सहरका स्कुलको गुणस्तर गाउँमै दिऊः सभामुख

समाधान संवाददाता २०७९ फागुन ८ गते १३:०९

पोखरा ।
गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले धेरै मानिस सहर केन्द्रित हुँदा गाउँका विद्यालय घरासायी बनेको बताएका छन् । गोरखाको अन्नपूर्ण मावि खोप्लाङको ६३ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवसमा सभामुख धितालले शिक्षामा लगानी अनुसारको नतिजा नआएको उल्लेख गरे ।

सरकारले शिक्षाको हरेक विकासमा भौतिकदेखि शैक्षिक सुधारसम्म अर्बाैं खर्च गरेको स्मरण गर्दै अनुरुपको परिणाम नदेखिएकाले चिन्ता र चासो थपिएको जनाए । गाउँबाट सहर झर्नेहरुको संख्या दिन प्रतिदिन बढिरहेका कारण गाउँमा जनसंख्या घटेदै गएको, शिक्षा, स्वास्थ्य, रोजगारको लागि सहर नै धाउनुपर्ने बाध्यताले गर्दा पनि गाउँका विद्यालयमा बिद्यार्थी कम भएको उनको भनाइ छ ।

‘विद्यालयमा शिक्षक दरबन्दी छ, कक्षाकोठा, भौतिक पूर्वाधार सबै छ तर पनि विद्यार्थी छैनन् भने त्यसको कुनै अर्थ हुँदैन,’सभामुख धितालले भने, ‘यो अन्नपूर्ण माविव पनि अबको पाँच वर्षपछि अर्को बिद्यालयसँग गाभिने हो कि भन्ने चिन्ता छ ।’ गाउँका विद्यालयमा विद्यार्थीको चाप बढाउने हो भने गाउँ फर्क अभियान ल्याउनुपर्ने उनको सुझाव छ ।

Advertisement

सहरमा निजी विद्यालयले दिन सक्ने शिक्षा गाउँमा नै दिन सकियो भने, गाउँमा मोटरबाटो, स्वास्थ्य रोजगारी लगायत आधारभूत आवश्यकताको परिपूर्ति सुनिश्चितता गर्न सकियो भने मानिस गाउँ आउन सक्छन् नत्र भने भएका बिद्यालय पनि गाभिँदै जाने उनको भनाइ छ ।

गण्डकी प्रदेश सांसद फणीन्द्र देवकोटाले शिक्षाका हरेक समस्यालाई छलफलको माध्यमबाट समाधान गर्न सुझाव दिए । आफू यसै क्षेत्रबाट निर्वाचित भएको सांसदको हैसियतले यो विद्यालय र यस क्षेत्रको शिक्षामा नीतिगत सुधारका लागि पहल गरिरहेको जनाए ।

Advertisement

गण्डकी प्रदेशका पूर्व खानेपानी, ऊर्जा तथा जनस्रोत मन्त्री हरिशरण आचार्यले शिक्षाको विकासको लागि लाग्नुपर्ने भनेकै विद्यालय र शिक्षक भएको बताए । विद्यालयले आफ्नो शैक्षिक नतिजा हेरेर, शिक्षकले आफ्नो मेहनत अनुसारको नतिजा आयो कि आएन भनेर मूल्याङ्कन गर्दै कमी, कमजोरीबाट नै सफलतातर्फ जान सुझाव दिनुभयो ।

पालुङटार नगरपालिकाकी उपप्रमुख वन्दना पाण्डेले स्थानीय तहमा गुणस्तरीय शिक्षा प्रदान गर्न पालिकाले बिभिन्न कार्यक्रमअघि सारेको जनाइन् । हरेक वर्ष बिद्यालयमा विद्यार्थीको संख्या घट्दै जाँदा अब कसरी विद्यालय टिकाइराख्ने भन्ने सबैको साझा समस्या भएको उनको ठम्याइ छ ।

तपाईको प्रतिक्रिया