सम्पादकीय: स्ववियु चुनावको तात्पर्य

समाधान संवाददाता २०७९ फागुन ९ गते १२:००

आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएपछि क्याम्पसहरूमा चहलपहल बढेको छ । हरेक २ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो । पटक पटक मिति तोक्दै स्थगित हुँदै आएको निर्वाचन यसपटक भने पक्का भएको छ ।

निर्धारित मितिमा निर्वाचन बिथोलिए वा कुनै कारणवश स्थगित भए त्यसको ३० दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने निर्णय भइसकेको छ । त्रिभुवन विश्वविद्यालयले उपत्यकाका २१ र उपत्यकाबाहिरका ३९ क्याम्पस प्रमुखसँग छलफल गरी सो निर्णय गरेको हो । चैत ५ गते निर्वाचन गराउन नसके त्यसको ३० दिनभित्र अर्थात् वैशाख ५ गतेसम्म निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । यही फागुन १९ गते विद्यार्थी संघ/ संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ ।

Advertisement

फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ । निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

Advertisement

स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

स्ववियु स्थापनादेखि अहिलेसम्म विद्यार्थी आन्दोलनले थुप्रै उतारचढाव पार गरेको छ । यसबीचमा सरकार र विश्वविद्यालयको उदासीनता स्वयम् स्ववियुका निर्वाचित पदाधिकारी एवं संगठनका गैरजिम्मेवारपनका कारण सिंगाे स्ववियुमाथि अनेक प्रश्न पनि उठेका छन् । अब स्ववियुलाई संस्थागत उद्देश्य अनुसारको चलाएर विद्यार्थी हकहित र अधिकार प्राप्तिको आन्दोलनमा अग्रणी बनाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया