आत्मविश्वासः सफल जीवनको आधार

बुद्धिसागर भण्डारी २०७९ फागुन ७ गते १२:२९

मानव जीवनका हरेक घटनाक्रममा सफलताको लागि आत्मविश्वास सबैभन्दा महत्वपूर्ण पक्ष हो । जीवनको गन्तव्यमा लक्ष्य प्राप्तिका लागि धेरै किसिमका आरोह अवरोह पार गर्नु पर्दछ । थुप्रै चुनौती र समस्याका वाबजुद आफूलाई समस्याको भुमरीमा पारेर चुनौतीको सामना गर्दै अगाडि बढ्न सकेमा मात्र सफलता मिल्न सक्छ । धेरै वर्षको घर्षण र ठक्करबाट एउटा ढुंगा शालिग्राम बन्न सकेको हुन्छ ।

त्यसका लागि म को हुँ भनेर आत्म समीक्षा गरी म केही गर्न सक्छु भन्ने बलियो आत्मविश्वास र मानसिक रुपमा तत्पर हुन पनि अपरिहार्य छ । सकरात्मक सोच, धैर्य, साहास, आत्मविश्वास र आँट मानव जीवनका महत्वपूर्ण पक्ष हुन् । मानिस आफूलाई सधै खुसी र सफल देख्न चाहन्छ । खुसी एउटा अनुभूति हो भने सफलता परिणाम हो ।

मानिसले आफूलाई सधै खुसी र सफलता देख्न चाहे तापनि ऊ आफूलाई सधै समस्यै समस्याबाट गुज्रिरहेको महसुस गरिरहेको हुन्छ । तसर्थः हरेक घटनाक्रमलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने बानी बसाउन सक्नु पर्छ । गीताको मूल सारतत्व पनि प्रशंसनीय दृष्टिकोणसँग मेल खान्छ । प्रशंसनीय दृष्टिकोणले मानिसको जीवनमा आइपर्ने हरेक घटना एवं परिवेशलाई सकरात्मक सोचाईबाट हेर्न र सोही अनुरुप ग्रहण गर्न सिकाएको छ ।

Advertisement

जहाँ समस्या छ, प्रायः त्यहाँ अवसर हुन्छ । औषधी तीतो हुन्छ, तर गुणले भरिएको हुन्छ ।

समस्या एउटा अनुभुति हो समस्या भनेर त्यस परिस्थितिलाई सम्बोधन गरिएको हुन्छ, जुन परिस्थिति आफ्नो अनुकूल हुँदैन । एउटा प्रतिकूल परिस्थितिलार्ई व्यवस्थापन गर्ने उपाय खोजी नगरी चिन्ताको इनारमा डुबेर अनुकूल परिस्थितिको धरातलमा उभिन अवश्य पनि सकिँदैन । त्यसैले समस्या समस्या होइन; बरु यो त प्रतिकूल अवस्थालाई व्यवस्थापन गर्न नसक्दाको परिणाम हो । हरेक समस्याका पछाडि अवसर हुन्छन् । समस्यालाई सकारात्मक किसिमले हेर्ने बानी बसाउनु पर्दछ ।

Advertisement

एक पटक अनुत्तीर्ण भएको विद्यार्थी अर्को पटक सोही विषयमा राम्रो अंक ल्याएर पास हुन्छ । जहाँ समस्या छ, प्रायः त्यहाँ अवसर हुन्छ । औषधी तीतो हुन्छ, तर गुणले भरिएको हुन्छ । हामी जे सोच्दछौ, त्यही पाउँछौ । जस्तो सोच, त्यस्तै परिणाम । एउटा सफलताले अर्को सफलता ल्याउँछ । जस्तो कर्म, उस्तै फल । उज्यालो पाउन उज्यालै चाहिन्छ, जस्तो प्रश्न उस्तै उत्तर आदि आदि ।

सकारात्मक सोचले सँधै सफलताका सम्भावनामात्र देख्छ । मनमा सधै खुसी आउँछ, उत्साह बढ्छ, आत्म सन्तुष्टि मिल्छ र प्रत्येक कार्यमा सफलता मिल्दछ र जीवन शक्ति वा ऊर्जामा बदल्न सकिन्छ । तसर्थः जीवन ऊर्जा हो भन्ने मान्यताबाट आफ्नो दिनचर्याअघि बढाउन सकेमात्र जीवनमा आनन्द र सफलता मिल्छ ।

अरुलाई सम्मान दिनु भनेको आफैं सम्मानित हुनु हो । अरुलाई उचित अभिवादन गर्‍यो भने उसले पनि फर्काउँछ । पैंचो दिनेले मात्र आफूलाई चहिएको बेलामा पैंचो पाउँछ । मानव जीवनमा कुनै पनि कार्यको निर्णय गर्दा अधिक आत्मविश्वास भएर धेरै जोखिम लिनु पनि हुँदैन । आत्मविश्वास बढी भएर धेरै जोखिमपूर्ण कार्य गर्न खोजियो भने उक्त कामबाट सफलता मिल्न सक्दैन । तसर्थ आत्मविश्वास र जोखिमलाई उचितरुपमा प्रयोग गर्न जान्नु पर्दछ, तबमात्र मानव जीवनमा सफलता मिल्छ ।

कुनै पनि व्यक्तिको आफ्नो घरपरिवार, छरछिमेक, व्यक्तिगत बानी, व्यवहार, आचरण, अध्ययनशील र सृजनात्मक कार्यले उसको व्यक्तित्व विकासमा ठूलो प्रभाव पारेको हुन्छ । समाज, पारिवारिक वातावरण, संस्कार आदि कारणले पनि हाम्रो व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तसर्थः आत्मविश्वास मानिसको व्यक्तित्व विकाससँग पनि सम्बन्धित छ । ज्ञान, सीप र सोसम्बन्धी दक्षताको आधारमा पनि आत्मविश्वास कम वा बढी हुन सक्छ ।

आत्मविश्वास बढाउनका लागि हरेक घटनालाई सकारात्मक किसिमले लिन सक्नु पर्छ । आत्मबल बढाउनका लागि सकारात्मक सोच अपरिहार्य छ । मानव जीवनमा व्यक्तित्व विकास कुन किसिमले भएको छ, सोको असर आत्मविश्वास वा आत्मबलमा पनि पर्दछ । तसर्थः व्यक्तित्व विकास र आत्म विश्वास एकापसमा अन्तर सम्बन्धित पक्ष हुन् । बलियो आत्मविश्वास लिएर कुनै पनि काममा लागिपर्दा थुप्रै चुनौतीको सामना गरेर पनि सफलता प्राप्त गरेको थुप्रै उदाहरण देख्न सकिन्छ ।

राजनीतिक क्षेत्र, धार्मिक क्षेत्र, सामाजिक वा व्यवसायिक क्षेत्रमा पनि आत्मविश्वासका साथ अगाढि बढेका व्यक्तित्वले आफ्नो जीवनको गन्तव्यमा ठूलो सफलता हासिल गर्न सकेका थुप्रै उदाहरण छन् । आत्मविश्वास र सकरात्मक सोचले जीवनलाई शक्ति र ऊर्जामा बदल्न सकिन्छ । तसर्थः मानव जीवनलाई सुखी, खुसी र समृद्ध बनाउनका लागि पनि आत्मविश्वास र सकरात्मक सोच महत्वपूर्ण पक्ष हो ।

मनमा जति जति नकारात्मक सोच बढ्न थाल्दछ, ऊभित्र सकारात्मक सोच क्रमिक रुपमा ह्रास हुँदै गएको हुन्छ । यो अवस्थालाई मानिसले समयमै नियन्त्रण गर्न नसकेको अवस्थामा अन्ततः डिप्रेसनको अवस्थामा पुगी मानिस मानसिक रुपमा अति कमजोर अवस्थामा पुग्छ । वर्तमान अवस्थामा विशेष गरी (५०–६०) वर्ष उमेर भित्रका व्यक्तिहरु आफ्नो व्यक्तिगत व्यवहारका कारणले डिप्रेसनको शिकारमा परेका छन् ।

घर परिवार चलाउनका लागि आर्थिक बोझ वा पारिवारिक सदस्यबीचको मनमुटाव वा मतभेद जस्ता कारणले गर्दा तनाव सृजना हुने गर्दछ । तनावलाई उचित रुपमा व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न हुने र अन्ततः डिप्रेसनको अवस्थासम्म पनि पुगेको देखिन्छ । जब मानिसमा धैर्य, आत्मविश्वास र सकारात्मक सोचको कमी हुन थाल्छ, त्यसपछि उसको मनमा भय, डर, त्रास घर गर्दछ र आत्मबल कमजोर हुन पुग्दछ ।

आत्मविश्वास भयको औषधि हो । आत्म विश्वास बढ्नु भनेको भयबाट मुक्ति पाउनु हो । जसरी भय एउटा मानसिक अवस्था हो, त्यसैगरी आत्मविश्वास पनि एउटा मानसिक अवस्था हो । जब आत्मविश्वासले भयलाई जित्न थाल्दछ, तब जीवनमा सफलता मिल्छ र मानव जीवन सार्थक हुन्छ र जीवन शक्ति र ऊर्जामा परिणत हुन्छ । आत्मविश्वास बढ्नु भनेको मनमा डर, त्रास र भयको अन्त हुनु हो ।

मानव जीवनमा सफलता प्राप्तिका लागि सकारात्मक सोच, धैर्य र आत्मविश्वास अत्यन्तै महत्वपूर्ण पक्ष हुन् । जो व्यक्तिले धैर्य, आत्मविश्वास र हरेक घटना परिवेशलाई सकारात्मक सोचबाट हेर्न सक्दैन, ऊ झन झन मानसिक रुपमा कमजोर बन्दै जान्छ र आत्मविश्वास हराँउछ ।

तत्पश्चात् उसले बाँकी जीवन अन्धकार देख्छ र हरेक पक्षमा आफू असक्षममात्र भएको महसुस गर्न थाल्छ । तसर्थ, मानव जीवनमा सफलता प्राप्त गर्नका लागि आत्मविश्वास बलियो बनाउनु पर्दछ । जीवनलाई सफल बनाउन वा जीवनका हरेक घटनाबाट सफलता प्राप्त गर्नका लागि आत्मविश्वास बलियो हुनु पर्दछ र हरेक घटना क्रमलाई सकारात्मक आँखाले हेर्ने बानीको विकास गर्नुृ पर्दछ । मानव जीवन सफल र सार्थक बनाउन वा जीवनलाई शक्तिमा परिणत गर्नका लागि आत्मविश्वास अपरिहार्य छ ।

तपाईको प्रतिक्रिया