement

मेलाको मुख्य प्रायोजन मादी गाउँपालिका कार्यालयले गर्ने भएको छ । ३५ वर्षअघि निकै प्रख्यात रहेको सोंथर बेँसी मेलालाई थप परिस्कृत गर्दै गर्न लागिएको हो । मादी गाउँपालिकाको वडा नं ८ मा पर्ने नागिधार र पाखुरीकोट गाउँ, वडा नं १० मा पर्ने भाचोक गाउँको संगम स्थल हो सोँथर बेँसी ।

सोंथर बेँसीमा हाल फार्महाउस एवं केही होमस्टेसमेत सञ्चालनमा छन् । फार्म हाउसमा बसेर नजिकै वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिनेछ । नजिकै टारी खेतमा गोठसमेत रहेकाले गोठमा शीर खाने अनुभवसमेत लिन सकिनेछ ।

तपाईको प्रतिक्रिया