गण्डकी प्रदेश स्थापना दिवस

प्रदेश आफ्नै बुतामा उभिनुपर्छ

समाधान संवाददाता २०७९ फागुन ४ गते ११:२४

देश संघीयतामा गइसकेपछि दोस्रोपटक जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । यसअघि केन्द्रमा सरकार छँदै थियो, स्थानीय रुपमा स्थानीय निकायहरु क्रियाशील थिए । यो बीचमा एकैपटक प्रदेश सरकार बन्यो । शून्यबाट सुरु भएका प्रदेश सरकारहरु विभिन्न कठिनाइ झेल्दैअघि बढे । गण्डकी प्रदेशले आज स्थापना दिवस मनाउँदै छ ।

पहिल्यै स्थापित भइसकेका संघ र स्थानीय सरकारले प्रदेशलाई उचित साथ, सहकार्य र काम गर्ने वातावरण बनाइदिएको देखिएन । प्रदेशलाई बलियो बनाउन संविधानमा लेखिएका अधिकार दिनुपर्छ । संविधानमा उल्लेख भएका प्रदेशका एकल अधिकार, संघ र स्थानीय तहसँग साझेदारी गर्नुपर्ने साझा अधिकारका सूचीमा पनि प्रदेशले कति पाउने भन्ने निक्र्याेल हुन जरुरी छ ।

संघीयताको सुन्दर र कार्यान्वयन गर्न वास्तविक ठाउँ प्रदेश सरकार नै भएको पुष्टि भइसकेको छ
सुरेन्द्रराज पाण्डे
प्रमुख प्रतिपक्ष दलका नेता, गण्डकी प्रदेश

Advertisement

साझा अधिकारमा संघले के गर्ने, स्थानीयले के लिने र प्रदेशले के पाउने पक्का हुँदै बाँकी छ । अझैसम्म पनि संघले कानुन नबनाएकाले प्रदेशले कानुनहरु बनाउन पाएको छैन । अधिकार पाएको छैन । प्रदेशले पनि कानुन बनाएर स्थानीय तहलाई कानुन बनाउने बाटो खोलिदिनुपर्छ ।

तीन तहकै सरकारबीच आपसी समन्वय र सहकार्यबिना न समृद्धिको दिशामा जान सकिन्छ, न त संघीयता बलियो हुन्छ । गण्डकीलाई समृद्ध र आत्मनिर्भर बनाउन यसका सम्भावनाका क्षेत्रहरु निर्धारण हुनपर्छः जस्तो पर्यटन, कृषि, विद्युत । अहिले हाम्रा आवश्यकता र चाहना धेरै छन् ।

Advertisement

हामीसँग स्रोत, साधन र आम्दानी कम छ । यो अवस्थामा प्रदेश सरकारलाई आफ्नै बुतामा उभिन सक्ने बनाउन योजना र आवश्यकताहरुको प्राथमिकीकरण जरुरी छ । विकास र समृद्धिका लागि निश्चित मान्यता र दायराबाट माथि उठ्नुपर्छ । हामी सत्ता पक्ष वा प्रतिपक्ष नभनी गण्डकीलाई आफैं उभिन सक्ने बनाउन चाहन्छौं । विगतको कार्यकालमा कानुनहरु थिएनन्, अनुभव थिएन ।

केही कमी, कमजोरी भए । बेला बेलामा सरकार परिवर्तनले पनि विकासको लयलाई प्रभावित बनायो । राजनीतिक समीकरणमा बदलाव आउँदा सरकारहरु फेरिए । पहिलो कार्यकालमा केही कमजोरी भए । यसपालिको कार्यकालको मूल्यांकन गर्ने बेला भएको छैन । हामी भर्खरै काम सुरु गर्दै छौं ।

सरकारले पूर्णता पाएपछि बल्ल पहिलो संसद अधिवेशन हुँदै छ । विगतको सिंहावलोकन गर्दै अघि बढेर जनताका आकांक्षा पूरा गर्न हामी लाग्नुपर्छ । विकास र समृद्धिका लागि हामी सत्ता पक्ष वा प्रतिपक्ष भन्ने वाला छैनौं । गण्डकी प्रदेशसभामा रहेका अन्य दल पनि यही मार्गमा आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।

अब कसैलाई गाली गरेर वा विगतको कामको आलोचना गरेर पार पाइने अवस्था छैन । हामीले नै व्यवहारमा के डेलिभरी गर्छाैं, त्यसैको आधारमा हाम्रो मूल्यांकन हुने हो । संघीयताको सुन्दर र कार्यान्वयन गर्न वास्तविक ठाउँ प्रदेश सरकार नै भएको पुष्टि भइसकेको छ । यसलाई बलियो बनाउन संघ र केन्द्र सरकार, यहाँका राजनीतिक दल, कर्मचारी, नागरिक सबैको प्रयास जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया