शुद्ध खानेपानी मौलिक हकः मेयर आचार्य

समाधान संवाददाता २०७९ फागुन ७ गते ११:३५

पोखरा ।
पोखरा १९ पुरुन्चौर स्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवन शिलान्यास भएको छ । भवन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार रैकरमा शिलान्यास गरेका हुन् । खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको उनले जनाए ।

Advertisement

पानीको उपलब्धतामात्र पर्याप्त नभई स्वच्छतासमेत उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ । ‘खानेपानीलाई संविधानको मौलिक हकमा राखिएको छ, शुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो,’ प्रमुख आचार्यले भने, ‘अब यसको उपलब्धतामात्र होइन, शुद्धताको अभियानमा हामी छौं ।’

हाल सञ्चालनमा रहेका खानेपानीका आयोजना समयमा नै सम्पन्न गरी धाराबाटै पिउन मिल्ने गरी शुद्ध खानेपानी उपलब्ध गराउन आफू प्रतिवद्ध रहेको उनले सुनाए । पोखरा महानगरपालिका क्षेत्रमा वितरण गरिएको खानेपानीको शुद्धिकरणका लागि जाइकासँगको समन्वयमा काम भइरहेको उनले जनाए । ‘सहर होस् या गाउँ, अब घर घरमा धारामात्र होइन, धारामा आउने पानीसमेत शुद्ध हुनै पर्छ ।’

उपभोक्ता समिति अध्यक्ष माधवप्रसाद पौडेलले खानेपानीका लागि विगतमा निकै दुख झेल्नु परेको सुनाए । ‘हिजोका दिनमा यस क्षेत्रमा बसोबास गर्ने मानिसका लागि खानेपानीको निकै समस्या रहेको थियो,’ पौडेलले थपे, ‘तर स्थानीयको सक्रियता र सम्बन्धित निकायको सहयोगले विभिन्न आयोजना सञ्चालन गरिएपछि अहिले धेरै राहत मिलेको छ ।’

खानेपानी व्यवस्थापनका लागि कार्यालय भवन आवश्यक रहेकोमा त्यो पनि बनेपछि पुरन्चौर क्षेत्रको खानेपानी वितरण थप सहज हुने उनले विश्वास व्यक्त गरे । बहुउद्देश्यीय भवनका रूपमा निर्माण गर्न लागिएको भवनमा गण्डकी प्रदेश सरकारको समेत लगानी छ । यस भवनले त्यस क्षेत्रका ४ सय १५ घर, परिवार लाभान्वित हुनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया