धौलागिरि अस्पताल आफैं बिरामी

सञ्जय रानाभाट २०७९ फागुन ७ गते १७:०४

सञ्जय रानाभाट, पोखरा ।
‘बागलुङको निसीखोलामा एक महिलालाई प्रसूति व्यथा लागेपछि बुर्तिबाङमा ल्याइयो । त्यहाँ सामान्य उपचार भएपछि उहाँलाई बागलुङ रिफर गरियो । धौलागिरि अस्पताल ल्याइयो । तर, धौलागिरिमा उपचार भएन,’ बागलुङको धौलागिरि अस्पतालको समस्याका बारेमा माघ २९ गते गण्डकी प्रदेश सभाको शून्य समयमा सांसद कुसुम बुढा पुनले भनिन् ।

अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा ती महिलालाई थप उपचार गर्न पोखरा ल्याइएको सांसद पुनले सुनाइन् । पुनले थपिन्, ‘ती महिलालाई बागलुङ अस्पतालमा डाक्टर अभावले उपचार नभएपछि पोखरा रिफर गरियो । तर, बाटोमा आउँदै गर्दा कुश्मा बजारमा ती महिलाले ट्याक्सीमै बच्चा जन्माइन् ।’ उनले ट्याक्सीमै नर्मल डेलिभरी गरेपछि मात्र अस्पताल पुर्‍याइयो ।

सांसद पुनले भनेझैं अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरू घन्टौंको यात्रा गरेर प्रदेश राजधानी पोखरा आएर उपचार गर्नुपर्ने अवस्था छ । नजिककै धौलागिरि अस्पतालमा उपचार हुन छाडेको र स्वास्थ्य सेवाको गुणस्तर पनि खस्किएको बागलुङका जनप्रतिनिधि र सेवाग्राही बताउँछन् ।

Advertisement

जनशक्ति अभाव, भौतिक संरचनाको कमी, कमजोर प्रशासन जस्ता कारणले अस्पताल आफैं थलिएको छ । यसअघि प्रदेश सरकारले धौलागिरि अस्पताललाई ५० बेडको रुपमा स्वीकृत गर्‍यो । तर, पनि आवश्यकता अनुसारको दरबन्दी पुर्‍याउन नसक्दा बिरामीले लामो यात्रा गरेर पोखरा रोज्न बाध्य छन् ।

जनशक्ति अभाव, भौतिक संरचनाको कमी, कमजोर प्रशासन जस्ता कारणले धौलागिरि अस्पताल आफैं थलिएको छ

Advertisement


मुख्यमन्त्री खगराज अधिकारी स्वयं संघले अधिकार नदिँदा आफूहरूले अस्पतालमा जनशक्ति पुर्‍याउन नसकेको बताउँछन् । ‘संघीयता लागू भएपछि संविधानमा भएका अधिकार पनि प्रदेशले नपाउँदा धौलागिरि अस्पताल एउटा उदाहरण बनेको छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘म मुख्यमन्त्री भएपछि बागलुङ पुगें । तर, त्यहाँ बच्चाका डाक्टर र गाइनाकोलोजिस्ट नै हुँदैनन् । अधिकार नदिँदा प्रदेश सरकारले आफूले जनशक्ति उत्पादनसमेत गर्न नसकेको उदाहरण हो यो ।’

अस्पतालमा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ र जनरल फिजिसियन अभाव रहेको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमित ढुंगानाले बताए । अस्पतालमा मेसुबाहेक १६ विशेषज्ञ डाक्टर हुनुपर्नेमा मात्र २ जना छन् । उनले भने, ‘भएका दुईजना पनि प्रशासनिक काम हेर्नुपर्ने भएकाले कामको चाप ज्यादै छ ।’ अस्पतालमा मेडिकल अधिकृतको दरबन्दी ६ रहेकोमा हाल १ जनामात्र डाक्टर छन् । तीन जना डाक्टर अध्ययन बिदामा र दुई जना रिक्त रहेको मेसु ढुंगानाले बताए ।

दरबन्दीमा आएका दुई डाक्टर पनि गण्डकी प्रदेश सरकारको कोटाबाट पुगेका हुन् । अस्पतालमा स्त्रीरोग विशेषज्ञ मात्र नभई कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक, बालरोग विशेषज्ञ, रेडियोलोजिस्ट र नाक, कान, घाँटी विशेषज्ञ पनि छैनन् । ‘डेन्टल सर्जरीतर्फ पनि यस्तै छ । १ जना दरबन्दी हो । उहाँ पनि अध्ययन बिदामा हुनुहुन्छ । प्रशासन अधिकृततर्फ दुईजनाको दरबन्दीमा दुवैजना खाली छ,’ डाक्टर ढुंगानाले भने, मेडिकल रेकर्डर पनि १ जना हुनुहुन्थ्यो । उहाँ पोखरा काजमा जानुभएको छ ।’

डाक्टरमात्र हैन, अस्पतालमा स्टाफ नर्सको पनि दरबन्दी अनुसार भर्ना हुन सकेको छैन । १८ जना दरबन्दी रहेको अस्पतालमा १३ जनामात्र छन् । पाँच वटा दरबन्दी खाली रहेको डाक्टर ढुंगाना बताउँछन् । ‘हेल्थ असिस्टेन्टमा २ जनाको दरबन्दी हो । १ जना हुनुहुन्छ,’ उनले भने, ‘अनमीतर्फ पनि ४ जनाको दरबन्दीमा १ पद रिक्त छ ।’

५० शड्ढया क्षमताको स्वीकृति पाएको अस्पतालमा हाल १ सय २० शड्ढया राखेर बिरामीको उपचार भइरहेको छ । स्वीकृति पाएको भन्दा बढी शड्ढया राखे पनि जनशक्ति भने छैनन् । प्रदेश सरकारले २ सय शड्ढयाको अस्पताल बनाउने प्रस्ताव गरेको थियो । तर अस्पतालमा जनशक्ति पुर्‍याउन नसक्दा जनताले चाहे अनुसारको सेवा दिन नसकेको मेसु ढुंगाना बताउँछन् ।

अस्पतालमा कुल दरबन्दी ७८ जनाको भएपनि कर्मचारी अभावमा परिस्थिति जटिल मोडमा पुगेको अस्पताल व्यवस्थापन समिति सदस्य गगनबहादुर पुन मगर बताउँछन् । उनका अनुसार अस्पतालमा दैनिक सय जनासम्मले बहिरंग सेवा लिन पुग्छन् । तर आकष्मिक सेवा पनि दिन नसक्ने अवस्था आइसकेकाले छात्रवृत्ति कोटाका डाक्टर भएपनि व्यवस्थापन गरिदिन अस्पतालको माग छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया