न हिउँ, न हिउँदे वर्षा

समाधान संवाददाता २०७९ फागुन ३ गते ११:५७

हिउँदयाम सकिन लाग्दा समेत नेपालको मुस्ताङ लगायत अधिकासं हिमाली क्षेत्रमा हिउँ परेको छैन । यष वर्ष फागुनको पहिलो सातासम्म पनि हिउँदे वर्षात हुने छाँटकाट छैन । कर्णाली प्रदेशको केही हिमाली जिल्लामा आंसिक रुपमा मात्र हिमपात भएको छ । केही उच्च पहाडी तथा पहाडी जिल्लामा हल्का वर्षात मात्र भएको मौसम पूर्वानुमान महाशाखाको विवरणमा उल्लेख छ ।

Advertisement

हिउँ नपर्दा हिमाली क्षेत्रको हिउँदे खेती प्रभावित भएको छ । सिचाई सुविधा नभएका उच्च पहाडी, पहाडी क्षेत्रको हिउँदे खेती पातीलाई समेत प्रत्यक्ष असर परेको छ । यष वर्ष हिउँदमा हिमपात नभएकोले किसानलाई बालीनालीको चिन्ता छ । हिउँ नपर्दा हिमाली क्षेत्रको कृषि तथा फलफुल खेतीलाई प्रत्यक्ष असर परेको छ ।

पर्यटन व्यवसायीसमेत निरास छन् । हिउँदमा हिउँले रमणीय देखिने हिमाली जिल्लाका पर्यटकीय गन्तव्य समेत अहिले सुनसान छन् । हिउँ नपर्दा हिमाली क्षेत्रको रौनक घटेको छ । हिउँ खेल्ने, हिउँ हेर्न आउने पर्यटक घटेका छन् । हिमपात र वर्षा नहुँदा बाली प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ ।

हिउँदमा हिमपात र वर्षा नहुँदा हिउँदे बालीको मात्रा र गुणस्तर खस्केको छ । मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङका उच्च उचाइमा लगाइने हिउँदे बालीमा प्रत्यक्ष असर परेको छ । विश्वव्यापी उष्णता तथा जलवायु परिवर्तनको असर हिमाली जिल्लामा देखिन थालेको छ । विगत १० वर्षको हिमपातको ग्राफ हेर्दा मुस्ताङका कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात हुने र कुनै वर्ष हिमपात ज्यादै न्यून पर्ने गरेको पाइएको छ ।

हिउँकै कारण हिमाली क्षेत्रको जनजीवनसमेत प्रभावित हुन्छ । हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि हुँदै जाँदा यहाँको कृषि क्षेत्रसमेत प्रभावित बन्दै गइरहेको छ । हिउँदयामको हिउँलाई कृषकले अर्गानिक मलको रुपमा लिने गर्छन् । कुलो र नदीबाट सिँचाइ गरिएको पानी भन्दा हिउँदयामको हिउँले खेतबारी सिञ्चित गर्दा जमिनको उर्वराशक्तिलाई मजबुत पारिदिन्छ भने जमिनको भित्री सतहको माटोसमेत हिउँले जमिनलाई रिचार्ज गर्छ भन्ने मान्यता छ ।

Advertisement

हिमालमा पर्ने हिउँ तथा हिउँद महिनामा पर्ने वर्षात मानव जिवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । हिउँ परे तथा वर्षात भए हिमालमा हिउँ थपिन्छ, कृषि तथा फलफुल उत्पादन बढ्छ । हिमनदीको बहाव बढ्छ । खानेपानीका मुहान फस्टाउँछ । हिउँदे वर्षातले वायुमण्डलको धुलो मैलो हटाउनेदेखि खेतीपातीलाई मलको काम गर्छ । वातावरण सन्तुलन कायम राख्न मद्दत गर्छ । हिउँद याममा वर्षात नभए तथा हिउँ नपरे हिमालहरु काला पहाडमा रुपान्तरण हुन बेर लाग्दैन ।

तपाईको प्रतिक्रिया