गन्नी एफसी बिटी कप च्याम्पियन

समाधान संवाददाता २०७९ फागुन २ गते १०:५९

पोखरा ।
बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ ।

Advertisement

पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिँखेलमा सोमबार भएको फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेको गन्नीको जितमा अनिश तामाङले निर्णायक गोल गरे । पहिलोपटक उपाधि जितेको गन्नी एफसीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ६१ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्‍यो ।

क्लबका अध्यक्ष असिम थापाका अनुसार उपविजेता बनेको लामागाउँ गुम्बा एफसीले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ पायो ।

सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नी एफसीका अनिश तामाङ घोषित हुँदै ट्रफीसहित नगद रु ८ हजार प्राप्त गरे ।

Advertisement

उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै सन्देश गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा गन्नी एफसीकै लक्षु थापामगर, उत्कृष्ट डिफेन्डरका रुपमा लामागाउँका सरोज तितुङ तामाङ र सर्वाधिक गोलकर्ताका रुपमा सोही क्लबकै अनुज भण्डारीले ट्रफीसहित जनही ६ हजार नगद प्राप्त गरे ।

सो प्रतियोगिताबाट बिआर ब्रदर्स काठमाडौंको टोलीलाई अनुशासित टिम घोषित हुँदै सिल्डसहित नगद ९ हजार प्रदान गरेको खेल संयोजक विनोद गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशम जुग्जाली मगर, क्लबका निवर्तमान अध्यक्ष विजया गुरुङ, सल्लाहकार, राधा गुरुङ, क्लबका अध्यक्ष असिम थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

मन्त्री जुग्जाली मगरले पोखराको परिचय पर्यटनमात्रै नभएर खेलकुदको पनि अहम भूमिका रहेको धारणा राखे । उनले क्लबले रचनात्मक कार्य गर्दै आएको बताउँदै आगामी दिनमा समेत निरन्तर काम गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी वर्षको नीति तथा कार्यक्रममा पोखरा लगायत ११ वटै जिल्लाको खेल गतिविधिलाई पर्यटनसँग जोड्न प्रयास गर्ने प्रतिबद्धता गरे ।

उनले खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमा प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राख्दै राखे । स्थानीय क्लबले खेलकुदको विकासमा योगदान गरेको भन्दै आगामी आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताएका थिए ।

तपाईको प्रतिक्रिया