गुमनाम घरपझोङ किल्ला

सुन्दरकुमार थकाली २०७९ फागुन ५ गते ११:१०

जोमसोम ।
मुस्ताङ सदरमुकाम जोमसोमदेखि कालिगण्डकी नदी पारी अग्लो र भिरालो भूभाग छ । जुन क्षेत्रको नाम हो घरपझोङ किल्ला । यो किल्ला करिब ७ सय पुरानो हो । यो किल्ला तीन गाउँले थकाली जातिको उद्गमस्थल पनि हो । घरपझोङ किल्लाको शाब्दिक अर्थ हो मन पराएको अथवा मनले चिताएको सुन्दर ठाउँ । तर, एक थरीले अग्लो स्थानलाई घरप र किल्लालाई झोङ भन्ने गरिएकाले यस स्थानको नाम घरपझोङ किल्ला रहन गएको बताइन्छ ।

Advertisement

सदिंयौं वर्ष पहिले परापूर्व कालमा बाइसे र चौबिसे राजाहरूको पालामा घरपझोङ किल्लामा मुस्ताङको घरपझोङ ५ ठिनीका तीन आँखे राजा ग्यल धाङमेचेनले राज्य गर्थे भन्ने धार्मिक किंवदन्ती छ । तीन गाउँले थकाली समुदायको ऐतिहासिक पूर्वजको बस्तीका रूपमा घरपझोङ किल्लालाई लिने गरिएको थाक ५ गाउँ उद्दार समितिका पूर्व अध्यक्ष कुलप्रसाद थकालीले बताए ।

किल्लामा अहिले विद्यमान रहेको स्याङ, ठिनी, मार्फा, छैरो र चिमाङ बस्तीका थकालीको उद्गमस्थल रहेको पूर्व अध्यक्ष थकालीको भनाइ छ । यही किल्लालाई थाक ५ गाउँमा बसोबास गरेका थकालीले पूख्यौली थलोका रूपमा लिने गरेको उनले उल्लेख गरे । ऐतिहासिक घरपझोङ किल्ला समुन्द्री सतहदेखि करिव ३८ सय मिटर उचाइमा अवस्थित छ। यही किल्लामा बसेर त्यसबेला ठिनीका राजा ग्यल धाङमेचेनले राजकाज गर्थे भन्ने भनाइ छ ।

त्यही किल्लामा थकालीहरूको बसोबास रहेको थियो । किल्ला वरपरको भिरालो सतहमा त्यसबेला सख्खर माटोले निर्माण गरिएका केही घरहरूको भग्नावशेष अझै पनि देख्न पाइन्छ । त्यस समय एक राज्य अर्को राज्यसँग युद्ध आक्रमण गर्दा सहज हुने भएकाले ठिनीका राजा ग्यल धाङमेचेनले घरपझोङ किल्लालाई उपयुक्त स्थान बनाएका थिए ।

घरपझोङ किल्लाबाट बस्ती विस्थापित भइसकेको पनि सयौं वर्ष भइसकेको छ । त्यहाँबाट विस्थापित भइसकेका थकालीहरू ५ गाउँमा स्थान्तरण भइसकेपछि घरपझोङ किल्ला मानवविहीन भयो । यद्यपि त्यहाँबाट बिस्थापित भएका थकालीहरूले घरपझोङ किल्लालाई ऐतिहासिक तथा धार्मिक स्थलका रूपमा लिने गरेको पाइएको छ ।

Advertisement

सदरमुकामदेखि २ किमी दूरी यात्रा गरेपछि त्यहाँ पुगिन्छ । यहाँबाट जोमसोम, स्याङ, ठिनी, मार्फा, ढुम्बाताल, कुछप तेरङगा गुम्बा लगायतका स्थान निकै आर्कषण स्थल देखिन्छन् । पर्यटकीय स्थल ढुम्बाताल अवलोकन गर्ने आन्तरिक पर्यटकले घरपझोङ किल्लाको समेत सहजै अवलोकन गर्न सकिने ठिनीका स्थानीय युवा निरज थकालीले जानकारी दिए ।

घरपझोङ किल्लामा थाक ५ गाउँ उद्दार समितिले २०५८ सालमा धार्मिक बुद्धिस स्तूपा निर्माण गरेका थिए । यसरी निर्माण गरिएको स्तुफा पुरानो भइसकेकाले जीर्ण अवस्थामा थियो । जीर्ण स्तूपा दुई वर्षअघि थाक ५ गाउँ उद्दार समितिकै पहलमा जिर्णोद्धार गरिएको घरपझोङ गापाका पूर्व अध्यक्ष आशबहादुर थकालीले बताए ।

घरपझोङ किल्लालाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले संघीय, प्रदेश र स्थानीय तहको बजेटमार्फत त्यहाँ हरियाली बगैँचा, रेलिङसहितको पदमार्ग, सूचना केन्द्र, विश्रामस्थल जस्ता पर्यटनमैत्री पूर्वाधार निर्माण गरिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया