महारुद्र दर्पण विमोचन

पोखरा ।
पोखरा ३३ को महारुद्र मन्दिर व्यवस्थापनले स्मारिका प्रकाशन तथा विमोचन गरेको छ । धेरै वर्ष पहिले स्थापना भई शिवगुठीको लालमोहर प्राप्त गरेको तेस्रो शताब्दीमा प्रवेश गरेको अवसरमा महारुद्र मन्दिर वर पाण्डेथुम कैलाशको प्रथम स्मारिका ‘महारुद्र दर्पण’ विमोचन गरिएको छ ।
स्मारिका विमोचन गर्दै सोही ठाउँमा पैतृक थलो भइ हाल कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं दुई बाट प्रतिनिधि सभा मा निर्वाचित सांसद सुरेन्द्रराज आचार्यले त्यस मन्दिर क्षेत्रको विकास तथा थप व्यवस्थित गर्ने सन्दर्भमा आफ्नो साथ सहयोग रहिरहने बताए ।
लघुरुद्री लगायत धेरै कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै भागवत् भाष्कर कमल नयन गौतमले समाजमा असल आचरण फैलाउन धर्मले भूमिका खेलेकोमा जोड दिए । उक्त कार्यक्रमा पोखरा ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले मन्दिरको विकासका लागि बनाएको गुरु योजनालाई सफल पार्न वडाको तर्फबाट सक्दो गर्ने बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोहर शर्मा आचार्यको अधयक्षतामा सम्पन्न कार्यक्रममा स्मारिका संयोजक बाबुराज आचार्य ले समेटिएका विषय वस्तुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा समितिका सदस्य ऋषेश्वर भुवाईं ‘ऋतु’ले स्वागत गरे ।
अर्थ संकलन समितिका सदस्य दिनेश आचार्यले सहयोगदाताको विवरण सुनाएका थिए । रमा आचार्यको कविता बाचन, ओम प्रकाश पौडेलको पूजा संयोजन रहेको कार्यक्रमममा ज्योतिष पीताम्बर पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन समितिका सदस्य उमेश आचार्यले गरेका थिए । मन्दिरले तत्कालीन राजा राजेन्द्र वीरविक्रम शाहबाट विसं १८८० मा लालमोहर प्राप्त गरेको थियो ।
तपाईको प्रतिक्रिया