समस्या सुल्झाउन सहमति आवश्यक: प्रचण्ड

समाधान संवाददाता २०७९ फागुन ९ गते १२:५७

पोखरा ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्ति फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् । सोमबार दिउँसो नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

Advertisement

उनले भने, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए ।

फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’

राष्ट्रिय सहमतिका लागि विभिन्न बिकल्प भएको उल्लेख गर्दै उनले ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था नरहेको जनाउ । ‘राज्यका मुख्य ठाउँमा समझदारीका साथ अघि बढ्न सकिन्छ । हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ । तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’

उनले २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशित दिए । प्रचण्डले भने, ‘दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं । त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिऊँ । सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपांग साथीहरू भेटौं । उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तरण गरौं ।’

Advertisement

समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेको जनाउँदै उनले आगामी केन्द्रीय समितिको बैठकसम्म यसबारे एउटा निष्कर्ष आउने सुनाए । उनले भने, ‘देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्वपूर्ण कार्यभार रहन्छ । केही पार्टीसँग एकताका निम्तिसमेत गृहकार्य भइरहेको छ । छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’

अहिले सरकार जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको उनको जिकिर छ । प्रचण्डले भने, ‘नयाँ सरकारले जनताको पक्षमा महत्वपूर्ण काम गरेको छ । अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको छ, सुधार पनि आएको छ । सरकारी सेवा प्रवाह चुस्त बनाउने कार्ययोजना बनाइएको छ । हाम्रो प्रयासको नतिजा छिट्टै देखिनेछ ।’

तपाईको प्रतिक्रिया