
जोमसोम ।
मुस्ताङमा हिउँदयाम सकिन लाग्दा समेत यस वर्ष हिमपात भएको छैन । हिउँदमा हिउँ नपर्दा मुस्ताङी चकित परेका छन् । हिमपात र जाडो छल्न बेसी झरेका नागरिक बिस्तारै उक्लिने बेलामा समेत हिमाली जिल्ला मुस्ताङमा अहिलेसम्म हिमपात हुने छेकछन्द छैन ।
अक्सर मुस्ताङमा पुस र माघ महिनामा कम्तीमा दुईदेखि ३ पटक सम्म भारी हिमपात हुन्थ्यो । कुनै वर्ष त कात्तिक महिनादेखि नै हिउँ पर्न सुरु गथ्र्यो । कुनै वर्ष चैत महिनासम्म हिमपात भएको देख्न पाइन्थ्यो । तर, यो वर्ष एक पटकपनि मुस्ताङमा हिमपात भएको छैन ।
मुस्ताङमा यसवर्ष हिउँ नपर्दा आफूलाई अचम्म लागेको थासाङ–१ टुकुचेकी स्थानीय ८४ वर्षीया नाङ्जा थकालीले बताइन् । ‘जन्मिएर यत्रो भइयो, मुस्ताङमा कुनै वर्ष पनि हिउँ नपरेको रेकर्ड थिएन,’ टुकुचेकी ज्येष्ठ नागरिक थकालीले भनिन्, खै यो वर्ष के भाको हो कुन्नि, गर्मी सुरु भइसक्दासमेत हिउँ नै परेको छैन ।’
हिमपात नहुँदा किसान चिन्तित छन्, पर्यटन व्यवसायीसमेत निरास भएका छन्
विगतका वर्षहरुमा यही याममा उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म हिमपात हुने गथ्र्यो । खर्क, बस्ती, खेतीयोग्य जमिन र कालिगण्डकी बगर समेत हिउँले पुरै सेताम्मे हुने गथ्र्यो । तर, यो वर्ष माघ महिना सकिँदासमेत मुस्ताङमा हिमपात भएको छैन ।
गत वर्ष मंसिरको दोस्रो सातामै हिउँ पर्न सुरु गरेको थियो । त्यस वर्ष पुस १२ र माघ १९ गते दुईपटक भारी हिमपात भएको थियो । मुस्ताङको घरपझोङ गाउँपालिका–४ का ७५ वर्षीय ज्येष्ठ नागरिक एवं पूर्व गाउँ मुखिया रामप्रसाद थकालीले आफ्नो जीवनकै इतिहासमा हिमपात नभएको उल्लेख गरे ।
‘हिउँदयाममा जोमसोम बजारमै २ देखि ३ फिटसम्म हिउँ पथ्र्याे, घर माथि थुप्रिएको हिउँ पन्छ्याउनै मुश्किल पथ्र्यो, ७५ वर्षीय मुखिया थकालीले सम्झँदै भने, ‘यो वर्ष त के भयो भयो, हिउँ नै पर्न सकेन ।’ उनले हिमाली जिल्ला मुस्ताङका लागि हिउँ नपर्नु दुर्भाग्य भएको बताए ।
‘हिउँ पर्दा यहाँको रौनक नै बेग्लै हुन्थ्यो, हिउँ खेल्ने, हिउँ हेर्न मान्छे आउँथे । कृषकहरु पनि हिउँ पर्दा बालीनाली सप्रिने आसले रमाउँथे । अहिले मुस्ताङका खर्क, पहाड, खेत र बस्तीहरु हिउँविहीन फ्रुस्रा र नाङ्गा छन्, न त हिउँकै रौनकता छ,’ मुखिया थकालीले भने ।
हिउँदयामको हिउँ मुस्ताङीका लागि बरदान सावित हुन्थ्यो । हिउँकै कारण कृषि र पर्यटन क्षेत्रलाई निकै फाइदा पुग्थ्यो । यस वर्ष हिमपात नहुँदा यहाँका कृषक चिन्तित छन् । पर्यटन व्यवसायीसमेत निरास भएका छन् । विगतमा हिमपात हुँदा यहाँको हिउँ वैशाख महिनासम्म बिलाउँदैन थियो ।
हिउँकै कारण उपल्लो मुस्ताङ सडक र जोमसोम/मुक्तिनाथ सडक समेत अवरुद्ध हुन्थ्यो । यसपटक हिउँकै सडक आवागमन भने अवरुद्ध भएको छैन । अहिले बिस्तारै जाडो सकिएर गर्मीयामको महसुस गर्न थालिएको छ ।
मुस्ताङमा हिउँदयामको मौसममा बेमौसमे पर्यटक भिœयाउन र नेपाल स्की संघले मुक्तिनाथ क्षेत्रको खुला पाखोमा राष्ट्रिय स्की च्याम्पियन आयोजना गर्दै आइरहेको छ । मुस्ताङमा लगातार ३ पटक राष्ट्रिय स्की च्याम्पियन सम्पन्न भइसकेको छ ।
नेपाल स्की संघले यस वर्ष पनि मुक्तिनाथमा चौथो राष्ट्रिय स्की च्याम्पियन आयोजना गर्ने जनाएपनि मुस्ताङमा हिमपात नहुँदा प्रतियोगिता आयोजना गर्न सम्भव नरहेको मुक्तिनाथ होटल ग्राण्ड साम्वलाका प्रोपाइटर सुरज गुरुङले उल्लेख गरे ।
‘हिउँ पर्यो भने स्की टोलीलाई बोलाउने भनेका थियौं,’ पर्यटन व्यवसायी गुरुङले भने, ‘हिउँ नै परेको छैन, स्कीका लागि भारी हिमपात हुनैपर्छ ।’
मुस्ताङमा हिउँ पर्दा यहाँका डाँडाकाँडा, खर्क र बस्ती हिउँले चाँदी झै सेताम्मे हुन्थे । हिउँ खेल्न पर्यटक मुस्ताङ आउँथे । तर, यो वर्ष हिउँ नपर्दा बेमौसीे पर्यटनसमेत प्रभावित भएको छ । हिउँ पर्यटनले बेमौसमको व्यापार घाटामा समेत केही राहत दिन्थ्यो ।
मुस्ताङमा हिमपात नहुनु र पर्यटनका लागि अफ सिजन भएकाले यहाँका होटलहरु दुई महिनादेखि सुनसान छन् ।
जलवायु परिवर्तनको प्रत्यक्ष र परोक्ष असर हिमाली जिल्लामा देखिन थालेको छ ।
विगत १० वर्षको हिमपातको ग्राफ हेर्दा मुस्ताङका कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात हुने र कुनै वर्ष हिमपात ज्यादै न्यून पर्ने गरेको पाइएको छ ।
हिउँकै कारण यहाँको जनजीवनसमेत प्रभावित हुन गथ्र्यो । यद्यपि यो वर्ष हिमपात र वर्षा दुबै भएको छैन । मुस्ताङको तापमान बर्सेनि वृद्धि हुँदै जाँदा यहाँको कृषि क्षेत्रसमेत प्रभावित बन्दै गइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए ।
मुस्ताङका हाई चिलिङ भेराइटीको अन्नबाली र फलफूलले विस्तारै तापक्रम बढेसँगै उकालोतर्फ बसाई सर्दै जान थालेको उनले उल्लेख गरे ।
‘हिउँ पर्दा सबैभन्दा बढी राहत कृषकलाई हुन्थ्यो, हिउँले किसानको अन्नबाली राम्ररी फस्टाउँथ्यो,’ कार्यालय प्रमुख बस्ताकोटीले भने, ‘हिउँ नपर्दा अन्नबालीमा रोग र प्रकोप देखिन सक्छन्, यसले उत्पादनमा समेत ह्रास ल्याउँछ ।’
हिउँदयामको हिउँलाई कृषकले अर्गानिक मलको रुपमा लिने गर्छन् । कुलो र नदीबाट सिँचाइ गरिएको पानी भन्दा हिउँदयामको हिउँले खेतबारी सिञ्चित गर्दा जमिनको उर्वराशक्तिलाई मजबुत पारिदिन्छ भने जमिनको भित्री सतहको माटोसमेत हिउँले जमिनलाई रिचार्ज गर्छ ।
मुस्ताङको घरपझोङ–२ मार्फाका किसान दिपक लालचनले मौसममा हिउँ नपरी बेमौसममा परेको हिउँले कृषकलाई कुनै फाइदा नपुग्ने बताए ।
‘पुस र माघ महिनामा स्याउ लगायत अन्नबाली व्यवस्थापन गर्ने समय हो, यही बेला परेको हिउँले जमिनलाई सिञ्चित गर्छ,’ कृषक लालचनले भने, ‘चैत, वैशाखमा स्याउबोटमा फूल फक्रन सुरु गर्छ, त्यो बेला हिमपात भएमा स्याउका फूल झर्छन् र उत्पादन घट्छ ।’
मुस्ताङमा हिमपात हुँदा बालबालिकादेखि स्थानीय नागरिक, कर्मचारी र पर्यटकहरु हिउँमा रमाउथे । हिउँमा छायांकन गर्न चलचित्र निर्माण र म्युजिक भिडियो छायांकन गर्ने टोलीहरु मुस्ताङ आउँथे ।
तर, अन्य हिमाली जिल्लामा आंशिक हिमपात भएता पनि मुस्ताङमा भने जारी सिजन हिउँ नै पर्न सकेको छैन ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया