साल्मेडाँडा चिनाउन हाइकिङ

समाधान संवाददाता २०७९ फागुन ९ गते १९:३०

पोखरा


परपर देखिने ससाना घरहरु । डाँडा–डाँडामा बनाइएका टावर । बगिरहेका खोला नाला । कुदिरहेका मान्छे, गाडीहरु । आँखाले भेटुन्जेल देखिने जीवन, जगत् । स्याङ्जा फेदिखोला गाउँपालिकाको साल्मेडाँडाको दृश्य कुनै चित्रकारको क्यानभास भन्दा कम सुन्दर छैन । डा“डामा बनाइएको गोर्खा स्मारकले झनै ऐतिहासिक ‘टाइम ट्राभल’ गराउँछ ।

स्थानीयको अग्रसरतामा बनाइएका नयाँ संरचनाले डाँडामा नयाँ रंग थपेको छ । तर पर्यटक भने सूचना कमीका कारण उति जाँदैनन् । पोखराबाट मात्र ९ किलोमिटर टाढा रहे पनि साल्मेडाँडा पर्यटकीय गन्तव्यका रुपमा अझै मञ्चन भइसकेको छैन ।

Advertisement

साल्मेडाँडालाई चिनाउन लगभग २ सय जना स्थानीय अगुवा, समाजसेवीले सोमबार हाइकिङ गरेका छन् । हाइकिङमा पोखराका समाजसेवी, अगुवा, पत्रकार सहभागी थिए । बेलायतमा बस्ने नेपालीहरुले खोलेका विभिन्न संघसंस्थाका पदाधिकारीको पनि सहभागिता बाक्लो थियो ।

मट्टिखानबाट साल्मेडाँडासम्म हाइकिङ आयोजना गरिएको थियो । मट्टिखानको भ्यू टावरबाट सुरु भएको हाइकिङ साल्मेडाँडामा पुगेर औपचारिक कार्यक्रमपछि सकिएको थियो । औपचारिक कार्यक्रममा बेलायतका ब्रिकन सहरका मेयर डेभिड मेरेडिथसमेत सहभागी भएका थिए ।

Advertisement

बेलायतमा बस्ने यस क्षेत्रका अगुवाहरु र वि विल राइज फाउन्डेसनको समेतकै पहलमा हाइकिङ आयोजना गरिएको हो । फेदीखोला समाज युकेका अध्यक्ष हरि गुरुङले साल्मेडाँडामा पर्यटक ल्याउन सके विस्तारै आफैं फस्टाउन सक्ने बताए । साल्मेडाँडाको नाम सुने पनि यसको अवस्थितिबारे थाहा नपाउनु प्रचारकै कमी भएको भन्दै उनले प्रचारमा ध्यान दिन जोड दिए ।

हाइकिङ गर्नुअघि स्याङ्जाको पृुरानो सदरमुकाम नुवाकोटमा पनि पुगेको थियो । नुवाकोटमा रहेको पुरानो दरबारको भग्नावशेष, कालभैरवको मन्दिर अवलोकन गरिएको पोखरेली समाज युकेका अध्यक्ष करम गुरुङले बताए । सदरमुकाम सरेपछि उजाडिएको उक्त ठाउ“को पुनर्उत्थानका लागि काम थाल्नुपर्ने उनको सुझाव थियो ।

तपाईको प्रतिक्रिया