प्रदेश स्तरीय आर्चरीमा मगरद्वयलाई उपाधि

पोखरा ।
गण्डकी प्रदेश स्तरीय दोस्रो खुला आर्चरी प्रतियोगिता २०७९ अन्तर्गत रिकर्ब खुला पुरुष प्रतिस्पर्धामा बागलुङका दुर्गा घर्तीमगर प्रथम भएका छन् । पहिलो दिनको खेलमा तेस्रो स्थानमा रहेका उनले दोस्रो दिनको खेलमा ६—० को अंकले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई पराजित गरी जित हासिल गरेका हुन् । खड्ग दोस्रो भए ।
कास्की जिल्ला आर्चरी संघको सह—आयोजनामा पोखरा रगंशालाको आर्चरी खेल मैदानमा भएको खेलमा कास्कीका सुमन गुरुङ ६—४ को अंकमा कास्कीकै असीम शेरचनलाई पछि पार्दै तेस्रो भए । त्यसैगरी रिकर्ब खुला महिलातर्फको प्रतिस्पर्धामा कास्कीले जित हासिल गरेको छ ।
शनिबारको खेलमा कास्कीकी केशरीमाया आले मगरले कास्कीकै अनुश्का शेरचनलाई ७—३ को अंकमा पराजित गर्दै उपाधि जितिन् । अनुश्का दोस्रो भइन् । कास्कीकी रोजिना थापाले कास्कीकै विष्णुमाया लिम्बुलाई ६—४ को अंकले पराजित गर्दै तेस्रो भइन् ।
पुरुष स्ट्यान्डर्डतर्फको विधामा बागलुङका हिक्मत पुरीले कास्कीका कुमार पुर्जालाई ६—२ को अंकमा पराजित गरी उपाधि जिते । बागलुङका मुकेश रोका मगर रेशम पुर्जा पुनलाई ७—५ को अंकमा पराजित गरी तेस्रो भए । प्रतियोगितामा रिकर्ब ओपन पुरुषतर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १५ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।
रिकर्ब ओपन महिलातर्फ विजेतालाई भने १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई ५ हजार प्रदान गरिएको थियो । स्ट्यान्डर्ड पुरुषतर्फ विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १० हजार प्रदान गरिएको छ । उक्त प्रतियोगिता अन्तर्गत शुक्रबार भएको भेट्रान्सतर्फको विधामा म्याग्दीका जयप्रकाश छन्त्याल प्रथम भए ।
विजयी खेलाडीहरुलाई संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ, संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, अन्नपूर्ण आर्चरी क्लब कास्कीका पूर्व अध्यक्ष मीनबहादुर शेरचन, पूर्व अध्यक्ष वसन्त थकाली लगायतले पुरस्कार वितरण गरेका थिए । कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, म्याग्दी बागलुङ र कास्कीबाट करिब ८९ जना खेलाडीहरुको सहभागिता भएकोे कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । भेट्रान्स पुरुषतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रदेश खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना भएको उक्त प्रतियोगितामा मुख्य आर्थिक सहयोगी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र पोखरा महानगरपालिका रहेको संघले जनाएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी संघको समन्वयमा र अन्नपूर्ण आर्चरी क्लबको व्यवस्थापन सञ्चालन भएको उक्त प्रतियोगिताको सहआयोजक कास्की जिल्ला आर्चरी संघ थियो ।
तपाईको प्रतिक्रिया