दीक्षित विद्यार्थीको प्रधानमन्त्रीलाई प्रश्न: सर्टिफिकेट दराजमा थन्काउने हो ?

सञ्जय रानाभाट २०७९ फागुन ९ गते १०:२२

सञ्जय रानाभाट, पोखरा ।
‘पढिसकेपछि प्रश्नको उत्तर चाहिन्छ । सबैको प्रतिनिधित्व गरेर भन्छु । मेरो नाम आदर्श सुवेदी हो । चितवनमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्टमा पढेर आज दीक्षित भएको प्रमाण पत्र लिँदै छु । तर, यहाँ गोल्ड मेडल पाए पनि घरमा दराराजमा लगेर थन्काउने मात्र हो कि ?’ सोमबार पोखरा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले सक्नेबित्तिकै ती युवाले प्रश्न गरे ।

आक्रोशित मुद्रामा देखिएका ती युवा यतिमै रोकिएनन्, प्रधानमन्त्रीसँग तत्काल जवाफ माग गरे । ‘मेरो प्रश्नको उत्तर दिएर जानुस् । भागेर कहाँ जानुहुन्छ ? भाग्ने हो भने राजीनामा दिनुस्,’ आदर्शले भने । आदर्शले मञ्चमा रहेका प्रधानमन्त्रीसँग प्रश्न गर्दा केही विद्यार्थीले पनि उठेर उनलाई समर्थन गरे । विद्यार्थीहरू भन्दै थिए, ‘प्रधानमन्त्रीज्यूले प्रश्नको उत्तर दिनैपर्छ ।’

आदर्श यतिमै रोकिएनन् । उनले थपे, ‘मेरो दाइले पनि पढेर गोल्ड मेडल पाउनुभयो । अहिले दराराजमा सर्टिफिकेट थन्काएर बस्नुभएको छ ।’ विश्वविद्यालय र आफ्नो परिचय खुलाए पनि उनले ब्याचलर डिग्री हो कि मास्टर्स पास गरेको भन्ने खुलाएनन् । उनले आफू कुनै पनि राजनीतिक दलको विद्यार्थी भातृ संगठनमा नभएको दाबी गरे ।

Advertisement

‘म पोखरा विश्वविद्यालयमा पढेर सर्टिफिकेट पाएर जाँदा १५ हजारको जागिर पाउँदिन । एउटा कुल्लीले पनि १५ हजार खान्छ । यहाँका कुलपति उपकुलपतिले ठूला गफ लगाएर हुन्छ ?, उनले कुन्ठा पोखे । उनले विश्वविद्यालयले गलत गरे कारबाही गर्न नत्र पढाइ अनुसारको जागिर र पारिश्रमिक हुने व्यवस्था बनाउन माग गरे ।

आदर्शले प्रश्न सोधिरहँदा प्रधानमन्त्री प्रचण्ड काठमाडौंमा पार्टीको बैठक रहेकाले छिटो जानुपर्ने भन्दै कार्यक्रम स्थलबाट निस्के । उत्तर दिन चाहेनन् । यता, प्रधानमन्त्री प्रचण्डले कुलपतिको रूपमा शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्ने जनाए ।

Advertisement

प्रचण्डले भने, ‘विश्व बजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईंहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु ।’ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने जनाए ।

शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिकको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले लिएको लक्ष्य हासिल गर्न सकिने उनले अपेक्षा गरे । विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपको माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने अभिभारा सरकारले निर्वाह गर्ने उनको आश्वासन छ ।

पोखरा विश्वविद्यालय स्थापना भएको २६ औं वर्ष भयो । २०५४ सालमा स्थापना भएको यो विश्वविद्यालयबाट १७ दीक्षान्तसम्म आइपुग्दा विभिन्न संकाय अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहमा गरी ४८ हजार ९ सय ८ विद्यार्थीले उपाधि प्राप्त गरिसकेका छन् ।

१८ औं दीक्षान्तमा दीक्षित हुने विद्यार्थीको ६ हजार ९ सय ९९ जना छन् । स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रममा सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीले स्वर्णाङ्कित कुलपति पदक तथा स्नातक तहका कार्यक्रममा सबैभन्दा उच्चतम अंक पाएका विद्याथीले स्वर्णाद्रित उपकुलपति पदक पाएका छन् । दीक्षान्तमा डीन लिस्टमा रहेका विभिन्न विधाका ५ सय २ विद्यार्थी थिए ।

विश्वविद्यालयमा हाल ४ आंगिक महाविद्यालयमा १ सय ३३ स्थायी र ६५ करार गरी कुल १ सय ९८ जना शिक्षक तथा स्थायी १ सय ४६ जना, करार १३ जना र सेवा करार ३२ जना गरी १ सय ९१ जना प्रशासनिक कर्मचारी कार्यरत छन् । यसका संयुक्त आंगिक तथा सम्बन्धन प्राप्त महाविद्यालयमा कुल २ हजार ९ सय ३० जना शिक्षक तथा १ हजार २ सय ६३ जना प्रशासनिक कर्मचारी कार्यरत छन् ।

विश्वविद्यालयका ४ वटा संकाय व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, स्वास्थ्य विज्ञान संकाय र मानविकी तथा सामाजिक शास्त्र संकाय अन्र्तगत शैक्षिक कार्यक्रम सञ्चालित छन् । पोखरा विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह २०५८ माघ ७ गते भएको थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया