
रिखिराम जिसी, पोखरा ।
बर्खामा हिलो, हिउँदमा धुलो । तालचोकदेखि बेगनास तालसम्म पुग्ने सडकको हविगत हो । पुन नपुग ४ किलोमिटर त्यति सडक सुधार गर्न स्थानीयले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । विदेशी सहयोग लिएरै सडक स्तरोन्नतिको काम थाल्ने आश्वासन पनि पटकपटक सुने । तर सडकको बेहाल छ ।
बेहाल सडकलाई स्तरोन्नति गर्न पोखरा महानगरपालिका अबचाहिँ तातेको छ । विश्व बैंकको सहयोगमा पोखराको तालचोकदेखि बेगनास तालसम्मको सडक स्तरोन्नति हुने भएको हो । केही महिनाअघि नै ठेक्का सम्झौता भएको उक्त सडक विभिन्न कारणले रोकिएको थियो । महानगरले सर्वपक्षीय छलफलपछि सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्न लागेको छ ।
पोखरा महानगरपालिकाले उक्त सडक स्तरोन्नति हुन लागेको भन्दै सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरको वडा नं. २७, ३० र ३१ मा पर्ने सडक खण्डका सडकको केन्द्रबाट दायाँ–बायाँ ५०/५० फिटभित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती हटाउन महानगरले मंगलबार सूचना निकालेको छ । व्यक्तिगत प्रयोजनका सम्पूर्ण सामग्रीहरू १५ दिन भित्र हटाउन महानगरले निर्देशन दिएको छ ।
सडकका दायाँ–बायाँ ५०/५० फिटभित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती हटाउन महानगरको सूचना
सडक खण्डमा पर्ने खानेपानी र बिजुलीका पोलहरुको व्यवस्थापनका लागि ११ गते सरोकारवाला कार्यालयका प्रतिनिधिसँग महानगरपालिकाले छलफल गर्दैछ । महानगरपालिकाका एक इन्जिनियरका अनुसार उक्त छलफलपछि पानीका पाइप र बिजुलीका पोल व्यवस्थापन गरिने छ । ‘त्यसपछि नै ठेकेदार कम्पनीले काम गर्नेछ,’ ती इन्जिनियरले भने ।
विश्व वैंकको सहयोगमा यो सडक स्तरोन्नति प्रक्रिया अगाडि बढाएको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए । ‘सडक निर्माण कार्य यसअघि नै सुरु हुनुपर्ने हो तर, केही समस्या आउँदा केही समय अल्झनु पर्यो । अब चाहिँ हामी तीब्र गतिमा काम सुरु गछौं,’ मेयर आचार्यले भने । विश्व बैंकको सहयोगमा पोखराका अन्य सडक निर्माण सम्झौता गर्ने मेयर आचार्यले जानकारी दिए ।
निकै लामो समयदेखि विभिन्न बाधा र अल्झनका कारण उक्त सडकमा मर्मत सम्भार हुन सकेको थिएन । विश्व बैंकको आर्थिक सहयोगमा बन्न लागेको सडकको डिपिआरसमेत पहिल्यै तयार भएको हो । ३.२८ किलोमिटरको उक्त सडक चार लेनको हुने आयोजनामा उल्लेख छ । सडक दायाँबायाँ पैदल मार्ग (फुटपाथ), व्यवस्थित नाला, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने महानगरले जनाएको छ ।
सडक स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना २०२१ मार्च ५ मा सम्झौता भएको थियो । सम्झौता १५ जुलाई २०२५ सम्म कायम रहने छ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछ । तीमध्ये ३ वटाचाहिँ कल्भर्ट पुल हुनेछन् ।
सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ । सडक स्तरोन्नतिको काम गर्ने ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी, काठमाडौंलाई प्रदान गरिएको छ ।
उक्त योजनाका लागि १ अर्ब ६ करोड बजेट विनियोजन गरिएको थियो । स्वच्छन्द–सपना–वल्र्डवाइड जेभीले अनुमानित रकम भन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँमा ठेक्का लिएको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७ सय ३० दिनमा सम्पन्न गर्ने गरी २०२२ जुलाई ४ मा सम्झौता भइसकेको छ ।
तालचोक—बेगनास ताल सडकसँगै विश्व बैंकसँगकै सहकार्यमा अन्य सडक निर्माण प्रक्रिया महानगरले अगाडि बढाएको छ । पोखरा १७ बिरौटादेखि कोत्रे निस्कन गरी पृथ्वीराजमार्गको वैकल्पिक सडकमा महानगरले विश्व बैंकसँग सहकार्य गर्न लागेको छ ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया