प्राविधिक र व्यावहारिक ज्ञान जरुरीः मेयर आचार्य

लेखनाथ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले किताबी ज्ञानका साथमा व्यवहारिक र प्राविधिक सिकाई आवश्यक रहेको बताएका छन् ।
पोखरा २६ मा रहेको सिर्जना बहिरा आवासीय माध्यामिक विद्यालयको सोमबार भएको ३५ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा प्रमुख आचार्यले संस्कार, शिक्षा, सिकाई र संस्कृतिको सही प्रयोगले मात्र विद्यार्थीको भविश्य उज्ज्वल हुने विश्वास व्यक्त गरे ।
फरक क्षमता भएका विद्यार्थीका लागि महानगरपालिकाले विशेष योजना ल्याउने उनले प्रतिवद्धता गरे । कार्यक्रममा गण्डकी बहिरा संघका अध्यक्ष आइलाल शाही, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्ण थापा, वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापा, पोखरा महानगरपालिका शिक्षा महासाखाका वरिष्ठ अधिकृत विश्वराज आचार्य, भवानी कालिका माविका प्रधानाध्यापक रमेश भट्टराई, लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, विद्यालयका पूर्व प्रधानाध्यापक विश्वराज बास्तोला, लेखनाथ युवा क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिप्रसाद बराल, निवर्तमान अध्यक्ष ऋषिराम पौडेल, सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद शर्मा र सिर्जनशील समाज लेखनाथका सल्लाहकार गणेशभक्त अधिकारी लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक अनिता सिग्देलले विद्यालयको वार्षिक प्रतिवेदन र भावी योजनाबारे प्रकाश पारिन् । सो अवसरमा २५ वर्षे सेवा अवधि पूरा गरेकी शिक्षक उमा गोशेली श्रेष्ठलाई दीर्घ सेवा पदक प्रदान गरियो ।
विसं. २०४४ सालमा स्थापना भएको यो विद्यालयले २०५४ मा निमावि तह, २०५७ मा मावि र २०६३ देखि कक्षा ११ र १२ कक्षा सञ्चालन गर्दै आएको छ । हाल नर्सरीदेखि १२ सम्मको पढाइ. हुने विद्यालयमा ४६ जिल्लाका २ सय ४१ विद्यार्थी छन् ।
तपाईको प्रतिक्रिया