समाज बदल्न सभासद

प्रमिला कुँवर २०७९ फागुन ७ गते १६:५७

प्रमिला कुँवर, पोखरा ।
दिलमाया पौवी बाल्यकालमा शिक्षक बन्न चाहन्थिन् । समाजसेवाबाट समाज परिवर्तन गर्ने सपना थियो । उनले भोग्नुपरेको परिवेश तथा घरको अवस्थाले त्यो शिक्षक बन्ने सपना अपूरै रह्यो । बाटो बदलियो तर उनी समाज परिवर्तन गर्ने जीवनको संगममै आइपुगेकी छन्ः प्रदेशसभा सदस्य बनेर ।

बागलुङको दुर्गम भेग ढोरपाटन नगरपालिका १ बुर्तिवाङमा जन्मिएकी उनले शिक्षकको विकल्पमा राजनीति रोजिन् । २ दशकभन्दा बढी सक्रिय राजनीतिमा उनले समाजका विसंगति, जातीय भेदभाव, अन्धविश्वासका विरुद्ध आवाज उठाइन् ।
समानुपातिक प्रणालीबाट प्रदेशसभामा निर्वाचित भएकी पौवीको २०३७ मा जन्मिएकी हुन् ।

त्यस बेला उनको गाउँमा छोरीलाई धेरै पढाउने चलन थिएन । बालविवाह सामान्य चलन थियो । ५/६ कक्षा पढ्दा पढ्दै धेरैजसो किशोरीको बिहे भइसकेको हुन्थ्यो । उनका साथी, मामा, काकाका छोरीहरुको सानैमा बिहे भइसकेको थियो । दिलमाया भने बालविवाहको विरोध गर्दै पढेर शिक्षक नै बन्छु भनी अडानमा रहिन् ।

Advertisement

तर अडानलाई यथार्थमा बदल्न उनलाई पनि सहज थिएन । विद्यालय जाने अनुमति पाए पनि पढ्नका लागि समय हुन्थेन । बिहान घरको काम सकेर विद्यालय जान्थिन्, स्कुलबाट फर्केपछि पनि राति १० बजेसम्म घरकै कामले अल्झाइरहन्थ्यो । १० बजेपछि घरका अरु सदस्य सुत्थे । उनी टुकी बालेर अध्ययनमा लाग्थिन् ।

अध्ययनमा मेहनती पौवीको मनपर्ने खेल भलिबल हो । स्कुलका अतिरिक्त क्रियाकलापमा पनि उनी सहभागी हुन्थिन् । उनले २०५६ मा उत्तरगंगा माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन् । गाउँमा एसएलसी पास गर्ने उनी पहिलो दलित महिला बनिन् ।

Advertisement

आफ्नो गाउँबाट एसएलसी पास गर्ने पहिलो दलित महिला दिलमाया र उनका छोरा दुवै स्नातक पढ्छन् । दिलमाया गण्डकी प्रदेशसभा सदस्य हुन्

पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि उनको राजनीतिक यात्रा स्कुलबाटै सुरु भएको हो । परिवार सदस्य कांग्रेसमा आस्था राख्थे । उनका जिजुबुबा मनजित बागलुङको विश्वकर्मा माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष हुन् । मनजितसमेत राजनीतिमा संलग्न थिए । जातीय विभेद अन्त्य गर्ने, समाज परिवर्तन गर्ने, दलितका छोराछोरीलाई अरुसरह पडाउने उद्देश्यले यो स्कुल स्थापना भएको थियो ।

२०५२ मा माओवादी जनयुद्ध सुरु भयो । गाउँमा त्यहाँ बस्न सक्ने अवस्था नभएपछि उनको परिवार काठमाडौं स¥यो । १ दशक राजधानीमा बसेर २०६२ मा शान्ति प्रक्रिया सुरु भएपछि उनको परिवार ढोरपाटन नै फर्कियो । त्यस बलो उनको बिहे भइसकेको थियो । १ छोरा र १ छोरी थिए । घरको काम र छोराछारीको हेरचाहमा व्यस्त हुनुपर्दा थप पढ्ने रहर उनको पूरा भएन ।

२०६३ मा उनका छोराछोरी विद्यालय जान थाले । छोराछोरीलाई स्कुल पठाएर दिलमाया कक्षा ११ मा भर्ना भइन् । २०६५ मा १२ कक्षा पास गरिन् । स्नातकोत्तरसम्म पढ्ने उनको सपना छ । १२ कक्षा पास गरेको १४ वर्षपछि उनी अहिले धौलागिरी क्यापसमा समाजशास्त्रमा स्नातककी विद्यार्थी हुन् ।

ज्ञान हुँदा आफ्नो कुरा निर्धक्क भन्न सकिने, आत्मविश्वास बढ्ने भएकाले स्नातकमा भर्ना भएको उनले सुनाइन् । ‘क्यानडामा स्नातक पढिरहेको छोराले म यहाँबाट बिए पास गर्छु, हजर त्यहाँबाट पास गर्नुपर्छ भन्छ,’ दिलमायाले सुनाइन् । ढोरपाटन फर्किएलगत्तै उनी सामुदायिक अध्ययन केन्द्रमा काम गर्न थालिन् । कांग्रेसको महिला संघ नगर सचिव बनिन् । संघको अधिवेशनबाट केन्द्रीय प्रतिनिधि पनि चुनिइन् । २०६७ मा महिला अल्पकालीन सेवा केन्द्र र महिला विकास बचत तथा ऋण सहकारीको कोषाध्यक्ष बनिन् ।

दिलमाया महिला पहिचानका लागि लड्नुपर्छ र त्यसका लागि राजनीतिमा जानैपर्छ भनी यो यात्रामा लागेकी हुन् । ‘महिला त्यस बेला सभा, समारोहमा उठेर आफ्नो नाम पनि भन्न नसक्ने अवस्था थियो,’ उनले सुनाइन् । नेतृ ज्ञानकुमारी छन्त्यालको संगतले आफूलाई हौसला मिलेको उनले जनाइन् । ‘उहाँ (छन्त्याल) तिमी सक्षम छौँ, तिमीले राम्रो मौका पाउन सक्छौ, भन्नुहुन्थ्यो । उहाँ (छन्त्याल)कै प्रेरणाले राजनीतिमा आएँ,’ उनी भन्छिन् ।

पौवी २०७४ मा ढोरपाटन नगरपालिकाको उपमेयर उम्मेदवार बनिन् । ‘मैले आकांक्षा राख्दा पार्टीले टिकट दियो तर जम्मा १६ मतले पराजित भएँ,’ उनी भन्छिन् । पराजितै भए पनि उनी खुसी थिइन् । ‘महिला त्यसमाथि दलित महिला, जति मत पाए त्यो नै ठूलो उपलब्धि थियो,’ उनी विगततिर फर्किइन् । दिलमाया कमजोर भइनन्; हारले उनलाई अझै बलियो बनायो । आफूलाई मत दिनेहरुलाई निराश पार्न हुन्न भन्ने महसुस भयो ।

पदमा रहेर पनि जनताको सेवा नै गर्ने हो । जनताको सेवा गर्नलाई पद नै चाहिन्छ भन्ने छैन । पार्टीको कामको साथै जनताको आवश्यकता, समस्या, गुनासा प्रत्यक्ष नियालिन् । निरन्तर ५ वर्षसम्म जनताको घरदैलोमा पुगिन् । ‘२०७९ को स्थानीय निर्वाचनमा जनता, शुभचिन्तकले मेयरका लागि उम्मेदवारी दिन कर गर्नुभएको थियो । मैले कुरा राखेको पनि थिए तर टिकट पाइन्,’ उनले भनिन् ।

प्रदेशसभा सदस्यको स्थानसम्मा आइपुग्न उनलाई परिवारको साथ रह्यो । ‘म यो स्थानसम्म आइपुग्नुमा मेरा श्रीमान्, घरपरिवार र जनताको ठूलो हात छ । सांसद बन्नुमात्र मेरो सफलता होइन, मेरो परीक्षा, संघर्ष बल्ल सुरु भएको छ,’ उनले भनिन्, ‘मेरो समाज, समुदायले मबाट ठूलो अपेक्षा गरेको छ ।’ दलित समुदायका निम्न आयस्तर भएका, यातायात, स्वास्थ्य, शिक्षाको पहुँच पुग्न नसकेको समूहले आफूबाट ठूलो अपेक्षा गरेको उनी बताउँछिन् । ‘बालविवाह, बहुविवाह कायम रहेका, ६ महिना खेती गरेर ३ महिना खान नपुग्ने समुदायका समस्या समाधान गर्न सके भनेमात्र सफल हुन्छु भन्ने मलाई लाग्छ ।’

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया