समयले निको पार्नेछ विमान दुर्घटनाको चोट

जुद्धबहादुर गुरुङ २०७९ फागुन ७ गते १२:१४

नेपाल विश्वकै पर्यटकीय गन्तव्य हो । अझ पोखरा आन्तरिक तथा बाह्य पर्यटकलाई प्रमुख गन्तव्य हो भन्न कसैको दुई मत नहोला । पोखरालाई नेपालको पर्यटकीय राजधानी भनिन्छ । यसलाई सडक र हवाई यातायात प्रयोग गरी पुग्ने गरिन्छ । तर एक महिनाअघि माघ १ गते यती हवाई सेवा कम्पनीको दुखद घटनाले पर्यटकहरुले असुरक्षित महसुस गरेका छन् । परिमाणस्वरुप दैनिक रुपमा यात्रुहरुको संख्या नाटकीय ढंगले संकुचन भएको छ ।

Advertisement

दैनिक ५० भन्दा बढी उडान भर्ने हवाई सेवा १० भन्दा कम संख्यामा चलिरहेको छ । यसरी हवाई सेवा कम्पनीहरुले उडानको संख्या अत्यधिक रुपमा कटौती गरेको छ । परिमाणस्वरुप केही हवाई यात्रुहरु मर्कामा परेका छन् भने काठमाडाैं, पोखरा र काठमाडौं खण्डको हवाई सेवा लगायत पर्यटन व्यवसाय खासगरी होटेल तथा रेस्टुरेन्ट व्यापारमा प्रत्यक्ष मर्का परेको छ ।

अर्को भाषामा हवाई सेवा प्रभावित छ भने पोखराका सवै होटेलहरु खाली छन् । यसरी पर्यटन क्षेत्रमा आश्रित जनसमुदाय अप्रत्यक्ष रुपमा नराम्रोसित प्रभावित भएको छ । यस दुर्घटनाको वास्तविक दीर्घकालीन चोट पर्यटन व्यवसयी खासगरी विमान सेवा कम्पनी र होटेल व्यवसायले महसुस गरेको छ । यसका लागि नेपाली समाजको मनोविज्ञान राम्ररी केलाउन जरुरी छ ।

होटेल, रेस्टुरेस्ट, डुंगा सफारी, बम्जी जम्प, प्याराग्लाइडिड, अल्ट्रालाइट, जीपलाइन, केबलकार सफर, क्यानोइनिड लगायतमा पर्यटकलाई प्रवद्र्धनात्मक हवाई टिकट वा बोर्ङिङ पासको सुविधा दिने व्यवस्था गरे पर्यटन चलायमान बनाउन सहयोग पुग्ने छ

पोखराको आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको एक महिना बित्न नपाउँदै धावन मार्गमा पुग्न केही सेकेण्ड बाँकी रहँदा यती कम्पनीको विमान ओर्लने क्रममा सेती खोंचमाथि खसेको भयानक दुर्घटनाको प्रत्यक्ष दृश्य देख्ने मानिस सीमित होलान् तर आजभोलि अधिकांश मानिसको हातमा सानो प्रविधिको रुपमा रहेको मोबाइलको सहयोगले यस दुर्घटनाको तस्बिर कैद गरेर सामजिक सञ्जालमा छयापछयापी पाइएको थियो अर्थात् भाइरल भएको थियो ।

Advertisement

यस दृश्यले जो कोहीको आङमा काँडा उम्रिने भयनाक डर लागेर सातो जाने जस्ता महसुस हुनु स्वाभाविक हो । कमजोर मनोबल भएको मानिसलाई यो दृश्यले बेहोस हुने अनुमान सजिलै गर्न सकिन्छ । यसले प्रत्यक्ष रुपमा दुर्घटनामा परेको परिवारलाई भयानक अपूर्णनीय चोट पुगेको छ भने अप्रत्यक्ष रुपमा पर्यटन व्यवसायहरुमा परेको छ । काठमाडौं पोखराको लगभग ७० वर्ष भन्दा लामो अवधिको हवाई सेवाको इतिहासमा यो विमान दुर्घटना सम्भवत ठूलो र पहिलो पनि हो ।

पोखरासित हवाई सम्पर्कका रहेको खासगरी जोमसोम पोखरा हवाई मार्गमा विमान दुर्घटना नभएको होइन । ती दुर्घटनाहरु विगतमा साना तथा कम क्षमता (२० जना) को विमान दुर्घटनाहरु दुर्गम क्षेत्र खासगरी बन तथा भीरपाखासाथै खराव मौसमको बखतमा भएको थियो । तर यसपटक घटेको यती हवाई सेवा कम्पनीको विमान दुर्घटना घनावस्तीको बीचमा सफा मौसम तथा विहानको समयमा भएको थियो ।

विगतका विमान दुर्घटनाहरुमा भएका भन्दा यसपटकको दुर्घटना लगभग चार गुणाभन्दा बढी क्षति अर्थात्यात्रु (७२ जान) क्षमताको विमान दुर्घटना पहिलो हो । त्यसैले सबै जनालाई त्रसित बनाउनु स्वाभविक हो । यसको प्रभाव अन्य समय भन्दा चार गुणा यात्रुका परिवारसम्म चोट पुगेको थियो भने मोवाइलका प्रविधिले अझ व्यापक (म्याग्निफाइज) बनाएको अनुमान सजिलै लगाउन सकिन्छ ।

अधिकांश मानिसको मानस पटलमा यस भयानक त्रसित घटनाको तस्बिर आजसम्म ताजा कायम रहनसफल भएको महसुस भएको छ । कोभिड १९ को महामारीबाट थलिएको पोखराको पर्यटन क्षेत्र विस्तारै तंग्रिने क्रममा थियो । यस विमान दुर्घटनाले थिलोथिलो बनाएको छ ।

विश्वमा हवाई यातायात अन्य प्रकारका यातायातभन्दा बढी सुरक्षित मानिन्छ र हो पनि । विश्वभर दैनिक रुपमा हजारौं व्यापारिक विमानहरु लाखौं यात्रु लिएर रातदिन उडिरहेका हुन्छन् तर विमान दुर्घटनाको खबर विरलै सुनिन्छ । नेपालका सन्दर्भमा दैनिक रुपमा सडक दुर्घटना भइरहेको खबर पढ्न वा सुन्न पाइन्छ तर विमान दुर्घटना ज्यादै कम हुने गरेको छ ।

यसको मुख्य कारण हवाई यातायात नियामक संस्थाले स्थापित गरेको उडान आचारसंहितको पालन कडाइका साथ कार्यान्वयन गर्नु वैधानिक मान्यता हो । यद्यपि मौसमको खराबी, मानवीय कमी कमजोरी लगायत इन्जिनको खराबी जस्ता मानवीय काबु बाहिराका कारणहरुले विमान दुर्घटनाहरु भएको जाँचबुझ समितिको प्रतिवेदनहरुमा उल्लेख गरिएको हुन्छ ।

नेपाली समाज परम्परागत हिन्दू धर्म र संस्कारमा विश्वास गर्छ । समाजको मनोविज्ञानमा नराम्रो चोट लागेको छ । यस चोटको असर कम गर्न धार्मिक परम्परा अनुसार ७२ जना मानिसले ज्यान गुमाएकोले मृत्मालाई भावपूर्ण श्रद्धाञ्जली दिँदै उक्तमा स्थानमा स्वस्तीशान्ति पूजापाठ गरी मनोबल उठाउनु जरुरी छ । नेपाली संस्कार र संस्कृतिमा नयाँ घर सर्दा शुभ दिनको अवसरमा सत्य नारायणको पूजा गर्ने तथा प्राकृतिक प्रकोप खासगरी आगलागी, बाढी पहिरो लगायत प्रकोप प्रभावित क्षेत्रमा स्वस्ती शान्ति पूजा गराउने प्रचलन छ ।

यस किसिमको पूजा गर्ने प्रचलनले विमानमा यात्रा गर्न मनोवैज्ञानिक प्रभाव पर्ने छ । पूजा गर्दा दिवंगत आत्माले जय गर्ने छ भन्ने किसिमको मनोवैज्ञानिक प्रभाव परी यात्रुहरुको आत्मबल वढाउन सहयोग गर्नेछ । नेपाली समाजमा विद्यमान यिनै संस्कार र संस्कृतिलाई सम्मान गर्दै स्वस्ती शान्ति पूजा कार्यक्रम आयोजना गरी नेपाली जनमानसको मनोबल उठाउन सहयोग पुग्ने थियो कि ? यसका लागि विमानस्थल रहेको पालिका सरकारले पोखरा महानगरपालिकाले पहल लिनु उचित हुनेछ । यस कार्यक्रमले पोखरा जाने पर्यटकहरुका लागि मनोबल उठाउन मनोवैज्ञानिक प्रभाव पार्न सहज पुग्ने अनुमान गर्न सकिन्छ ।

यस बाहेक संघीय तथा गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता कार्यक्रम राखेको छ । वर्तमान अवस्थमा यी सरकारहरुले पहल गर्नुपर्छ । त्यसैले सम्बन्धित सरकारहरुले नेपाली समाजमा परेको चोट वा मनोवैज्ञानिक त्रास कम गराउन संघीय तथा प्रदेश सरकारहरु लगायत स्थानीय सरकारको रुपमा रहेको पोखरा महानगरपालिको संयुक्त पहल गर्नु जरुरी छ ।

यसका लागि सरकारहरुले खासगरी काठमाडौं—पोखराको हवाई यात्रुलाई खासगरी पोखरा भ्रमण हिँडेका यात्रुलाई लक्ष्य गरी प्रवद्र्धनात्मक कार्यक्रम वा प्याकेजको व्यवस्था गरी तत्काल पर्यटन क्षेत्रमा परेको समस्या समाधानमा सकारात्मक भूमिका रहने विश्वास गर्न सकिन्छ । काठमाडौंबाट पोखरा जाने पर्यटकलाई हवाई भाडामा आधा मिनाहा गर्ने योजना बनाउन सकिन्छ ।

यसका साथमा निजी क्षेत्रका व्यवसाय वा सरोकारवालाहरुको तर्फबाट खासगरी होटेल, रेस्टुरेस्ट, डुंगा सफारी, बम्जी जम्प, प्याराग्लाइडिड, अल्ट्रालाइट, जीपलाइर, केबलकार सफर, क्यानोइनिड लगायत अन्य विविध प्रकारका मनोरञ्जनात्मक गतिवधिहरुमा सहभागी हुने पर्यटकलाई प्रवद्र्धनात्मक हवाई टिकट वा बोर्ङिङ पासको आधारमा सुविधा दिने व्यवस्था गरेमा तत्काल पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने छ । यस पर्यटन प्रबद्र्धनात्मक कार्यक्रमलाई पर्यटन व्यवसाय लयमा नफर्केसम्म कामय राख्नु उचित हुनेछ ।

यसबाहेक पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम लिएर सातै प्रदेशहरुको विमानस्थल भएका प्रमुख सहरहरुमा पोखराबाट काठमाडौ, धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायत सहरहरुमा पर्यटन व्यवसयी लगायत व्यापारी संस्था तथा पालिका सरकारहरुलाई पोखरा भ्रमणको विशेष आहान सहित प्रवद्धर्नात्मक कार्यक्रम सञ्चालन गर्न सकेको अवस्थामा पोखरा पर्यटन क्षेत्रमा देखा परेको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

पर्यटन व्यवसयले बृहत क्षेत्रसित सम्बन्धित हुन्छ । यसले लगभग १५ किसिमका रोजगारी सिर्जना गर्ने विज्ञहरुको राय छ । यसले खासगरी कृषि, यातायात, लगायत अन्य सेवा क्षेत्रमा संग्लन मानिसहरुसित प्रत्यक्ष वा अप्रत्यक्ष संग्लन हुन्छ भने व्यापार चलायमान बनाएपछि सरकारको राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने छ ।

यस किसिमका कार्यक्रमहरुले हवाई यात्रुको मानसिक रुपमा मनवोल उठाउन सफल हुनेछ र विस्तारै विमान दुर्घटनाको डरलाग्दो त्रास विस्तारै मानस पटलबाट मेटिँदै जानेछ । पर्यटन व्यवसयीले सरकारको दारो उपस्थिति वा सहयोग पाएको महसुस गर्ने छ । यसले पर्यटन क्षेत्रलाई चलायमान बनाई राहत पुर्‍याउन सकिनेछ ।

साँचो अर्थमा संघीय सरकारहरुको उपस्थित भएको महसुस एक वर्गले आवश्यक नै गर्ने छ । साँच्चै नै यस कार्यक्रमले पोखराको पर्यटन क्षेत्र उठाउन सहज हुनेछ । सरकारले केही रकम वियोजन गरी यस क्षेत्रमा खर्च गर्ने सहास गरे मात्र यो यसपटकको दुर्घटनाले पर्यटन क्षेत्रमा परेको चोटमा मलम लगाउन सफल हुनेछ । यस प्रकारका कार्यक्रमहरुले पर्यटन क्षेत्र तत्काल उठ्न सक्ने छ नत्र यस चोटको निको हुन वा खत बस्न लामो समय लाग्ने छ ।
(राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य गुरुङ संरक्षणविद् हुन्)

तपाईको प्रतिक्रिया