भूगोल इनर्जीको आइपिओ आउँदै

समाधान संवाददाता २०७९ फागुन २ गते १२:२५

काठमाडौं ।
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४ सयको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३ सय बराबरका प्रतिशेयर १ सय दरका ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र दैलेखका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।

त्यसमा अतिप्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी ३ का बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता र प्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी ३ बाहेकका बासिन्दाका लागि २ लाख ७२ हजार २७ कित्ता छुट्याइएको छ ।

Advertisement

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुने १ लाख ८ हजार ८ सय ११ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।

स्थानीय लगानिकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन बन्द छिटोमा यही फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ७ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ३० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्ने छ ।

Advertisement

स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, एनआइसी एसिया बैंक, प्रभु बैंक र ग्लोबल आइएमइ बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले दैलेखको नौमुले–३ मा ३ दशमलव ७५ मेगावाट क्षमताको द्वारी खोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ वैशाख २३ देखि सञ्चालनमा आइसकेको छ । आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८ सय ८ रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया