संगम कप: भ्याली, ए-पेक्स र नव आदर्श क्वार्टरफाइनलमा

पोखरा ।
भ्याली स्पोटेर्स क्लब, ढिकुर पोखरीको ए—पेक्सको समूह र नव आदर्श सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप बिल स्मृति फुटबल प्रतियोगिता २०७९ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालामा मंगलबार भएको प्रि—क्वाटर फाइनल खेलमा जित हासिल गरेका तीन समूह नै क्वाटरफाइनलमा प्रवेश गरेको आयोजक संगम क्लबले जनाएको छ ।
पोखरा रंगशालाको वैकल्पिक फुटबल मैदानमा भएको पहिलो खेलमा भ्याली स्पोट्र्स क्लबले हेमजा युनाइटेड क्लबमाथि ३—० को सहज जित दर्ता गर्यो ।
भ्यालीको जितमा अजय श्रेष्ठले दुई र फनस कार्कीले एक गोलको योगदान दिए । श्रेष्ठले खेलको १५ र २१ मिनेटमा गोल गरे भने कार्कीले २५ मिनेटमा गोल गरे ।
निकै प्रतिस्पर्धामा भएको दोस्रो खेलमा जित निकाल्न ए—पेक्सले सडेनडेथको सहायता लिनु पर्यो । ए—पेक्सले इन्द्रेणी एकीकृत विकास केन्द्रलाई ३५/३५ मिनेटको निर्धारितमा दुबैतर्फ एक/एक थपिएको १०/१० मिनेटको अतिरिक्त समयमा दुबैतर्फ गोल हुन नसकेपछि टाइब्रेकरमा पनि दुबैतर्फ ४/४ गोल भएपछि खेल सडेन डेथबाट टुंगिएको हो ।
सडेन डेथमा जोन तामाङले प्रहार गरेको बल विपक्षी गोलरक्षक समीर सुवेदीले उत्कृष्ट बचाउ गर्दा ए—पेक्सले क्वाटरफाइनलमा यात्रा बनाउन सफल भयो । ए—पेक्सका आयुष गुरुङले सडेन डेथमा गोल गरे । टाइब्रेकरमा एपेक्सका सुब्बा थापा, रोशन कुनवार, सोनिक श्रेष्ठ र अश्वीन गुरुङले गोल गर्दा अविषेक श्रेष्ठले गोल गर्न चुके ।
इन्द्रेणीका विनय तामाङ, भिर तामाङ, कुशल तामाङ र रोकेश राईले टाइब्रेकरमा गोल गर्दा आइते तामाङ गोल गर्न चुके । निर्धारित समयमा इन्द्रेणीका साइमन तामाङले खेलको ३५ औं मिनेटमा र ए पेक्सका सोनित श्रेष्ठले ४५ औं मिनेटमा गोल गरेका हुन् ।
मंगलबारको तेस्रो खेलमा नव आदर्श सामुदायिक विकास समाजले ड्याम सायड क्लबलाई २—० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनायो । नव आर्दशको जितमा खेलको ४ मिनेटमै पुनल राई र खेलको ६८ मिनेटमा सन्नी गुरुङले गोल गरे ।
पोखरा १३ मा रहेको संगम क्लबको आयोजनामा फुटबल खेलको विकास गर्ने उद्देश्यले यही फागुन १३ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए ।
प्रतियोगिताका विजेतालाई १ लाख ७५ हजार, उपविजेतालाई १ लाख साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने भएको अध्यक्ष गुरुङले बताए । तल्लो स्तरबाटै फुटबल खेलको विकास गर्ने उद्देश्यले उक्त प्रतियोगितालाई क्लबले निरन्तर रुपमा आयोजना गर्दै आएको उनले जनाए ।
प्रतियोगिताको मुख्य प्रायोजकसहारा हङकङ र संगम एलजी हङकङ हो । बुधबार प्रि—क्वाटर फाइनलका तीन खेलहरु हुने भएका छन् । बुधबार बिहान ८ः०० बजे देखि पोखरामा खेल सुरु हुने भएको म्याच कमिस्नर खिमबहादुर गुरुङले बताए ।
तपाईको प्रतिक्रिया