सांसद विकास कोष निरन्तरताकाे संकेत

पोखरा ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा मगरले गण्डकीमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम (सांसद विकास कोष) सुरु हुने संकेत गरेका छन् । मंगलबार मन्त्रालयले पत्रकारसँग आयोजना गरेको अन्तक्र्रियामा उनले प्रक्रिया जारी रहेकाले सकिएपछि औपचारिक जानकारी दिने उल्लेख गरे ।
कार्यक्रममा कानुन मन्त्री गाहामगरले आफू मिडियामैत्री रहेको सुनाए । मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारको राय र प्रतिक्रिया अनुसार अगाडि बढ्ने उनले प्रष्ट पारे । ‘मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौं,’ उनले भने, ‘मन्त्रालयका सचिव, सम्बन्धित विषयका कर्मचारीसँग आवश्यक छलफल गरेर यहाँहरुको समस्या सम्बोधन गर्ने कुरामा म सकारात्मक छु । यहाँहरुको रायअनुसार नै अघि बढ्नेछु ।’
उनले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी अनुसार कार्यसम्पादन चुस्त तवरले गर्ने आश्वासन दिए । मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिए पनि त्योभन्दा अगावै सार्वजनिक गर्ने परम्परा बसाल्ने उनको आश्वासन छ ।
उनले भर्खरैमात्र मन्त्रालय सम्हालेकाले मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको सुनाए । ‘मन्त्रालयहरु समायोजन भएका छन् । कर्मचारीको व्यवस्थापन पनि भइरहेको छ । त्यसैले केही दिनमै यी काम सकिन्छन् । त्यसपछि नीतिगत रुपमा कामअगाडि बढ्नेछ,’ मन्त्री गाहामगरले भने ।
उनले मन्त्रालयले वितरण गर्दै आएको लोक कल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्ने जनाए । आगामी दिनमा समेत पत्रकारहरुसँग समन्वय र सहकार्य गर्दै सकरात्मक काममा अघि बढ्ने उनले प्रतिवद्धता गरे । कार्यक्रममा मन्त्रालयले हालसम्म गरेका गतिविधिबारे सचिव बद्रिनाथ अधिकारीले जानकारी दिएका थिए ।
तपाईको प्रतिक्रिया