मिटर बिग्रिदा खानेपानीको मनपरी महसुल

पोखरा ।
पोखरा ५ मालेपाटनका झपटबहादुर जिसीको घरमा फोहोर र लेदो पानीका कारण खानेपानीको मिटर बिग्रिएको छ । मिटर रिडिङ गर्ने कर्मचारी नियमित रुपमा आउँदैनन् । बारम्बार फोन गर्दा पनि मिटर बनाउने कर्मचारी नआएको उनको गुनासो छ ।
सुशासनको लागि नागरिक समाज (सुनास )कास्कीले खानेपानी संस्थानको पार्दी स्थित कार्यालयमा बुधबार गरेको गुनसो संकलन कार्यक्रममा भेटिएका जिसीले कहिलेकाँहही आउने कर्मचारीले आफू खुसी बिल लेखेर छोडेर जाने गरेको विवरण सुनाए ।
‘मिटर ड्यामेज भएको छ । आक्कल झुक्कल आउने कर्मचारीले आफू खुसी बिल लेखर जान्छन् । एक युनिटको १० रुपैयाँ तिरे पुग्नेमा १ हजारको बिल आयो,’ उनले भने, ‘पटक पटक ताकेता गर्दा पनि मिटर बनेन । डाइरेक्ट पाइपमा जोडेर खानेपानीको व्यवस्था गर्न पाए राम्रो हुने थियो ।’
झपटबहादुर जस्तै संस्थानमा गएका सेवाग्राहीले मिटर बेला बेलामा ब्लक भइरहने, मिटर बिग्रिएको खण्डमा मर्मत गर्न कठिनाई भएको तथा घरमा खानेपानी नआउने गरेको गुनासो टिपाएको सुनास कास्कीका अध्यक्ष रवीन्द्र बास्तोलाले जानकारी दिए ।
पानी नआएको घरको महुसुल २२ हजार ! पोखरामा मिटर बनाउने २ मात्र कर्मचारी छन्
पोखरा १० रामघाटका टंक शर्माले वेला वेलामा मिटर ब्लक भइरहेको र सो अवस्थामा संस्थानले शुल्क बढी लिइरहेको गुनासो गरे । अधिवक्ता समेत रहेका शर्माले नियमित रुपमा मिटर बन्द भए नभएको संस्थानले परीक्षण गर्नुपर्नेमा नगरेको उल्लेख गरे ।
खानेपानी संस्थानले वितरण गरेको ग्राहक पचियपत्रमा ग्राहकको मिटर बिग्रिएको खण्डमा खबर गरेपछि संस्थानले फेर्नुपर्ने व्यवस्था छ । कार्यालयले फेर्ने प्रचलित मूल्यम ग्राहकले तिर्नु पर्छ । मिटरको प्रचलित मूल्य १ हजार पर्ने भएपनि १ हजार ४ सयसम्म तिर्नु परेको एक सेवाग्राहीले बताए ।
कार्यक्रममा पोखरा १७ बिरौटा जनजागरणटोलका ऋषि अधिकारीले घरमा मिटर जडान गर्न शुल्क बुझाउनेदेखि सबै प्रक्रिया पूरा गरेको २० दिन पूरा हुँदासमेत कर्मचारी नआएको जानकारी दिए । उनले मिटर जडान गर्ने कर्मचारीको फोन दिनसमेत आनाकानी गरेको विवरण सुनाए । कार्यक्रममा एक सेवाग्राहीले घरमा पानी नआए पनि २२ हजार ३ सय १० रुपैयाँको बिल आएको देखाए ।
सुनास कास्कीका अध्यक्ष बास्तोलाले खानेपानी नआएपनि संस्थानले तोकेको भन्दा बढी शुल्क आउने गरेको तथा मिटर रिडरले मनपरी शुल्क लेख्ने गरेको गुनासो आएको जानकारी दिए । पोखराका अधिकांश ठाउँमा नियमित रुपमा पानी नआए पनि बिलमा आएको न्युनतम शुल्क तिर्नु परेको गुनासो गरेका थिए ।
अध्यक्ष बास्तोलाले खानेपानी संस्थानले जोड्न लगाएको मिटर गुणस्तर मापन नहुने र उपभोक्ताले कमसल खालको मिटर बाध्य हुनु परेको गुनासो गरेको बताए ।
खानेपानी संस्थान पोखराका प्रमुख आशीष कार्कीले पर्याप्त कर्मचारी दरबन्दी अभावमा प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसकेको जानकारी दिए ।
पोखरामा करिब ५० हजार धारामा ५ देखि १० प्रतिशतमा समस्या हुने उल्लेख गर्दै उनले बिग्रिएको मिटर मर्मत गर्न सेतीवारि १ र सेतीपारि १ कर्मचारी रहेको बताए । उनले पोखरामा १ सय भन्दा बढी ठाउँमा खानेपानीको चुहावट रहेको जानकारी दिए ।
सुनास कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले संघ, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको समन्वयमा पोखराको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सुभाव दिए ।
आम उपभोक्ताले विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार पिउन योग्य पानी प्रयोग गर्न पाउनुपर्ने उल्लेख गर्दै उनले पोखराको सबै क्षेत्रमा न्यायोचित रुपमा खानेपानी वितरण गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया