हुर्जामा यशकुमारीको सम्झना

समाधान संवाददाता २०७९ फागुन २ गते ११:४८

पोखरा ।
मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले सामाजिक अभियन्ता यशकुमारी जिसीको ३४ औं स्मृति दिवस विविध कार्यक्रम गरेको छ ।

संस्थाले महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील रहेकै बेला ०४५ फागुन १ गतेका दिन निधन भएकी जिसीको सम्झना गरेको हो ।

पोखरा१९ मा २०१४ कात्तिक १३ गते जन्मेकी जिसी महिला तथा बालबालिका विकास कार्यालयमा प्रमुखका रूपमा कार्यरत थिइन् ।

Advertisement

महिला प्रशिक्षण केन्द्र जावलाखेलको २०३९ सालको पहिलो ब्याचका रुपमा रहेका जिसीले ग्रामीण महिलाको पेवा बढाउने, समूह गठन र महिलाको विना धितो लगानी, कृषितर्फ अदुवा, तरकारी, वेसा, कफी खेती, रेशम कीरापालन, बाख्रा, भैंसी, कुखुरापालन, उद्योगतर्फ पाउरोटी, गलैँचा सिलाइबुनाइ तालिम प्रदान गर्दै महिला सशक्तीकरण र अधिकारका क्षेत्रमा क्रियाशील थिइन् ।

स्याङ्जाको वालिङमा सेवारत रहेकै समयमा ०४५ फागुन १ गते उनको निधन भएको थियो । उनको योगदानलाई चिरस्थायी गराउनका लागि यशकुमारीको स्मृतिमा भाइ सविन जिसीको सक्रियतामा परिवारजनले हुर्जाले सञ्चालन गर्ने र अधिवेशनमा पुरस्कार अर्पण गर्ने गरी यशकुमारी जिसी स्मृति अक्षयकोष स्थापना गरेका छन् । उक्त पुरस्कारबाट यसपालि अधिकारकर्मी प्रमिला तझ्या र सानुमाया गुरुङ पुरस्कृत भइसकेका छन् ।

Advertisement

सभामा संस्थापक अध्यक्ष कृष्णअन्जान ज्ञवालीले यशकुमारीको योगदानलाई जीवन्त तुल्याउन हुर्जा निरन्तर क्रियाशील रहने बताए । यशकुमारी स्मृति कोषका संस्थापक सविन जिसीले यशकुमारीको योगदानलाई जीवन्त तुल्याउन हुर्जाले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।

सभामा हुर्जाका निवर्तमान अध्यक्ष राजेश पराजुली, उपाध्यक्ष वीरेन्द्र सापकोटा, सदस्य सत्यता ख्याउजु, सरिता गुरुङ लगायतले यशकुमारीको योगदानबारे चर्चा गरेका थिए ।

सोमबारै बसेको संस्थाको बैठकले आसन्न अधिवेशनका लागि सदस्यता नवीकरण, साधारण तथा आजीवन सदस्यता वितरणका साथै प्रतिभा आह्वानका लागि सूचना जारी र छनोट समिति गठन लगायतका विविध निर्णयसमेत गरेको महासचिव सुशील श्रेष्ठले जानकारी दिए ।

संस्थाले १५ हजार १५ राशिको यशकुमारी जिसी स्मृति पुरस्कारका साथै ११ हजार १ सय ११ राशिका विविध पुरस्कारसहित विशिष्ट संस्था सम्मानसमेत अर्पण गर्दै आएको छ ।

मानवअधिकार आवाज मुखपत्र यसले प्रकाशन गर्दै आएको छ । हालसम्म मानवअधिकार आवाजका १० अंक प्रकाशन भइसकेको पूर्वअध्यक्ष राजेश पराजुली बताउँछन् ।

अध्यक्ष असफल गौतमले हालसम्म मानवअधिकार पत्रकारिता पुरस्कारबाट श्यामनाथ कुँवर, स्मीता अधिकारी, श्रीकान्त सापकोटा, सहयात्रा सम्मानबाट मतिलाल विशंखे, सीता जिसी सम्मानित भइसकेको जानकारी गराए ।

हुर्जाले संस्थागत सम्मानबाट राष्ट्रिय मानवअधिकार आयोग गण्डकी, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, आदर्श समाज राष्ट्रिय दैनिक, परिवर्तन नेपाल, सयपत्री समाज, समाजसेवा सम्मानबाट चन्दबहादुर गुरुङ, कृष्णअन्जान ज्ञवाली, बालअधिकारकर्मीबाट एलिना गुरुङलाई सम्मानित र पुरस्कृत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया