विकासका लागि हातेमालो गर्न वडाध्यक्ष थापाकाे आग्रह

समाधान संवाददाता २०७९ फागुन २ गते ११:२३

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले वडाको विकासको लागि हातेमालो गर्न वडाका संघसंस्था र वडावासीहरुमा आग्रह गरेका छन् ।

Advertisement

सिर्जनशील टोल विकासबाट लक्ष्मी मार्ग हुँदै उद्धार मार्ग चोक ढलान योजनाको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय संघ संस्था र नागरिकको सहयोगबिना सरकारले सञ्चालन गर्ने योजनाहरु सफल हुन नसक्ने उनले सुनाए ।

हरेक विकास निर्माणमा योजनाहरुलाई सफल बनाउन टोलविकास संस्था, आमा समूह, युवा क्लब लगायत सामाजिक संघसंस्था र वडावासीले हातेमालो गर्नुपर्ने उनको आग्रह थियो ।

सडकका लागि वडा नम्बर २६ ले महानगर स्तरीय योजना अन्तर्गत ८ लाख रुपैयाँ विनियोजन गरेको छ । उपभोक्ताको तर्फबाट ३ लाख ४४ हजार ९ सय ६२ रुपैया रुपैयाँ गरी ११ लाख ४४ हजार ९ सय ६२ रुपैयाँको लागतमा सडक निर्माण हुन लागेको हो ।

सडक निर्माणका लागि गणेशभक्त अधिकारीको अध्यक्षतामा उपभोक्ता समितिको गठन गरिएको छ । कार्यक्रममा निर्माण समितिका अध्यक्ष अधिकारीले वडाले स्थानीयको योजनालाई सम्वोधन गरेको उल्लेख गर्दै वडा सरकारको अनुभूति गर्न पाएको उल्लेख गरे ।

Advertisement

कार्यक्रममा न्यू ऐरा एकेडेमीका प्राचार्य वेदप्रसाद बस्ताकोटी, नेपाल रेडक्रस सोसाइटी लेखनाथ उप–शाखाका अध्यक्ष तिलकशाली सापकोटा, पृथ्वीनारायण क्याम्पस वनस्पती विभागका प्रमुख नारायणदत्त बस्ताकोटी, अर्घौंपौवा नेवा खलःका अध्यक्ष प्रकाशलाल श्रेष्ठ, सिर्जनशील महिला समूहकी उपाध्यक्ष अम्बिका सापकोटा लगायतले बोलेका थिए ।

कार्यक्रममा सिर्जनशील टोल विकास संस्थाका अध्यक्ष हरिबहादुर लामिछानेले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव धर्मदत्त पौडेलले गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर २६ मा चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाहरु उपभोक्ता समिति गठन भई धमाधम सुरु भएका छन् ।

तपाईको प्रतिक्रिया