कार्यसम्पादनमा लोमान्थाङ गाउँपालिका उत्कृष्ट

सुन्दरकुमार थकाली २०७९ फागुन ९ गते १०:३७

जोमसोम ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै पहिलो बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा लोमान्थाङले ७२ दशमलव ०७ प्रतिशत अंक पाएको छ ।

Advertisement

आयोगले आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन मूल्यांकन हालै सार्वजनिक गरेको हो । ७ प्रदेशका ७५३ वटा स्थानीय तहको कार्यसम्पादन मूल्यांंकन गरिएको हो । आयोगले स्थानीय तह अन्तर्गत कार्यसम्पादन हुने विभिन्न १७ वटा सूचकमा अंकभार प्रदान गरेको थियो ।

वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा लोमान्थाङ गाउँपालिकाले ७० प्रतिशत अंकभार कटाउने ३९ वटा स्थानीय तहको सूचिमा पर्न सफल भएको लोमान्थाङका लेखा शाखा प्रमुख उज्ज्वल चपाईले जानकारी दिए ।

कार्यसम्पादनमा लोमान्थाङपछि दोस्रो मुस्ताङको घरपझोङ गाउँपालिका छ । घरपझोङले ६७ दशमलव ६५ प्रतिशत अंक पाएको छ । लोघेकर दामोदरकुण्डले ५५ दशमलव २३ प्रतिशत, थासाङले ५१ दशमलव ९७ प्रतिशत र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ४६ दशमलव ८८ प्रतिशत अंक पाएका छन् ।

वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा प्रदेश १ अन्तर्गतका स्थानीय तहले ४४ दमशमलव ३ प्रतिशत प्राप्त गरी बने भने गण्डकी प्रदेशले ३८ दशमलव ०५ अंक प्राप्त गरी दोस्रो भए ।

Advertisement

आयोगमा विभिन्न १७ वटा सूचकमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरेको थियो । स्थानीय तहलाई गतिशील, जिम्मेवारी पूर्ण र कार्यसम्पादनमा प्रभावकारिता ल्याउन आयोगले बर्सेनि स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गर्ने गर्छ ।

कार्यसम्पादन मूल्यांकनमा १७ वटा सूचकमा आधारित रहेर स्थानीय तहको बजेट समयमा पास गरे नगरेको, राजस्व बाँडफाँट, आगामी आवको अनुमानित बजेट तोकिएको समयमा पेस गरे नगरेको, आन्तरिक राजस्व लक्ष्य, बजेट बेरुजु, बजेट सूत्रको प्रयोग, आवधिक योजना, पालिकासँग सम्बन्धित सरकाकारी शिक्षा र स्वास्थ्य लगायतका शीर्षकमा कार्यसम्पादन मूल्यांकन गरेको लेखा शाखा प्रमुख चपाईले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया