सम्पादकीय: धौलागिरि अस्पतालको उपचार गर

समाधान संवाददाता २०७९ फागुन ७ गते १२:०१

धौलागिरि अस्पताल बागलुङ अस्पताल अहिले आफै बिरामी छ । किनभने स्रोत साधनको अभाव छ । सबैभन्दा पहिला त बिरामीको उपचारका लागि आवश्यक जनशक्ति नै छैन । अस्पतालमा न स्त्रीरोग विशेषज्ञ छन् न बालरोग विशेषज्ञ । जनरल फिजिसियनसमेत अभाव छ । मेसुबाहेक १६ विशेषज्ञ डाक्टर हुनुपर्नेमा मात्र २ जना छन् । मेडिकल अधिकृतको दरबन्दी ६ हो तर १ जनामात्र डाक्टर छन् ।

कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक, बालरोग विशेषज्ञ, रेडियोलोजिस्ट र नाक, कान, घाँटी विशेषज्ञ छैनन् । डेन्टिस्टको एकजनाको दरबन्दी हो, तर डेन्टिस्ट अध्ययन विदामा छन् । अरु कति जनशक्ति काजमा प्रदेश राजधानीतिर खटाइएका छन् । डक्टरमात्रै के कुरा स्टाफ नर्स पनि दरबन्दीअनुसार छैनन् । दरबन्दी १८ छ, नर्सचाहिँ १३ जनामात्रै छ ।

गण्डकी प्रदेश सरकारले मातहत ल्याएको अस्पतालको सेवा चुस्तदुरुस्त बनाउनुपर्ने दायित्व उसैको हो । तर अन्देखाजस्तो गरिरहेको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई धौलागिरि अस्पतालको हालतबारे भलिभाँती जानकारी छ । स्थलगत रुपमै बागलुङ पुगेर त्यहाँको अवस्था उनले बुझेका छन् । तर संघले अधिकार दिएन काम गर्न भन्ने उनको जवाफ छ । आफ्नै लोकसेवा आयोग भएको गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा आवश्यक जनशक्ति भर्ना गर्न संघले कुन अधिकार दिनुपरेको हो ?

Advertisement

संघमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेको हुँदा मुख्यमन्त्री अधिकारीबाट स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा अस्वाभाविक पक्कै हुँदैन । यसै पनि उनी आफू सफल स्वास्थ्य मन्त्री बनेको उनीनिकटस्थहरु बताउँछन् । हजारभन्दा बढी दरबन्दी नै उनका पालामा स्वास्थ्य मन्त्रालयले सिर्जना गर्न सफल भई दुरदराजसम्म पनि स्वास्थ्यकर्मी र चिकित्सक पठाइएको थियो ।

आफू मातहतको एउटा प्रादेशिक अस्पतालको जनशक्ति अभाव लगायत समस्या अधिकारीले चाहँदा पक्कै समाधान हुन्छ । उनी यसमा गम्भीर पक्कै होलान्, उनको रुचिको क्षेत्रमा पनि स्वास्थ्य हो । कट्टर समाजवादी मुख्यमन्त्रीलाई समाजवाद भनेको जनताले सुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्नु हो र त्यसका लागि निजीको भर नपर्नु हो भन्ने चेत छ । यही विश्वाससहित धौलागिरि प्रादेशिक अस्पतालको बिमार निको पारिने अपेक्षा गरौं ।

Advertisement

तपाईको प्रतिक्रिया