संगठनको नटबोल्ट कस्न एमालेकाे अभियान

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले ‘मिसन ग्रासरुट’(पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९) लाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय गरेको छ । कमिटीको शनिबार बसेको १२ औं पूर्ण बैठकले २ महिने अभियानमा भूगोलमा खट्ने प्रदेश कमिटीका सचिवालय सदस्य तथा कमिटीका सदस्यको कार्यविभाजनसमेत गरेको छ ।
पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवालीले गण्डकी प्रदेशमा मिसन ग्रास रुट अभियानलाई प्रभावकारी ढंगले अघि बढाइने बताए । पछिल्लो अवधिमा पार्टीमा खिया लागेको तथा कमिटीका नटबोल्ट खुकुलो भएको उल्लेख गर्दै उनले अभियानले पार्टी कमिटीलाई व्यवस्थित र चुस्त, दुरुस्त बनाउने दाबी गरे ।
‘अहिले पार्टीमा संस्थागत रुपमा गुटबन्दी छैन । स्थानीय तह तथा आम निर्वाचनमा घात, अन्तर्घात बढी भएकाले पार्टीले अपेक्षित परिणाम ल्याउन सकेन,’उ पाध्यक्ष ज्ञवालीले भने, ‘मिसन ग्रास रुट अभियानले पार्टीमा मौलाएको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई अन्त्य गर्ने छ ।’ उनले पार्टीमा मौलाउँदै गरेको अराजकता र अनुशासन हिनतालाई हटाउन नियमित रुपमा शुद्धिकरण अभियान सञ्चालन गर्नुपर्ने बताए ।
फरक प्रसंगमा उपाध्यक्ष ज्ञवालीले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारभन्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तुलनात्मक रुपमा प्रगतिशील भएको दाबी गरे । उनले दलाल पुँजीपतिको प्रतिनिधित्व गरेको नेपाली कांग्रेससँग एमालेले सधै प्रतिस्पर्धा गर्ने उल्लेख गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय कमिटी सचिव पद्माकुमारी अर्याल, स्थायी कमिटीका सदस्यहरु किरण गुरुङ, थममाया थापा, स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमम नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडीले ग्रास रुट अभियानका बारेमा प्रकाश पारे ।
तपाईको प्रतिक्रिया