घनश्याम सांस्कृतिक योद्धा

समाधान संवाददाता २०७९ फागुन ७ गते ११:०५

पोखरा ।
पछिल्लो समय प्रगतिवादी/प्रगतिशील चिन्तन र व्यवहार दुवै कमजोर हुँदै गएका छन् । यसले राजनीतिक र सामाजिक आन्दोलनमा क्षति पुगेको विश्लेषण हुँदै छ । शनिबार पोखरामा भएको एक कार्यक्रमका वक्ताहरु पनि यसमा सहमत देखिए ।

घनश्याम सांस्कृतिक प्रतिष्ठान र गण्डकी साहित्य संगमले संयुक्त रुपमा गरेको कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।
ढकालको ११ औं स्मृति दिवसको सन्दर्भभा भएको कार्यक्रमका वक्ताहरुले उनलाई सांस्कृतिक योद्धा र चिन्तकका रुपमा सम्झिए ।

ढकालका विविध सिर्जनात्मक आयामबारे वक्ताहरुले प्रकाश पारे । समालोचक निनु चापागार्ईंले ढकालका फुटकर निबन्ध, लेख र अन्तर्वार्तामा व्यक्त संस्कृति–चिन्तनको सान्दर्भिकताबारे चर्चा गरे । उनले माक्र्सवादी सौन्दर्यको बाटोमा लेखक, साहित्यकार र राजनीतिक नेतृत्व नहिडेकोमा असन्तोष जनाए । उनले भने, ‘हामी उल्टो बाटोतिर लागे जस्तो भएको छ, आन्दोलन अल्मलिएको छ, सांस्कृतिकर्मीहरुको दायित्व अझै बढेको छ ।’

Advertisement

समोलचक डा अमर गिरीले माक्र्सवादी सौन्दर्य चिन्तनका क्षेत्रमा घनश्यामले पु¥याएको योगदान अतुलनीय रहेको बताए । उनले भने, ‘उहाँ एउटा आन्दोलनसँग आवद्ध लेखक हुनुहुन्थ्यो । त्यो आन्दोलन र माक्र्सवादको मुल मान्यता अनुरुप उहाँले साहित्य र समालोचना दुवैतिर ठूलो योगदान गर्नुभएको छ ।’

कार्यक्रमाम ढकालको आख्यान लेखन र प्रवृत्तिबारे समालोचक प्राज्ञ डा कृष्णराज अधिकारीले विश्लेषण गरे । जनयुद्धपूर्व, जनयुद्धअवधि र जनयुद्धोत्तर समयका ढकालका कथामा पाइने विषेशताबारे उनले प्रकाश पारे ।

Advertisement

कवि कल्पना चिलुवालले ढकाल सौन्दर्य चिन्तक, लेखक र संगठक भएको बताइन् । कार्यक्रममा संगम सांस्कृतिक मञ्चका कलाकारहरू काजी गाउँले, विकास लुंगेली, रुपिन्द्र प्रभावी कटु लगायतले घनश्याम ढकालका गीतिरचना प्रस्तुत गरे । गायक विकास लुंगेलीले घनश्यामकै बारेमा तयार गरेको गीत “कमरेड घनश्याम, सम्मान तिमीलाई’ सुनाए ।

संगीतद्वारा लयबद्ध तथा ढकालरचित फेरि भेट हुँदैन बोलको गीत गायक काजी गाउँलेले प्रस्तुत गरे । भावनाका छालहरू गीतिसंग्रहबाट कवि कटुले लोकलयको गीत गाए । गोष्ठीमा घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका सचिव विष्णु भण्डारीले अनेक संकीर्ण सीमामा बाँधिएका प्रगतिवादी साहित्यकार समान उद्देश्यका लागि एकत्रित हुनुपर्नेमा जोड दिए ।

गण्डकी साहित्य संगम पोखराका अध्यक्ष भीम रानाभाटले ढकालको योगदान साहित्य, समालोचना, सम्पादन र पार्टी संगठन सबैतिर चिर स्मरणीय रहेको बताए । कथा, निबन्ध, उपन्यास, समालोचना, कविता गरी डेढ दर्जन पुस्तक लेखन तथा सम्पादन गरेका साहित्यकार ढकालको २०६८ सालमा जनयुद्ध दिवस मनाउन जाँदै गर्दा मोटरसाइकलको ठक्करबाट काठमाडौंमा निधन भएको थियो । त्यस बेला उनी प्रगतिशील लेखक संघ र अखिल नेपाल लेखक संघका अध्यक्ष थिए ।

तपाईको प्रतिक्रिया