दीक्षित विद्यार्थीको प्रधानमन्त्रीलाई प्रश्न: सर्टिफिकेट दराजमा थन्काउने हो ?

सञ्जय रानाभाट, पोखरा ।
‘पढिसकेपछि प्रश्नको उत्तर चाहिन्छ । सबैको प्रतिनिधित्व गरेर भन्छु । मेरो नाम आदर्श सुवेदी हो । चितवनमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्टमा पढेर आज दीक्षित भएको प्रमाण पत्र लिँदै छु । तर, यहाँ गोल्ड मेडल पाए पनि घरमा दराराजमा लगेर थन्काउने मात्र हो कि ?’ सोमबार पोखरा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले सक्नेबित्तिकै ती युवाले प्रश्न गरे ।
आक्रोशित मुद्रामा देखिएका ती युवा यतिमै रोकिएनन्, प्रधानमन्त्रीसँग तत्काल जवाफ माग गरे । ‘मेरो प्रश्नको उत्तर दिएर जानुस् । भागेर कहाँ जानुहुन्छ ? भाग्ने हो भने राजीनामा दिनुस्,’ आदर्शले भने । आदर्शले मञ्चमा रहेका प्रधानमन्त्रीसँग प्रश्न गर्दा केही विद्यार्थीले पनि उठेर उनलाई समर्थन गरे । विद्यार्थीहरू भन्दै थिए, ‘प्रधानमन्त्रीज्यूले प्रश्नको उत्तर दिनैपर्छ ।’
आदर्श यतिमै रोकिएनन् । उनले थपे, ‘मेरो दाइले पनि पढेर गोल्ड मेडल पाउनुभयो । अहिले दराराजमा सर्टिफिकेट थन्काएर बस्नुभएको छ ।’ विश्वविद्यालय र आफ्नो परिचय खुलाए पनि उनले ब्याचलर डिग्री हो कि मास्टर्स पास गरेको भन्ने खुलाएनन् । उनले आफू कुनै पनि राजनीतिक दलको विद्यार्थी भातृ संगठनमा नभएको दाबी गरे ।
‘म पोखरा विश्वविद्यालयमा पढेर सर्टिफिकेट पाएर जाँदा १५ हजारको जागिर पाउँदिन । एउटा कुल्लीले पनि १५ हजार खान्छ । यहाँका कुलपति उपकुलपतिले ठूला गफ लगाएर हुन्छ ?, उनले कुन्ठा पोखे । उनले विश्वविद्यालयले गलत गरे कारबाही गर्न नत्र पढाइ अनुसारको जागिर र पारिश्रमिक हुने व्यवस्था बनाउन माग गरे ।
आदर्शले प्रश्न सोधिरहँदा प्रधानमन्त्री प्रचण्ड काठमाडौंमा पार्टीको बैठक रहेकाले छिटो जानुपर्ने भन्दै कार्यक्रम स्थलबाट निस्के । उत्तर दिन चाहेनन् । यता, प्रधानमन्त्री प्रचण्डले कुलपतिको रूपमा शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्ने जनाए ।
प्रचण्डले भने, ‘विश्व बजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईंहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु ।’ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने जनाए ।
शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिकको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले लिएको लक्ष्य हासिल गर्न सकिने उनले अपेक्षा गरे । विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपको माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने अभिभारा सरकारले निर्वाह गर्ने उनको आश्वासन छ ।
पोखरा विश्वविद्यालय स्थापना भएको २६ औं वर्ष भयो । २०५४ सालमा स्थापना भएको यो विश्वविद्यालयबाट १७ दीक्षान्तसम्म आइपुग्दा विभिन्न संकाय अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहमा गरी ४८ हजार ९ सय ८ विद्यार्थीले उपाधि प्राप्त गरिसकेका छन् ।
१८ औं दीक्षान्तमा दीक्षित हुने विद्यार्थीको ६ हजार ९ सय ९९ जना छन् । स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रममा सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीले स्वर्णाङ्कित कुलपति पदक तथा स्नातक तहका कार्यक्रममा सबैभन्दा उच्चतम अंक पाएका विद्याथीले स्वर्णाद्रित उपकुलपति पदक पाएका छन् । दीक्षान्तमा डीन लिस्टमा रहेका विभिन्न विधाका ५ सय २ विद्यार्थी थिए ।
विश्वविद्यालयमा हाल ४ आंगिक महाविद्यालयमा १ सय ३३ स्थायी र ६५ करार गरी कुल १ सय ९८ जना शिक्षक तथा स्थायी १ सय ४६ जना, करार १३ जना र सेवा करार ३२ जना गरी १ सय ९१ जना प्रशासनिक कर्मचारी कार्यरत छन् । यसका संयुक्त आंगिक तथा सम्बन्धन प्राप्त महाविद्यालयमा कुल २ हजार ९ सय ३० जना शिक्षक तथा १ हजार २ सय ६३ जना प्रशासनिक कर्मचारी कार्यरत छन् ।
विश्वविद्यालयका ४ वटा संकाय व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, स्वास्थ्य विज्ञान संकाय र मानविकी तथा सामाजिक शास्त्र संकाय अन्र्तगत शैक्षिक कार्यक्रम सञ्चालित छन् । पोखरा विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह २०५८ माघ ७ गते भएको थियो ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया